+

ऐतिहासिक जितको नजिक पुगेर चुकेको नेपाल

२०८१ असार  १ गते २०:५० २०८१ असार १ गते २०:५०
ऐतिहासिक जितको नजिक पुगेर चुकेको नेपाल

१ असार, अमेरिका । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध रोमाञ्चक खेलमा नेपाल १ रनले पराजित भएको छ । यो हारसँगै नेपाल सुपर ८ मा पुग्ने सम्भावना अन्त्य भएको छ, जसले २०२६ मा सोझै टी–२० विश्वकप खेल्ने सम्भावना खुल्थ्यो ।

नेपालले पूरा खेलभर पकड राखेको थियो, तर अन्तिम दुई ओभरको प्रदर्शनका कारण हार्न पुग्यो ।

किङ्ग्सटाउनमा नेपालका कप्तान रोहित पौडेलले टस जिते र पहिला फिल्डिङ रोजे ।

धेरैको अनुमान दक्षिण अफ्रिकाले रनको बर्षा गराउँछ भन्ने थियो । किनकी दक्षिण अफ्रिकाले लगातार तीन खेल जितेको थियो, क्विन्टन डिकक, एडेन माक्ररम, हेनरिक क्लासेन र डेविड मिलर जस्ता विश्वप्रसिद्ध टी–२० ब्याटर टिममा थिए ।

तर नेपालले दक्षिण अफ्रिकाको स्पिन आक्रामण खेल्न नसक्ने मुख्य कमजोरीमा राम्रो होमवर्क गरेको थियो । क्विन्टन डि कक बायाँ हाते ब्याटर भएकाले अफ स्पिनर दीपेन्द्रसिंह ऐरी दोस्रो ओभरमै आएका थिए । चौथो ओभरको चौथो बल रोक्न खोज्दा डी ककले दीपेन्द्र सिंह ऐरीलाई सहज क्याच दिएका थिए ।

पावर प्ले (६ ओभर) मा दक्षिण अफ्रिकाले १ विकेट गुमाउँदै ३८ रन बनाएको थियो ।

त्यसपछि लेग स्पिनर सन्दीप लामिछाने आए । झण्डै एक वर्षपछि टिममा फर्किएका उनले सातौं ओभरमा विकेट नलिएपनि २ रन दिँदै राम्रो सुरुवात गरे । रिजा हेन्ड्रिक्सले आठौं ओभरमा कुशल मल्ललाई एक चौका र एक छक्का हाने ।

त्यसपछि नेपालले दुई लेग स्पिनर कुशल भुर्तेल र सन्दीप लामिछानेलाई बलिङमा लगायो ।

११औं ओभरको पाँचौं बलमा कुशल भुर्तेलले रिजा हेन्ड्रिक्सको क्याच लङअफमा छोडेका थिए । कुशलले त्यसको तुरुन्तै क्षतिपूर्ति गरे । क्याच छाडेलगत्तै कुशल भुर्तेल बलिङमा आउँदा दक्षिण अफ्रिका ११ ओभरमा ६७/१ को बलियो अवस्थामा थियो । १२ औं ओभरमा कुशल भुर्तेलको गुड लेन्थको बलमा सट खेल्ने क्रममा ब्याटमा लागेर एडेन माक्ररम १५ रनमा बोल्ड भए ।

त्यो विकेट नेपाललाई खेलमा फर्काउन टर्निङ प्वाइन्ट बन्यो । भुर्तेलकै अर्को ओभरमा ठूलो सट खेल्न खोज्दा हेनरिक क्लासेन एक्स्ट्रा कभरमा ३ रनमा समातिन पुगे । करण केसीले उक्त क्याच चौथो प्रयासमा लिएका थिए ।

१६औं ओभरको तेस्रो बलमा दीपेन्द्रले रिजा हेन्ड्रिक्सलाई ४३ रनमा कट एण्ड बोल्ड गरेपछि खेल थप रोचक बन्यो ।

