+

अष्ट्रेलियासँग पराजित हुँदा स्कटल्यान्ड बाहिरियो, इंग्ल्यान्ड सुपर-८ मा

२०८१ असार  २ गते ९:३७ २०८१ असार २ गते ९:३७
अष्ट्रेलियासँग पराजित हुँदा स्कटल्यान्ड बाहिरियो, इंग्ल्यान्ड सुपर-८ मा

२ असार, अमेरिका । स्कटल्यान्ड आईसीसी टी-२० विश्वकप २०२४ मा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको छ । उता अष्ट्रेलियाको जितले समूह बी बाट इंग्ल्यान्डले स्कटल्यान्डलाई नेटरनरेटमा पछि पार्दै सुपर ८ मा स्थान बनाएको छ ।

१८१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर ट्रविस हेडले ४९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मार्कस स्टोइनिसले २९ बलमा ९ चौका र २ छक्कासहित ५९ रन बनाए । डेविड वार्नर १, मिचेल मार्श ८, ग्लेन म्याक्सवेल ११ रनमा आउट हुँदा टिम डेविड ११ बलमा २ चौका र १ छक्कासहित २४ रनमा नटआउट रहे ।

स्कटल्यान्डका स्पिनर मार्क वाटले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । शफ्यान शरिफले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ब्राड ह्वीलले १ विकेट लिए ।

त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

युवा अलराउण्डर ब्रेन्डन म्याकमुलेनले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेले पनि टोलीले जित्न सकेन । जर्ज मुन्शे २३ बलमा २ चौका र ३ छक्कासहित ३५ रन बनाए ।

ओपनर माइकल जोन्स २ रनमै आउट भएका थिए । त्यसपछि जर्ज मुन्शे र ब्रेन्डन म्याकमुलेन ४८ बलमा ८९ रनको सानदार साझेदारी गरेका थिए । कप्तान रिची बेरिंग्टन ३१ बलमा १ चौका र २ छक्कासहित ४२ रनमा नट आउट रहे । म्याथ्यु क्रस १८ र माइकल लिक्स ५ रनमा आउट भए ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । एश्टन अगर, नाथन एलिस र एडम जाम्पाले १–१ विकेट लिए । अष्ट्रेलिया समूह बी बाट ४ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्ड र स्कटल्यान्ड दुबैको ४ खेलमा ५–५ अंक रह्यो । तर इंग्ल्यान्डको नेटरनेट ३.६११ रहँदा स्कटल्यान्डको १.२५५ रह्यो ।

 

अष्ट्रेलिया क्रिकेट टिम आईसीसी टी-२० विश्वकप २०२४ स्कटल्यान्ड क्रिकेट टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय