+
+

महानगरमा तीन दलको ‘गठबन्धन’ले बालेन रुष्ट

महानगरको नीति तथा कार्यक्रमाथि छलफल गर्न बोलाइएको नगर सभामा कांग्रेस, एमाले र एकीकृत समाजवादीका वडाध्यक्षहरूले साझा धारणा बनाउन केही समय बैठक रोक्न माग गरेका थिए । मेयर बालेन भने बजेट ल्याउने अन्तिम दिन १० असारलाई बैठक तोकेर ब्राजिल उड्ने तयारीमा लागे ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८१ असार २ गते २०:१८

२ असार, काठमाडौं । राष्ट्रिय सभा गृहमा आइतबार बिहान सवा ९ बजे राष्ट्रिय गानसँगै काठमाडौं महानगरपालिकाको नगर सभा बैठक सुरु भयो । सुरु हुँदासम्म बैठकमा दृश्यहरू नियमित जस्तै थिए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको आग्रहअनुसार मेयर शाहले १५औं अधिवेशनको दोस्रो बैठक प्रारम्भ गरे । अनि चालु आर्थिक वर्ष २०८०/८१ को प्रगति, समीक्षा र आगामी आर्थिक वर्षका लागि शुक्रबार आफूले पेस गरेको महानगरको नीति तथा कार्यक्रममाथि बोल्न चाहनेहरूका लागि नाम टिपाउन ५ मिनेट समय दिए ।

केहीबेर हल शान्त रह्यो । केही नगर सभा सदस्य सिटबाट उठेर यताउता हेर्न थाले । महानगरका प्रवक्तासमेत रहेका कांग्रेसका तर्फबाट निर्वाचित वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धर, एमालेका तर्फबाट निर्वाचित ३२ नम्बर वडाका वडाध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीबाट निर्वाचित वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोललबारे सोधीखोजी गर्न थाले । नगर सभामा दलका तर्फबाट संशोधन प्रस्तावहरू संयोजन गर्न जिम्मा पाएका तीनै जना वडाध्यक्षहरू हलभित्र नदेखिएपछि नगर सभा सदस्यहरू धमाधम उठेर हिँडे ।

मेयर बालेनले पेस गरेको नीति तथा कार्यक्रममाथि साझा धारणा बनाउन र संशोधनका प्रस्ताव तयार गरेर हाल्न तीन दलका तर्फबाट तीन वडाध्यक्षहरू मानन्धार, पराजुली र डंगोल छलफलमा व्यस्त थिए ।

स्रोतका अनुसार उनीहरूले आफूहरूलाई नीति तथा कार्यक्रममाथि अध्ययन गरेर संशोधनको प्रस्ताव तयार गर्न केही समय लाग्ने भन्दै केही वडाध्यक्षमार्फत मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृतलाई खबर पठाएका थिए । उनीहरूले केही घण्टा नगर सभा बैठक सार्न आग्रह गरेका थिए ।

तर मेयर तयार भएनन् । उनले निर्धारित समयमै नगर सभा बैठक सुरु गर्दै बोल्न चाहनेहरूलाई नाम टिपाउन भनेपछि के गर्ने भन्ने अलमलमा परे ।

त्यसैले तीन वडाध्यक्षलाई खोज्दै हलबाट बाहिरिए । केहीबेरपछि महानगरका प्रवक्ता नवीन मानन्धरसँगै नवराज पराजुली र ईश्वरमान डंगोल एकसाथ मेयर बालेनसँग छलफलका लागि मञ्चमा पुगे ।

उनीहरूको एउटै माग थियो, बैठक ११ बजेसम्म सारेर छलफल गर्नुपर्‍यो । उनीहरूले केही विषयमा मेयर बालेनसँग छलफल हुनासाथ बैठकले तुरुन्तै नीति तथा कार्यक्रम पारित गर्न सक्ने बताए ।

तीन दलको गठनबन्धन देखेपछि मेयर बोलनले उनीहरूको मागअनुसार केही घण्टाका लागि बैठक रोक्ने प्रस्ताव स्वीकार्न नसकिने जवाफ दिए ।

बरू १० असारको बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिदिए । लगत्तै तीन वडाध्यक्षलाई चुनौती दिंदै सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो ।’

दलहरूले संयुक्त छलफल गरेर संशोधन हाल्न खोजेको बुझेपछि मेयर बालेन रुष्ट थिए ।

काठमाडौं महानगरको कुनै पनि नीति, योजना बारेमा छलफल बन्द कोठामा नहुने भन्दै उनले दलको धङधङी बोकेर नआउनसमेत आग्रह गरेका छन् ।