दक्षिण अफ्रिकाले ११ देखि १६ ओभरसम्म ३० बलमा मात्रै १७ रन जोड्दा तीन विकेट गुमाएको थियो । १६ ओभरमा दक्षिण अफ्रिका ८५/४ को अवस्थामा थियो । १८ औं ओभरमा दीपेन्द्रको बलमा डेविड मिलर ७ रनमा क्याच आउट भएका थिए । टप एज लागेर उनी सर्ट थर्डमा सन्दीपबाट समातिएका थिए ।

१९ औं ओभरमा अभिनाश बोहराले ७ रन खर्चिए । ट्रिस्टन स्टब्सले २०औं ओभरको पहिलो बलमा कुशल भुर्तेललाई छक्का हानेका थिए । त्यसपछि कुशलले राम्रो पुनरागमन गर्दै मात्रै २ रन खर्चेर २ विकेट लिएपछि दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनायो ।

नेपालको बलिङ आक्रमणसामू दक्षिण अफ्रिकाका ब्याटर कुनै पनि समय खुलेर खेल्न सकेनन् ।

रिजा हेन्ड्रिक्सले ४९ बलमा ४३ रन बनाए । ट्रिस्टन स्टब्सले १८ बलमा २ चौका र १ छक्कासहित २७ रन जोडे । अन्य ब्याटरको स्ट्राइकरेट १०० कटेन ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य आफैंमा ठूलो होइन, तर दक्षिण अफ्रिकाका तीव्र गतिका बलरहरुसँग खेल्न नेपाली खेलाडीलाई सहज पनि थिएन । अनि नेपालको ओपनिङ जोडी चल्न सकेको थिएन । दक्षिण अफ्रिकाले यही विश्वकपमा बंगलादेशविरुद्ध ११३ रनको स्कोर रक्षा गर्ने क्रममा ४ रनको जित हात पारेको थियो ।

तर नेपालले राम्रो सुरुवात गर्‍यो । तीव्र गतिका बलर मार्को यानसनको पहिलो ओभरको चौथो बल कुशल भुर्तेलको ब्याटको एजमा लागेर चौका गयो ।

दोस्रो ओभरको पाँचौं बलमा टप एज लागेर हाइ गएको बल कागिसो रबाडाले आफैं लिन खोज्दा आसिफ शेखले जीवनदान पाए । अर्को ओभरमा आसिफले चौका हाने ।

सुरुवाती ७ ओभरमा नेपालले ३४ रन जोड्दा कुनै विकेट गुमाएको थिएन ।

आठौं ओभर दक्षिण अफ्रिकाको पक्षमा रह्यो । केशव महाराजको स्थानमा आएका तबरेज साम्सीले दोस्रो बलमा कुशल भुर्तेललाई १३ र चौथो बलमा कप्तान रोहित पौडेललाई शून्यमा बोल्ड गर्दै दक्षिण अफ्रिकालाई खेलमा फर्काएका थिए ।

रोहित आउट हुँदा नेपाल ७.४ ओभरमा ३५–२ को अवस्थामा थियो । चौथो नम्बरमा आएका अनिल साहले खुलेर खेल्न थाले । अनिलले ११ औं ओभरमा एनरिच नोर्कियालाई दुई चौका हाने भने १२औं ओभरको दोस्रो बलमा लङअफमा छक्का हाने ।

१३ औं ओभरमा आसिफ शेखले रबाडालाई एक चौका र एक छक्का हानेपछि खेल नेपालको नियन्त्रणमा आयो । यो ओभरको समाप्तिमा नेपाल ८२/२ को अवस्थामा थियो र ११६ रनको लक्ष्य टाढा थिएन । किनकी नेपाललाई ४२ बलमा ३४ रन मात्र चाहिने थियो र हातमा ८ विकेट थियो । हरेक बलमा एक रन पर्याप्त हुन्थ्यो ।

