+

महिलाले लगाउनैपर्ने ५ खोप

२०८१ असार  २ गते १८:३३ २०८१ असार २ गते १८:३३
महिलाले लगाउनैपर्ने ५ खोप

समयसँगै सुविधा बढ्दै गएपछि मानिसको जीवनशैली सहज बन्दै गएको छ । त्यससँगै विभिन्न संक्रमण र रोगको जोखिम पनि बढ्दै गएको छ ।

पुरुषको तुलनामा महिलालाई संक्रमण र रोगको जोखिम धेरै हुन्छ । किनभने महिनावारी, हर्मोनल परिवर्तन, गर्भावस्था र पोषणको कमीका कारण संक्रमण हुने खतरा बढी हुन्छ । उनीहरु परिवारको स्वास्थ्यको ख्याल गर्दागर्दै आफ्नै स्वास्थ्यको भने बेवास्ता गरिरहेका हुन्छन् ।

महिलामा थाइराइड गडबडी, मधुमेह, क्यान्सर र अन्य धेरै संक्रामक रोगको जोखिम हुन्छ । त्यसैले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन महिलाले निश्चित प्रकारका खोप लगाउनुपर्छ ।

महिलाले स्वस्थ रहन लगाउनैपर्ने पाँच खोप

एचपीभी खोप

हरेक महिलाले ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाउनुपर्छ । यसले एचपीभीजन्य नौ भन्दा बढी संक्रमण वा क्यान्सरबाट जोगाउन मद्दत गर्छ । एचपीभीबाट संक्रमित व्यक्तिमा कुनै खास लक्षण देखा पर्दैन । तर हात-खुट्टा र प्रजनन् अंगमा मुसा र गाँठो मात्र देखापर्छ । एचपीभी संक्रमणको समयमै उपचार गरिएन भने यसले क्यान्सर जस्ता घातक रोग समेत निम्त्याउन सक्छ । त्यसलाई रोक्न यो खोप लगाउनुपर्छ । यो खोप ९ वर्षदेखि १५ वर्षसम्मका किशोरीले लगाउनुपर्छ । यसको कुनै खासै साइड इफेक्ट हुँदैन, त्यसैले निर्धक्कसाथ लगाउन सकिन्छ ।

एमएमआर खोप

एमएमआर खोप अर्थात् दादुरा, मम्प्स (हाँडे रोग) र रुबेला जस्ता संक्रमणबाट जोगाउँछ । यसले महिलाको रोगप्रतिरोधात्मक क्षमता बढाएर रोगसँग लड्न मद्दत गर्छ । यो खोप महिलाले गर्भावस्थापूर्व अनिवार्य लगाउनुपर्छ । तर खासगरी यो खोप लगाउने उमेर १२ महिनादेखि १२ वर्षसम्म तोकिएको छ । यसबेला एक डोज मात्र लगाए पुग्छ भने केही कारण केटीहरूले १२ वर्षको उमेरसम्म एमएमआर खोप लगाउन नसकेमा पछि चिकित्सकको परामर्श लिएर एमएमआर खोप दुई डोज लगाउनुपर्छ ।

इन्फ्लुएन्जा (फ्लु) खोप

इन्फ्लुएन्जा एक प्रकारको भाइरल संक्रमण हो, जसले नाक, घाँटी र फोक्सोलाई असर गर्छ । इन्फ्लुएन्जाबाट सङ्क्रमित महिलामा शरीर दुख्ने, पानी जस्तो सिंगान बग्ने, सास फेर्न गाह्रो हुने, ज्वरो आउने, घाँटी दुख्ने, थकान र खोकी लाग्ने जस्ता लक्षण देखापर्छ । महिलाहरुले इन्फ्लुएन्जा खोप लगाउनाले शरीरलाई फ्लुसँग लड्नको लागि आवश्यक एन्टिबडी बनाई शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गर्छ ।

टीडीएपी खोप

टीडीएपी खोपले टिटानस, डिप्थेरिया (भ्यागुते रोग) र परट्युसिस जस्ता तीनवटा गम्भीर संक्रमणसँग लड्न मद्दत गर्छ । यी संक्रमण ब्याक्टेरियाको कारणले लाग्छ । टीडीएपी खोप खासमा सानै उमेरमा लगाइसक्नुपर्ने भएपनि पछि ११–१२ वर्षको उमेरमा खोप दिन सकिन्छ । यो खोप चिकित्सकको सल्लाह लिएर मात्र लगाउनुपर्छ ।

हेपाटाइटिस बी खोप

हेपाटाइटिस बी भाइरसको संक्रमणले हुने गम्भीर समस्या कलेजोको संक्रमण हो । यसले गर्दा कलेजो बिग्रिने, कलेजोको सिरोसिस हुने, कालान्तरमा कलेजोको क्यान्सर हुने तथा कतिपय अवस्थामा मृत्यु समेत निम्त्याउन सक्छ । हेपाटाइटिस बी खोप लगाएर यो संक्रमणबाट सजिलै रोक्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

खोप महिला स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय