३१ जेठ, काठमाडौं । नेपाली महिला भलिबलमा १७ वर्षयता राज गरेको टिम हो, चन्द्रगिरि न्यु डायमन्ड भलिबल टिम । सदाबहार उपाधिको प्रबल दाबेदार र विभागीय टिमलाई समेत दबाबमा राख्न सक्ने यो टिमले यसपालि आठौं प्रधानमन्त्री कप एनभीए लिगमा भने सोचेअनुरुपको नतिजा निकाल्न सकेन ।
नयाँ खेलाडीको आगमन, व्यवस्थापन पक्ष पनि अस्थीर रहिरहँदा हाल न्यु डायमन्डको नतिजा पछाडि धकेलिन पुग्यो । यसपटक न्यु डायमन्ड ३ विभागीय टिम र एभरेस्ट भलिबल क्लब बुटवलभन्दा पछि पर्दै ६ टिम सहभागी लिगमा पाँचौं बन्यो ।
पछिल्लो वर्षहरुमा राष्ट्रिय महिला भलिबल टिममा पनि न्यु डायमन्ड भलिबल क्लबकै खेलाडीको दबदबा थियो । कप्तान अरुणा शाही, प्रतिभा माली, सलिना श्रेष्ठ यी खेलाडीको भलिबलको पहिलो पाठशाला न्यु डायमन्ड नै हो । हाल पनि रिमा कुँवर, प्रगति नाथ यी खेलाडीहरु राष्ट्रिय टिममा डेब्यु गरिसकेका खेलाडी हुन् ।
यस पटक आफूले पनि प्रशिक्षणमा समय दिन नभ्याएको र व्यवस्थापकीय पक्षको दौडधुपले टिमको नतिजामा असर परेको प्रशिक्षक कुमार राई बताउँछन् । ‘यस पटक मैले टिमलाई प्रशिक्षण गराउने समय नै पाइनँ । कर्भड हल र होस्टलको काम पनि आफैंले हेर्नु पर्दा यसपालीको नतिजा सोचे अनुरुप आएन’, उनी भन्छन् ।
प्रशिक्षक राईले हाल एउटा घर पूरै भाडामा लिएर खेलाडीको होस्टलको रुपमा प्रयोग गरिरहेका छन् । हाल चन्द्रागिरि–१३, पुरानो नैकापमा यो क्लबको कभर्ड हल र होस्टल बनिरहेको छ । यही चटारोले प्रशिक्षक तथा व्यवस्थापक कुमार राईले यो पटकको एनभीए लिग प्रशिक्षणमा समय दिन नसकेको बताउँछन् ।
खेलाडीहरु आफैं स्वतस्पूर्त यस लिगका लागि तयारी गरे । ‘नयाँ खेलाडी आउने क्रममा छन्, ती खेलाडीलाई व्यवस्थापन, खर्चको पाटो कसरी मिलाउने कभर्ड हल र होस्टेलको निमार्णतिर पनि आफैं कुद्नुपर्ने भएकाले यस लिगमा हामी पछि पर्यौं’, राईले भने ।
नयाँ खेलाडीको काँधमा क्लब
हाल न्यु डायमन्डको. टिममा वाल्मिका आचार्य, सलिना श्रेष्ठ, रिमा कुँवर र प्रतिभा मालीबाहेक बाँकी सबै खेलाडी नयाँ छन् । सेटर प्रगतिनाथ पनि केही अनुभवी खेलाडी हुन् ।
विगतका अनुभवी खेलाडी विभिन्न कारणले पलायन हुँदा क्लबको साख जोगाउने भार नयाँ खेलाडी काँधमा आएको छ । नयाँ खेलाडीको अनुभवको कमी हुने र एकैचोटि बलिया प्रतिस्पर्धीसँग भिड्नुपर्दा अपेक्षित नतिजा नआइरहेको प्रशिक्षक राई सुनाउँछन् ।
‘नयाँ खेलाडीले पुरानालाई प्रतिस्थापन गरिरहेका छन् । पुरानो पुस्ताले नयाँलाई हस्तान्तरण गर्दै जाँदै गरेको अवस्था छ’, राई भन्छन्, ‘नयाँ पुस्ताले त्यो अभिभारा सम्हाल्न नसकेको मात्रै हो ।’

न्यु डायमन्ड क्लबकी पुरानो खेलाडीसमेत रहेकी ललिता नाथ हाल क्लबकी सहायक प्रशिक्षक पनि हुन् । उनी भन्छिन्, ‘टिममा सबै एकै तहका खेलाडी भए । म्याच एक्सपोजर भएन । जसले गर्दा हामी फिनिसिङमा चुक्यौं ।’
ललिता आफ्नो पालाको र अहिलेको खेलाडीमा भने धेरै अन्तर पाउँछिन् । उनी भन्छिन्, ‘हाम्रो पालोमा र अहिलेको बच्चाहरुमा स्किलको फरक छ । नयाँ जेनेरेसनमा नयाँ जोश, जाँगर र नयाँ ज्ञान छ ।’
अहिलेको खेलाडीमा क्षमता भए पनि अनुभवको कमी र डरले ठूलो खेलमा प्रभाव पारेको उनको बुझाइ छ ।
यसपालि आफूले समय दिन नभ्याए पनि खेलाडीको प्रदर्शनबाट प्रशिक्षक राई भने सन्तुष्ट छन् । ‘हाम्रो यो पालीको खेलमा म सन्तुष्ट छु । एपीएफसँग ५ सेट खेल्यो । नेपाल पुलिससँग पनि प्रतिस्पर्धात्मक नै खेले आर्मीसँग पनि ५ सेट खेल्यौं’, भन्छन्, ‘एभरेस्टसँग भारतीय खेलाडी हुँदा उनीहरु आत्तिएर खेल्न सकेनन् ।’
हाल क्लबमा खेलाडी लामो समय टिक्न नसक्नुको अर्को कारण मासिक तलब नहुनु पनि हो । विभागीय टिमसँगै प्रतिस्पर्धामा उत्रिर्ने न्यु डायमन्डका खेलाडी प्रायः विद्यालयस्तर पढ्दै गरेका विद्यार्थी छन् ।
उनीहरुको पढाइ र खाना बस्नको खर्च प्रशिक्षक राईले नै व्यवस्थापन गरिरहेका हुन्छन्् । ‘सिभिल क्लब हो । यहाँ खेलाडीको विद्यालय खर्च, खाना बस्नको सबै व्यवस्था मिलाउनु पर्छ । जसले गर्दा टिममा लथालिंग छ’, उनी भन्छन् ।
नयाँ कभर्ड हल र होस्टेलको काम सकिएपश्चात भने खेलाडीलाई दिइने अन्य सुविधाको बारेमा पनि सोच्ने योजना भइरहेको प्रशिक्षक राईले बताए । ‘अब अहिले कभर्ड हल र होस्टलको काम भदौसम्ममा सक्न पाए । त्यसपछि हामी खेलाडीको प्रशिक्षण र खर्चको बारेमा पनि योजना बनाइरहेका छौं’, उनले भने ।
प्रशिक्षक राईे कभर्ड हल र होस्टेलको काम सके नयाँ खेलाडीको साथमा न्यु डायमन्डको पुरानो साख फर्काउन चाहन्छन् । ‘अहिलेका खेलाडी क्षमतावान, छन् । केही नयाँ खेलाडी आउने क्रममा छन् । सबै व्यवस्थापकीय पक्ष मिलेपछि न्यु डायमन्ड पुनः आफ्नो पुरानो लयमा फर्कन्छ’, उनले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4