+
+

घरजग्गा र सेयर कारोबारको लाभमा सीमा तोकेर आयकर लगाउन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १५:२३

२ असार, काठमाडौं । सरकारले गठन गरेको कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले घरजग्गा कारोबार, सेयर र विभिन्न सम्पत्तिको खरिद बिक्रीको वार्षिक कारोबार अंक र पटक सीमा तोकी त्यस्तो बिक्रीबाट हुने आयमा व्यावसायिक कर लगाउन सुझाव दिएको छ ।

विद्याधर मल्लिक अध्यक्षतामा गठित समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको समितिको प्रतिवेदनमा घरजग्गा, सेयर र विभिन्न सम्पत्तिको खरिद बिक्री तथा सम्पत्ति निसर्ग बमोजिमको वार्षिक कारोबार अंक तथा कारोबारको पटक संख्याको सीमा निर्धारण गरी त्यस्तो बिक्री/निसर्गबाट प्राप्त लाभलाई व्यावसायिक आय मानी कर लगाउन भनेको छ ।

सोही प्रतिवेदनले प्राकृतिक व्यक्तिले वार्षिक ४० लाख भन्दा बढीको आयको अनिवार्य आय विवरण बुझाउनु पर्ने व्यवस्थाको परिपालनामा जोड दिन समेत सरकारलाई सुझाव दिएको छ । २९ भदौ २०८० मा गठित समितिले गत फागुनमा आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

समितिले संस्थागत आयकरको दरलाई क्रमशः घटाउँदै जान समेत भनेको छ । संस्थागत आयकरको दरलाई हरेक वर्ष १ प्रतिशतले कम गरी हालको २५ प्रतिशतबाट २० प्रतिशतमा झार्न र त्यसपछिको १० वर्षसम्म स्थिर राख्न भनेको छ । करका दरमा स्थिरता सहित पुनर्संरचना आवश्यक रहेको भन्दै समितिले यस्तो सुझाव दिएको बताएको छ ।

मदिरा तथा सुर्तीजन्य र बैंक तथा वित्तीय संस्थालाई तोकिएको ३० प्रतिशतको संस्थागत करको दर यथावत राखी यस वर्गमा पर्ने अन्यलाई २५ प्रतिशतमा झार्न समेत समितिले सुझाव दिएको छ ।

निर्यातमूलक व्यापार तथा व्यवसायको आयकरको दर १० प्रतिशत र अन्य सबै व्यवसायको आयकर दर २० प्रतिशत कायम गर्न समेत समितिले सुझाव दिएको छ ।

धितोपत्र खरिद बिक्रीको लाभमा ३६५ दिनभन्दा बढी अवधिका लागि ७.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा बढी अवधिको हितको निसर्गमा १० प्रतिशतले कर लगाउन समेत समितिले सुझाव दिएको छ । कुल कारोबारमा २ प्रतिशतका दरले वैकल्पिक कर लगाउने व्यवस्था सुरु गर्न समेत सुझावमा उल्लेख छ ।

हाल एक प्रतिशतको सामाजिक सुरक्षा कर खारेज गर्न र व्यक्तिगत आयको करयोग्य आयमा कर छुट बापतको रकम घटाई सुरुको १० वर्षसम्म ३ प्रतिशतबाट सुरु गरी क्रमशः ५ प्रतिशतका दरले सामाजिक सुरक्षा योगदान करमा योगदान गर्ने गरी व्यवस्था गर्न समेत सुझावमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?