+
+

पौरखी मायादेवीले जैविक तरकारी खेतीबाट गरिन् लोभलाग्दो प्रगति

रासस रासस
२०८१ असार १ गते १४:०५

१ असार, भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बनेकी छन् ।

विगत दुई वर्षअघिबाट व्यावसायिक तरकारी खेतीमा लागेकी उनले दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेकी छन् । ‘गाउँमा नै बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, क्याप्सिकम, प्याजलगायतको व्यावसायिक खेती गर्दै आएकी छु’, उनले भनिन् ।

राईले गाउँघरमा पाइने गाई, भैंसी, बाख्रा बङ्गुरलगायतको प्राङ्गारिक मलको मात्र प्रयोग गरेर जैविक उत्पादन गर्दै आएको बताइन् ।

‘मैले दुई वर्षअघिबाट व्यावसायिक रुपमा जैविक तरकारी उत्पादन गरिरहेकी छु’, उनले भनिन्, ‘यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु । आफूले गरेको मेहनतले घरखर्च चलाउन समस्या छैन । तरकारी खेतीलाई थप विस्तार गरेर वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने सोचका साथ काम गरिरहेकी छु ।’

विगतमा शिक्षण पेसामा रहेको भए पनि यसलाई छाडेर व्यावसायिक रुपमा तरकारी खेतीमा लागेको उनको भनाइ छ । मेहनत गर्न सकेमा कृषि कर्मबाट पनि राम्रो आम्दानी गर्न सकिने उनले बताइन् ।

‘कृषि कर्ममा लागेर राम्रो आम्दानी गर्न सकिन्छ’, उनले भनिन्, ‘तर हामीले व्यावसायिक बन्न चाहिँ सक्नुपर्छ । मैले गाउँघरमा मागेर खाने चलनको अन्त्य गर्नको लागि व्यावसायिक बन्न छर छिमेकीलाई समेत आवश्यक सल्लाह दिँदै आएकी छु ।’

उत्पादन भएको कृषिउपजको बजारीकरणमा भने समस्या रहेको राईले बताइन् । राज्यको तर्फबाट आवश्यक सहयोगसँगै बजारीकरणमा ध्यान दिए धेरै किसानलाई राहत मिल्ने व्यवासायी उद्यमी राईको भनाइ छ ।

कृषिमा नै भविष्य देखेर व्यावसायिक रुपमा लागेका कृषकलाई राज्यले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । आफ्नो गाउँका ४० एकल महिला मिलेर ‘एकल महिला बहुउद्देशीय सहकारी’ गठन गरेर कृषिको क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिइन् ।

‘हामी एकल महिला मिलेर सहकारीमार्फत पनि कृषिको क्षेत्रमा काम गरिरहेका छौँ’, उनले भनिन्, ‘एकल भएर पनि समाजमा उदाहरणीय काम गरौँ भनेर हामी एकजुट भएका हौँ । सहरकारीमार्फत १४ टनेल निर्माण तरकारी खेतीको काम भइरहेको छ ।’ उन्नत जातको बीउबिजन नपाउँदा भने समस्या हुने गरेको उनको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन् । गाउँपालिकाले यहाँको माटो सुहाउँदो बालीको विस्तारमा जोड दिएको उनको भनाइ छ ।

‘हाम्रो गाउँपालिकामा कृषि र पर्यटनको राम्रो सम्भावना छ’, उपाध्यक्ष राईले भनिन्, ‘गाउँपालिकाको नीति निर्माण गर्दा हामीले यी दुई विषयमा जोड दिएका छौँ । कृषकलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’

किसानलाई मौरीपालन, जडीबुटी खेती, सुन्तला, कागती खेतीलगायतमा व्यावसायिक बन्न गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?