+
+

फितलो कार्यान्वयनमा ‘क्लिनफिड’ : चोरीका च्यानल विज्ञापनसहित प्रसारण

नेपाललाई फिड क्लिन गरेर दिन नसक्ने बरु नेपालमा प्रसारण नै नगर्ने भनेर औपचारिक पत्र पठाएका बीबीसी, सीएनएन लगायत च्यानल अहिले सबैजसो टेलिभिजन अपरेटरले प्रसारण गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते २०:०९

३१ जेठ, काठमाडौं । नेपालमा ‘क्लिनफिड’ लागु भएको चार वर्ष बित्दा पनि यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।

क्लिनफिड लागु भएपछि कुनै पनि विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित ढंगले प्रसारण हुनुपर्नेमा धेरै च्यानल विज्ञापनसहित नै प्रसारण भइरहेका छन् ।

त्यतिमात्र होइन, नेपाललाई फिड क्लिन गरेर दिन नसक्ने बरु नेपालमा प्रसारण नै नगर्ने भनेर औपचारिक पत्र पठाएका बीबीसी, सीएनएन लगायत च्यानल अहिले सबैजसो टेलिभिजन अपरेटरले प्रसारण गरिरहेका छन् ।

टेलिभिजन अपरेटरले सित्तैमा लिन पाउने ‘फ्रि टु एयर’ च्यानल विज्ञापनसहित नै प्रसारण भइरहेको देखिन्छ ।

यसरी विज्ञापनसहित च्यानल पनि किन र कसरी प्रसारण भइरहेका छन् त ?

नेट टिभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरन राजभण्डारी भन्छन्, ‘त्यस्ता च्यानलका पुराना फिडहरू केबुल अपरेटरहरूसँग छन्, उनीहरूले त्यो चोरी (पाइरेसी) गरेर ग्राहकलाई उपलब्ध गराइरहेका छन् । सरकारले त्यस्तो चोरी नियन्त्रण गर्न सकेको छैन ।’

नेपालमा विदेशी टेलिभिजन वितरण गरिरहेका दुई वितरक नेट टिभी र म्याक्स नेपालले उपलब्ध गराएका च्यानल पूरै क्लिनफिड नै रहेको दाबी उनले गरे ।

‘भारतमा चुनावका बेला क्लिनफिडमा नआएका भारतका आजतक लगायत न्युज च्यानलको माग नेपालमा धेरै भयो, त्यसबेला केबुल अपरेटरहरू आफैंले ती च्यानल तानेर (पाइरेसी) ग्राहकलाई उपलब्ध गराए, तर सरकारले यसको अनुगमन गर्न सकेको छैन,’ राजभण्डारीले भने ।

विज्ञापन ऐन २०७६ को दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ । साथै, विदेशका विज्ञापनलाई नेपाली सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइने छैन भन्ने व्यवस्था पनि छ ।

यो ऐन लागु हँदा प्रसारण सम्झौता गरिरहेका संस्थाहरूले एक वर्षभित्र क्लिनफिड प्रसारण गर्न पाउने व्यवस्था अनुसार कानुनको त्यो व्यवस्था ८ कात्तिक २०७७ बाट पूर्णरूपमा कार्यान्वयनमा आएको थियो । तर, यसको कार्यान्वयन भने आंशिक मात्रै हुन सकेको वरिष्ठ विज्ञापन व्यवसायी रञ्जित आचार्य बताउँछन् ।

‘यसको कार्यान्वयन र अनुगमन गर्ने जिम्मेवारी विज्ञापन बोर्डको हो, तर ऊसँग त्यसको संरचना नै छैन, कसैले उजुरी ग¥यो भने मात्रै हेर्ने हो,’ उनले भने ।

ठूला टेलिभिजन डिस्ट्रिब्युटरले क्लिनफिड कार्यान्वयन गरिरहे पनि केही केबुल अपरेटर तथा साना ब्रान्डले भने विज्ञापनसहित च्यानल प्रसारण गरिरहेको उनले बताए ।

