+

यू-१५ विद्यालय खेलकुदमा एथ्लेटिक्सतर्फ गण्डकी च्याम्पियन

२०८१ जेठ  ३१ गते १३:४६ २०८१ जेठ ३१ गते १३:४६
यू-१५ विद्यालय खेलकुदमा एथ्लेटिक्सतर्फ गण्डकी च्याम्पियन

३१ जेठ, पोखरा । गण्डकी प्रदेश पोखरामा भइरहेको प्रथम यू-१५ विद्यालय खेलकुद प्रतियोगिता एथ्लेटिक्सतर्फ टिम च्याम्पियन बनेको छ ।

गण्डकीले एथ्लेटिक्समा ४ स्वर्ण, ३ रजत र २ कांस्य पदकसहित ९ पदक जितेर टिम च्याम्पियन भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगितामा लुम्बिनी प्रदेश ३ स्वर्ण,  २ रजत र ६ कांस्यका साथ  दोस्रो भयो । तेस्रो स्थानको कर्णाली प्रदेशले ३ स्वर्ण, २ रजत र १ कांस्य हात पार्‍यो ।

सहभागी सातै प्रदेश स्वर्णविहीन हुनु परेन । १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशले समान एक/एक स्वर्ण जिते ।

पोखरा रंगशालामा भएको छात्र ४ गुणा १०० मिटर रिलेमा लुम्बिनी पहिलो, गण्डकी दोस्रो र सुदूरपश्चिम तेस्रो भए । सो स्पर्धाको छात्रामा गण्डकीले स्वर्ण, कोशीले रजत र कर्णालीले कांस्य जिते ।

सटपुटको छात्रमा कोशीका छिरिङ शेर्पा पहिलो भए । उनले १०.५७ मिटर टाढा फाले ।

गण्डकीका गणेश श्रेष्ठ दोस्रो तथा लुम्बिनीका पारसबहादुर शाही तेस्रो स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा ८.३७ मिटर थ्रो गरेकी लुम्बिनीकी सम्झना थारु पहिलो भइन् । कर्णालीकी उर्मिला राजी दोस्रो तथा गण्डकीकी युना सारु मगर तेस्रो बने ।

छात्रको ८ सय मिटर दौडमा बागमतीका सुनिल विक पहिलो बने । उनले निर्धारित दूरी २ मिनेट ०९.६३ सेकेन्डमा पूरा गरे । कर्णालीका अनिल शाही दोस्रो तथा लुम्बिनीका विशाल थारु तेस्रो भए । सो स्पर्धाको छात्रामा कर्णालीकी पूर्णिमा बुढाले निर्धारित दूरी २ मिनेट ३६.२६ सेकेन्डमा तय गर्दै स्वर्ण  चुमिन् । गण्डकीकी कञ्चन भण्डारी दोस्रो तथा मधेशकी आशा साह तेस्रो भए ।

छात्रको २ सय मिटर दौडमा गण्डकीका सुशान्त बोटेले स्वर्ण जिते । उनले निर्धारित दूरी २४.३३ सेकेन्डमा पूरा गरे ।

लुम्बिनीका अभय राना दोस्रो तथा बागमतीका अजित ठाकुर तेस्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा गण्डकीकी अनुष्का अधिकारी पहिलो भइन् ।

अनुष्काले निर्धारित दूरी २७.६२ सेकेन्डमा पूरा गरिन् । सुदूरपश्चिमकी रितु जोशी दोस्रो तथा लुम्बिनीकी जमुना लोध तेस्रो भए ।

विजेतालाई प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य-सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य-सचिव सूर्यलाल भण्डारी, राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय