+
+

संसदमा सेनाबारे बहस : ठेक्कापट्टामा लगाउनु कति जायज ?

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ जेठ ३० गते २०:१०

३० जेठ, काठमाडौं । बुधबार प्रतिनिधि सभामा रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुँदा सांसदहरुले नेपाली सेनाको कामबारे पनि प्रश्न उठाएका छन् ।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विकास निर्माणको काममा नेपाली सेनालाई संलग्न गराउनु कत्तिको जायज हो भन्ने प्रश्न गरे ।

‘यस्तो संवेदनशील जुन संरचना छ, जुन अंग छ नेपाली सेना, यसलाई हामी व्यापार गर्न दिन्छौं, ठेक्कापट्टा गर्न दिन्छौं । सुरक्षाको हिसाबले संवेदनशीलताको यो कुरा कति जायज हो ?’, सांसद गुरुङले सोधे ।

सरकारले नेपाली सेनालाई काठमाडौं–तराई मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)सहित धेरै सडक निर्माणको जिम्मा दिएको छ । यो विषयमा बेलाबेला संसद र सार्वजनिक स्तरमा बहस भइरहेको छ ।

एमाले नेता गुरुङले सेनालाई विकास निर्माणको काममा संलग्न गराइरहेको विषयमा सोच्नुपर्ने बताए । ‘आज यो कुरामा मुख खोल्न सक्दैनन् नेताहरुले । तर, हामीले सोच्नुपर्छ’, उनले भने ।

विकास निर्माणमा संलग्न गराउँदा सेनाको महत्वाकांक्षा बढ्दै जाने र त्यसले भविष्यमा संकट ल्याउन सक्ने गुरुङको भनाइ छ । ‘धेरै महत्वाकांक्षा बढ्यो भने त्यसले हाम्रो लोकतन्त्रमाथि, गणतन्त्रमाथि … विभिन्न देशमा महत्वकांक्षा बढ्दा संकट पैदा भएको देखेका छैनौं ? हामीले देखेका छौं’, उनले भने ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले नेपाली सेनाको इज्जत जोगाउन आवश्यक रहेको बताए । ‘सेना एउटा त्यही इन्ष्टिच्युसन छ जो बचेको छ । सबै हामीले सिध्याइसक्यौं’, उनी भन्छन्, ‘यसको मौलिकतालाई बचाऔं ।’

सेनाको इज्जत बढाउनका लागि सरकार नीतिगत रुपमा प्रष्ट हुनुपर्ने उनको भनाइ छ । ‘सेनालाई विकासमा लगाउनुपर्छ । तर, विकासमा लगाउने क्रममा ब्यापारमा लगायौं भने लामो दुरीमा त्यसले स्खलन लिएर आउँछ । यसको सुन्दरतालाई प्रहार गर्छ’, उनले भने, ‘सेनामा प्रश्न उठेको, टीकाटिप्पणी भएको राम्रो हुँदैन । यतापट्टि हामी लक्षित हुनुपर्छ ।’

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाली सेनालाई विकासमा लगाउन सकिने तर, सेनालाई नै ठेक्का लगाउन दिन नहुने बताए ।

‘आर्मी जसले विकासको जिम्मा लिएको छ । आर्मीले उही ठेकेदारलाई नै ठेक्का दिने हो भने सडक डिभिजन र सेनामा के फरक पर्छ ?’ साहले प्रश्न गरे, ‘ठेकेदारमार्फत नै गर्ने हो भने आर्मीमार्फत किन गराउने ?’

उनले अगाडि भने, ‘आर्मीको हैसियत नघटाऔं ।’ सेनालाई आधुनिक बनाउन आवश्यक रहेको र यसका लागि सरकारले स्पष्ट नीति लिनुपर्ने उनको सुझाव छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले नेपाली सेनाको दूरगामी सदुपयोगका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । नेपाली सेनालाई डिप्लोमेटिक (रणनीतिक) रुपमा प्रयोग गरेको इतिहास नेपालसँगै रहेको प्रधानले सुनाए ।

‘सेनाको प्रयोगको कुरा मात्रै गर्ने होइन, त्यसलाई हामीले डिप्लोमेटिक कसरी प्रयोग गर्ने भन्ने विगतका इतिहास हामीसँग साक्षी छ । ब्लकेड (नाकाबन्दी) भएको बेलामा पनि सेना सक्रिय गराएको कारण अलि छिटो कार्य भएको हामी सम्झिन सक्छौं’, प्रधानले भने ।

खेलकुदमा पनि सेनाको उपयोग भइरहेको उनले बताए । ‘इन्टरनेशनल मिलिट्री एशोसिएसन स्पोर्टस् एशोसिएसनसँग नेपाली सेना सम्बद्ध छ । केही प्रतियोगिता गरेको मलाई स्मरण छ अरु देशको सेना ल्याएर’, प्रधानले भने ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?