+
+

सहकारीमा फसेको रकम फिर्ता माग्दै धर्नामा बसे दुई अभिनेत्री

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते २०:१७

काठमाडौं । सहकारीमा वचत गरिएको रकम फिर्ता माग्दै घरेलु फिल्मका दुई वरिष्ठ अभिनेत्री वसन्धुरा भुषाल र चैत्यदेवी विहिबार माइतीघरमा धर्नामा बसेका छन् ।

माइतीघर मण्डलामा १४ महिनादेखि चल्दै आएको सहकारी पीडितको तेस्रो चरणको धर्नामा यी दुई अभिनेत्रीले पनि भाग लिएका हुन् । उनीहरु विहिबार दिउँसोको चर्को घाममा २ घण्टा धर्नामा बसे ।

आफूसहित चैत्यदेवी र अर्की अभिनेत्री भुवन चन्द तथा उनीहरुका परिवारका १४ जनाको २ करोड ६० लाख रुपैयाँ सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङले अपचलन गरेको अभिनेत्री भुसालले बताइन् । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा ४ जनाको करिब ७० लाख रुपैयाँ बचत फिर्ता नपाएको उनको भनाइ छ ।

सिभिल सहकारीले सामाजिक सेवाका लागि खोलिएको भुवन–चैत्य–बसुन्धरा फाउन्डेसनको १४ लाख रुपैयाँ पैसा फिर्ता नपाएको उनले बताइन् । फाउन्डेसनले हरेक वर्ष विशिष्ट व्यक्ति सम्मान गर्दै आएको थियो । सहकारीले पैसा नदिंदा २ वर्षमा १ पटक यो वर्ष गर्न लागेका उनको भनाइ छ ।

‘कति दुःख गरेर, रातदिन सुटिङ र स्टेजमा नाचेर कमाएको पैसा हो’ भुसालले भनिन्, ‘आफ्नो व्यक्तिगत पैसा भन्दा पनि फाउन्डेसनको पैसा डुब्यो ।’ सहकारीमा राखेको रकमको ब्याज पनि नपाउँदा घरखर्च चलाउन समेत मुश्किल परेको उनीहरुको गुनासो छ ।

सहकारीको बचत फिर्ताका लागि पहल गर्न बसुन्धरा, चैत्यदेवी, भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?