क्लिनफिड पूर्ण कार्यान्वयन गर्न सरकारले सहकार्य गर्नुपर्ने नेट टिभी सीईओ राजभण्डारीको भनाइ छ । ‘उपभोक्तालाई पनि लाभ पुग्ने र व्यवसायीलाई पनि हानि नहुने हिसाबले क्लिनफिड कार्यान्वयन हुनुपर्छ,’ उनले भने ।

बढेन विज्ञापन बजार

क्लिनफिड लागु भएपछि नेपाली विज्ञापन बजार बढ्ने अपेक्षा गरिए पनि त्यसो हुन नसकेको आचार्य बताउँछन् । ‘नेपाली टेलिभिजन च्यानलले विदेशी विज्ञापन डबिङ गरी प्रसारण गर्न नहुने भन्ने व्यवस्थाका कारण केही बहुराष्ट्रिय कम्पनी युनिलिभर, डाबर लगायतले नेपालमै विज्ञापन बनाए, त्यसले केही फाइदा अवश्य भएको छ, तर त्यसबाहेकको लाभ भने प्राप्त भएन,’ उनी भन्छन्, ‘क्लिनफिड लागु भएपछि हामीले पसल त खोल्यौं, तर यहाँ यस्तो पसल छ भनेर ग्राहकले थाहै पाएका छैनन्, आउँदा पनि आउँदैनन् ।’

यसबाट लाभ लिन नेपाली मिडिया, विज्ञापन बोर्ड र एजेन्सीहरू मिलेर खासगरी भारतमा मार्केटिङ गर्नुपर्ने उनी बताउँछन् ।

‘नेपालमा उपभोग हुने धेरै वस्तुहरू भारतीय उत्पादकले उत्पादन गर्छन्, क्लिनफिडका कारण नेपालमा उनीहरूको विज्ञापन हुन पाएको छैन, गर्नुस् भनेर उनीहरूकहाँ पुग्नुपर्छ, त्यसका लागि भारतमा मिडिया एक्स्पो गर्नुपर्छ,’ आचार्य भन्छन् ।

क्लिनफिड लागु भए पनि विज्ञापन बजार अपेक्षित नबढ्नुमा कोभिड– १९ पछि परिवर्तन भएको मिडिया ल्यान्डस्केप तथा पछिल्लो समय सुस्त रहेको आर्थिक क्रियाकलाप जिम्मेवार रहेको नेपाल विज्ञापन संघ प्रथम उपाध्यक्ष उजय शाक्य बताउँछन् ।

‘तर, अहिले नेपालमा जति पनि बहुराष्ट्रिय कम्पनीका विज्ञापन बज्छन्, ती नेपालमै उत्पादन भएका हुन्, यो क्लिनफिडको सकारात्मक पाटो हो,’ उनी भन्छन् ।

विज्ञापन बार्र्ड अध्यक्ष लक्ष्मण हुमागाईंले नेपालमा क्लिकपिड पूर्णरूपे लागु भएको दाबी गरे । कोही कसैले यसको पालना नगरेको भए उसलाई कारबाही गरिने उनले बताए ।

‘च्यानल चोरी गरेर व्यक्तिले चलाउन सक्ने अवस्था हुँदैन । चोरी भएको छ भने केबुल अपरेटरले गर्ने हो । त्यसो गरेको पाइए कारबाही हुन्छ,’ हुमागाईंले भने ।

बीबीसी, सीएनएन लगायत च्यानल विश्वव्यापी च्यानल भएकाले चल्न दिएको उनको दाबी छ । क्लिनपिडका कारण नेपालको विज्ञापन बजार बढेको उनको दाबी छ ।

‘नेपालका रियालिटी शोहरूकै वार्षिक विज्ञाापन १ अर्ब रुपैयाँ बराबर पुगेको छ,’ उनले भने, ‘तर, च्यानलकै संख्या बढेकाले कम्पनी विशेषको नबढेको हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?