‘नगर सभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ,’ मेयर बोलेनले लेखेका छन्, ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने, अनि सार्वजनिक रूपमा त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन ।’

स्रोतका अनुसार शुक्रबार नीति तथा कार्यक्रम पेस भएपछि वडाध्यक्षहरूले अध्ययन गर्न केही दिनको समय मागे । त्यसअनुसार आइतबारका लागि बैठक बोलाइएको थियो । तर दलहरूले संयुक्त छलफल गरेर संशोधन हाल्न खोजेको बुझेपछि मेयर बालेन रुष्ट थिए ।

अझ मेयर बोलन आइतबार राति ब्राजिल भ्रमणमा निस्कने तयारीमा छन् । वर्ल्ड एसोसिएसन अफ दि मेजर मेट्रोपोलिसको बोर्ड बैठकमा भाग लिन आइतबार मध्यरातमा ब्राजिल जाने छन् । समयको चापमा पारेर आइतबारकै नगर सभा बैठकबाट संशोधनसहित नीति कार्यक्रम पारित गराउन खोजेको बुझेपछि मेयर बालेनले बजेट प्रस्तुत हुने दिन १० असारकै लागि लागि नगर सभा बैठक डाकेका छन् ।

के चाहन्छन् दलहरू ?

शुक्रबार नगर सभामा मेयर बालेनले पेस भएको नीति तथा कार्यक्रमका केही बुँदामा वडाध्यक्षहरूको असहमति छ भने केही नयाँ कार्यक्रमहरू थप्न गर्न चाहन्छन् ।

मेयर बालेनले पर्याप्त छलफल नगरी एकतर्फी रूपमा नीति तथा कार्यक्रम ल्याएको उनीहरूको आरोप छ ।

वडा नम्बर ७ का अध्यक्ष विमलकुमार होडा नीति तथा कार्यक्रम बनाउँदा मेयरले आवश्यक सल्लाह नगरेको बताउँछन् । दलहरूले उठाएका विषयहरू समावेश हुने गरी नीति तथा कार्यक्रम परिमार्जित हुनुपर्ने होडाले बताए ।

एमालेबाट काठमाडौं महानगर वडा नम्बर १ मा बनेका भरतलाल श्रेष्ठ नीति तथा कार्यक्रम अध्ययन गर्न समय नपाएकाले बैठक रोक्नुपर्ने माग गरेको बताउँछन् । ‘नीति कार्यक्रम अध्ययनका लागि समय आवश्यक छ । परिमार्जनको कुरा पनि उठेको छ,’ वडाध्यक्ष श्रेष्ठ भन्छन् ।

तर मेयरले बैठक रोकेर दलहरूसँग छलफल गर्न चाहेनन् । ‘स्पष्ट नभएका विषयमा सल्लाह गरौं भन्ने हाम्रो माग हो, त्यसका लागि केही समय मागेका थियौं’ महानगरका प्रवक्तासमेत रहेका वडाध्यक्ष नवीन मानन्धर भन्छन् ‘मेयरसा‘बले बजे ११ नभन्नुस्, अहिले नै गरौं भन्नुभयो ।’

मेयर बालेनका स्वकीय सचिव भुपदेव शाह भने नीति तथा कार्यक्रम अध्ययनका लागि सयम नपुगेको भनेर औपचारिक वा अनौपचारिक रूपमा नआएको दाबी गर्छन् । नीति तथा कार्यक्रममार्फत न्युरोडलाई ‘नो भेहीकल जोन’ बनाउने घोषणा भएकाले दलहरूले राजनीति गरेको उनको टिप्पणी छ ।

‘न्युरोडमा महानगरले गर्न खोजेको सत्‌प्रयासलाई सफल हुनबाट रोकिंदैछ, त्यसकै लागि नगर सभामा पनि गलत ढंगको गतिविधि भयो,’ उनले भने, ‘दलहरूका तर्फबाट नगर सभा सदस्यहरूमाथि ह्विप लगाएको देखिन्छ, स्थानीय तहमा यस्तो अभ्यास अनैतिक र गैरसंवैधानिक हो ।’

अब १० गते नगर सभा राखिएको छ । त्यो दिन नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउनुपर्छ । किनकि १० असारभित्र स्थानीय तहले बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । यो दिन या त मेयरले वडाध्यक्षहरूसँग छलफल गरेर नीति तथा कार्यक्रम संशोधन गर्नुपर्छ, वा उनीहरूले अडान छाडेर नीति तथा कार्यक्रम पास गर्न मद्दत गर्नुपर्ने हुन्छ । दुवै पक्ष आ-आफ्नो अडानमा रहे नीति तथा क्रार्यक्रम पासै नगरी काठमाडाैं महानगरको बजेट आउन सक्छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?