तीव्र गतिका बलरले खराब प्रदर्शन गरेपछि १४औं ओभरमा कप्तान एडेन माक्ररम आफैं बलिङमा आए । चौथो बलमा अनिल २७ रनमा क्याच आउट भए ।

अनिल आउट भएपछि नेपाली ब्याटर खुल्न सकेनन् । त्यसपछिको १८ बलमा नेपालले १२ रन मात्र जोड्यो । त्यसका बाबजुद नेपाललाई अन्तिम १८ बलमा १८ रन चाहिँदा ७ विकेट हातमा थियो । तर १८औं ओभर टर्निङ प्वाइन्ट रह्यो ।

साम्सीको १८औं ओभरको तेस्रो लेग साइडको बल दीपेन्द्रले स्वीप खेलेका थिए । तर, बल गोल्भ्समा लाग्न पुग्यो ।विकेटकिपर डिककको अपिलमा अम्पायरले आउट दिएका थिए । दीपेन्द्रले रिभ्यु लिएपनि निर्णय नेपालको पक्षमा आएन । त्यही ओभरको अन्तिम बलमा आसिफ शेख ४२ रनमा बोल्ड भए ।

नेपाललाई अन्तिम १२ बलमा १६ रन चाहिने भयो । तीव्र गतिका बलर एनरिच नोर्कियाले दोस्रो बलमा कुशल मल्ललाई १ रनमा बोल्ड गरे । त्यसपछि आएका सोमपाल कामीले सुरुका दुई बलमा रन जोड्न सकेनन्, तर ओभरको पाँचौं बलमा नोर्कियाको स्लोअर बल ओभर मिडविकेटमा १०५ मिटर टाढा हान्दै मैदान कटाए । अन्तिम बलमा सोमपालले दुई रन बटुलेपछि नेपाललाई दक्षिण अफ्रिकामाथि जित निकाल्न अन्तिम ६ बलमा ८ रन चाहियो ।

अन्तिम ओभरमा बलिङ गर्न आएका ओटनिल बार्टमानले पहिलो लेन्थ बल र दोस्रो वाइड योर्करमा डट राखे । तर तेस्रो बलमा चौका हानेका गुल्सन झाले चौथो बलमा दुई रन बटुले । नेपाललाई दुई बलमा दुई रन चाहियो, जुन सम्भव थियो ।

पाँचौं सर्ट बल गुल्सन ले छुन सकेनन् । अझै पनि अन्तिम बलमा २ रन जोडे जित, एक रन मात्र जोडेपनि बराबरी भएर खेल सुपर ओभरमा जाने अवस्था थियो ।

तर गुल्सनको ब्याट बलमा कनेक्ट भएन । नन स्ट्राइकमा रहेका सोमपाल एक रनका लागि दौडिएका थिए । तर गुल्सन सुरुमा बल हेर्न थाले । थोरै अघि बढ्दा अल्झिए । त्यसपछि दौडिएका गुल्सन नन स्ट्राइक नजिकै पुग्दा रोकिन पुगे । उनले ब्याट राख्नुअघि नै विकेटकिपर डि ककको थ्रो मा क्लासेनले स्टम्पमा बल ताकेका थिए । गुल्सन त्यही थचक्क बसे, डग आउट र पेभेलियन भावुक बन्यो ।

नेपालले दक्षिण अफ्रिकाविरुद्ध जसरी खेल्यो, त्यो लोभलाग्दो थियो । तर जितको नजिकै पुगेर पनि इतिहासमै पहिलो पटक टेस्ट टोलीलाई हराउने अवसर गुमाएको छ ।

‘जसरी हामीले बलिङ र ब्याटिङ गर्‍यौं, यसप्रति गर्व छ’, खेलपछि कप्तान रोहितकुमार पौडेलले भने, ‘हामी (जितको) निकै नजिक थियौं, तर थोरै टाढा रह्यौं ।’

क्रिकेट टी-२० विश्वकप नेपाल vs दक्षिण अफ्रिका
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय