+
+

‘बोक्सीको घर’का निर्देशकको प्रश्न : काम गर्ने कालु, माम खाने आलु ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १२:३६

काठमाडौं । यस वर्षको सुपरहिट फिल्म ‘बोक्सीको घर’ले ५१ दिन मनाएको खबरसँगै निर्देशक र निर्माताबीचको विवाद पनि सतहमा आएको छ । निर्देशक सुलक्षण भारतीले निर्देशक र लेखकको रुपमा आफूलाई बेवास्ता गरिएको आरोप लगाउँदै क्रुद्ध प्रतिक्रिया दिएका छन् ।

५१ दिनको सन्दर्भमा फेसबुकमा स्टाटस पोस्ट पढ्दा उनको असन्तुष्टि निर्मात्री समेत रहेकी केकी अधिकारीतर्फ लक्षित रहेको बुझ्न सकिन्छ । खासगरी, प्रचारप्रसारमा आफूलाई बेवास्ता गरिएको असन्तुष्टि भारतीको छ । केकी भने फिल्म प्रदर्शन प्रदर्शनका लागि हालै युरोप पुगेर फर्किएकी छन् ।

भारतीले आफ्नो फेसबुक स्टाटस केही पत्रकारलाई समेत ट्याग गरेका छन् । उनले स्टाटसको अन्त्यमा ‘ढोंगीपन’ भनेर टिप्पणी गरेका छन् । तर उनले यो स्टाटस आक्षेप नभएर, प्रश्न मात्र रहेको उल्लेख गरेका छन् ।

भारती लेख्छन्-

मलाई जुन माया दर्शकहरुले दिनुभयो त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईंहरुको मायाले आज चलचित्र बोक्सीको घरले ५१ दिन मनाउन सफल भएको छ । यस चलचित्रका मुख्य कलाकार, लेखक, निर्देशक तथा अभिनय प्रशिक्षकको भूमिकामा म सुलक्षण भारतीले काम गरेको छु ।

यहाँ आफ्नो लागि आफैंले बोल्नुपर्ने रहेछ र लड्नुपर्ने रहेछ । यी मेरा प्रश्नहरु हुन्, कसैप्रति आक्षेप भने होइन । प्रश्न गर्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो । यो ५१ दिनमा मैले गरेको अनुभवबाट उब्जिएका मेरा केही प्रश्नहरु हुन् । ‘काम गर्ने कालु माम खाने आलु’ के यो उखानले सार्थकता राख्छ ?’

यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ ? कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ? म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु, के यो अनुभव स्वभाविक हो ?

जसले जे काम गरेको छ, त्यसको उचित मूल्यांकन हुन जरुरी छ वा छैन ? लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रुपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित होला र ? के लेखक तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र ?

बौद्धिक चोरी भनेको के हो ? बोक्सीको घर आखिरमा कसले बनाएको चलचित्र हो ?

अब फेरि जीवनमा म जस्ताले चलचित्र किन र केका लागि बनाउने ? दर्शक र सर्जकबीचको पुल भनेको अहिलेको समयमा सञ्चारमाध्यम हो । यस विषयमा कसले ध्यान दिने ? एउटा सर्जक र उसको कामको मूल्यांकन के आवश्यकताको विषय होइन र ? ‘हिप्पोक्रेसी अन इट्स टप ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?