+
+

वीरमा बिरामीलाई सास्ती, कर्मचारीलाई चार थरी भत्ता

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ असार ३ गते १९:२६
वीरमा उपचारका लागि लाइनमा लागेका बिरामीहरू । तस्वीर : अनलाइनखबर फाइल ।

३ असार, काठमाडौं । वीर अस्पतालको कम्पाउन्डदेखि हरेक विभागका कोठाहरू बिरामी र आफन्तले भरिएका छन् । आकस्मिक कक्षमा शय्या खाली छैनन् । एक शय्यामा तीन जनासम्म बिरामी राखिएको छ ।

दैनिक २ हजार ५०० जनाभन्दा बढी बिरामी उपचारका लागि पुग्ने वीर अस्पताल विपन्न, गरिब वर्गका लागि आशा र भरोसाको केन्द्र हो । तर, विकट तथा दुर्गम भेगबाट जुन अपेक्षा अनुसारको सेवाका साथ अस्पताल पुग्छन्, उनीहरूले पाइला-पाइलामा सास्ती भोग्नुपर्छ ।
वीर अस्पतालमा २८ वटा विभाग छन् । ल्याब, फार्मेसी जहाँ गए पनि भीड उस्तै छ ।

वीर अस्पतालमा पुग्दा केही बिरामी टिकट काउन्टरतिर, केही क्यास काउन्टरतिर र केही चिकित्सकलाई देखाउनका लागि आफ्नो पालो कुरेर बसिरहेका थिए । सर्वसाधारणलाई ओपीडी बाहिर पर्याप्त बस्न ठाउँ छैन । लामो समय उभिंदा-उभिंदा थाकेर होला, कोही बिरामी थचक्क भुईंमै बसेका छन् । अस्पतालमा घन्टौ समयसम्म लाइनमा बस्दा र रिपोर्ट लिनका यताउति दौडिंदादौडिंदै बेथा झन् बढ्ने खतरा छ ।

सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय रत्न थापाले बिहान ७ बजे अस्पताल पुगेपनि दिन ढल्किन लागिसक्दा पनि चिकित्सकलाई आफ्ना समस्या राख्न नपाएको गुनासो गरे । ‘जहाँ गयो, त्यहीं लाइन बस्नुपर्छ । सर्वसाधारणलाई कहाँ गएर कुन सेवा लिने थाहा छैन,’ थापाले गुनासो गरे, ‘अस्पतालको व्यवस्थापन साह्रै कमजोर भयो ।’ अव्यवस्थित भीडभाडका कारण छिटो र सहज सेवा-सुविधा पाउन नपाएकामा थापा मात्र होइन अधिकांश सेवाग्राही दिक्क देखिन्छन् ।

तर जानेबुझेका वा भनसुन गर्ने मानिसका लागि अस्पतालबाट सेवा लिन धेरै समय लाग्दैन । तर आफ्ना कोही नभएका सेवाग्राहीले सास्ती त भोग्छन् नै स्वास्थ्यकर्मीबाटै उल्टो हप्की खान विवश छन् ।

हुम्लाका दिनेश क्षेत्री आमालाई छातीमा समस्या भएपछि उपचारका लागि केही दिन अगाडि वीर अस्पताल आइपुगेका छन् । छिनछिनमा आवश्यक पर्ने औषधि खरिद गर्न घन्टौं लाइन बस्नुपर्दा हैरानी खेपिरहेको उनी सुनाउँछन् । ‘घन्टौंसम्म लाइन बसेर बल्ल-बल्ल पालो आउँछ, तर अस्पतालको फार्मेसीमा औषधि पाइँदैन,’ उनले गुनासो गरे, ‘हामीजस्ता सोझासिधा नागरिकले उपचार पाउन धेरै मुस्किल रहेछ ।’

आकस्मिक कक्ष उस्तै भद्रगोल छ । ह्वास्स शौचालयको दुर्गन्ध आइरहेको छ । हिंड्ने बाटोमा समेत बेड राखिएको छ ।

बिरामीलाई आफन्तले ह्विलचियरमा राखेर आकस्मिक कक्षसम्म जसोतसो पुर्‍याउँछन् । तर, बेड खाली नभएको जवाफ पाउँछन् । स्वास्थ्यकर्मीले ह्विलचियरमै राखेर अक्सिजन दिन्छन् ।

आईसीयू बेड उपलब्ध नहुँदा बिरामीका आफन्तको छटपटी झन् बढ्छ । अस्पताल प्रशासनका अनुसार आईसीयूकै अभावमा दैनिक १०–१२ जना फर्किन बाध्य छन् । निजीमा लैजानका लागि उनीहरूको आर्थिक अवस्था सक्षम नहुँदा केही बिरामी आईसीयू अभावमै मृत्युवरण गरिहेका छन् ।

सबै जनताको स्वास्थ्य सेवामा पहुँच पुर्याउने लक्ष्य राखेर स्थापना भएको वीरमा अझै पनि सर्वसाधारणले उपचारमा खेप्नुपर्ने सास्ती कम भएको छैन । सरकारी अस्पतालको व्यवस्थापन भद्रगोल हुँदा अहिले बिरामी भएकाहरुले शल्यक्रियाका लागि एक वर्षसम्म पालो कुुर्नुपर्ने बाध्यता छ ।

वीर अस्पतालको युरोलोजी विभागमा शल्यक्रिया गर्नका लागि करिब १० महिना यता पालो पाउन मुश्किल छ । अब आउने बिरामीले आउने चैत महिनासम्म पालो पाउँदैनन् ।

अन्य विभागहरूमा पनि यस्तै पालो कुर्नुपर्ने अवस्था छ । वीरमा पुग्न अधिकांश बिरामीसँग तत्काल निजी अस्पतालमा शल्यक्रिया गर्न सामथ्र्य हुँदैन । ‘निजी अस्पतालमा गएर उपचार गर्न सक्दिनँ । गरिबको कहाँ चाँडै उपचार हुँदोरहेछ,’ युरोलोजी विभागमा भेटिएका एक बिरामीले गुनासो गरे, ‘अब घर फर्किन्छु । एक वर्षसम्म रोग पालेरै बस्नुपर्ने भयो ।’

अधिकांश बिरामीलाई चिकित्सकले पर्याप्त समय नै नदिएको बिरामीले गुनासो गर्छन् । बिरामी र चिकित्सकको बीचमा हुने छोटो वा फितलो कुराकानीले उपचारमा समेत असर गरिरहेको छ ।

उपचारबारे बिरामी, बिरामीका आफन्त तथा चिकित्सकबीच निरन्तर संवाद वा काउन्सिलिङ कमजोर हुँदा पनि स्वास्थ्यकर्मीमाथि नै अविश्वास बढ्दै गएको छ ।

पर्साका ५५ वर्षीय रुपक खतिवडा चिकित्सक नभएका कारणले घर फर्किदै थिए । ‘बिहान पालो बस्दा-बस्दा हैरान हुन्छ । दिउँसो अलि खाली हुन्छ कि भनेर आएको डाक्टर त हिँडिसक्नु भएको रहेछ,’ उनले अनलाइनखबरसँग गुनासो गरे, ‘हामीजस्ता गरिबले वीरमा सेवा नपाए कहाँ जाने ?’

बिरामी, बिरामीका आफन्तले हर क्षण सास्ती भोगिरहन बाध्य रहँदा कर्मचारीले भने चार थरीसम्म भत्ता पाउने गरेका छन् ।

कर्मचारीलाई चार थरीसम्म भत्ता

भत्ता र सेवा सुविधा नपाएको भन्दै आन्दोलानमा उत्रिएका वीरका कर्मचारी । तस्वीर : अनलाइनखबर फाइल ।

नेपाल सरकार सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनका सरकारी कोषबाट वितरण गरिने सबै प्रकारका भत्ता तथा सुविधालाई दोहोरो पर्ने गरी वितरण नगर्ने उल्लेख गरेको छ । तर वीर अस्पतालमा भने काम नगरी निजी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई भने सरकार, अस्पताल प्रशासनले नै विभिन्न शीर्षकमा भत्ता दिने गरेको छ ।

पहिलो-सेवा विस्तार भत्ता (५० प्रतिशत)

तलबमा थप ५० प्रतिशत भत्ता सरकार अन्तर्गतका स्थायी कर्मचारी, न्याम्स अन्तर्गतका स्थायी र करारका कर्मचारीले पाउँछन् ।

अस्पताल प्रशासनले बिहान एक घण्टा चाँडै आएको थप ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउँछ । शुक्रबार भने दुई घण्टा थप काम गर्नुपर्छ । यसरी हेर्दा महिनाको ३२ घण्टा थप काम गर्नेले सेवा विस्तार भत्ता पाउँछन् ।

जस अन्तर्गत सरकार दरबन्दीका ४८०, न्याम्सका स्थायी ३००, पुल दरबन्दीका २७८, न्याम्सका करार तर्फ १५०, काज र फाजिल ५५ जना छन् ।

सेवा विस्तार भत्तामा १ हजार २६३ जनालाई महिनामा एक करोड ७५ लाख हाराहरी रकम दिनुपर्ने हिसाबमा २१ करोडभन्दा बढी रकम थप खर्च हुने गरेको छ ।

दोस्रो : शैक्षिक भत्ता १०० प्रतिशत

त्यतिमात्रै होइन, न्याम्स अन्तर्गतका प्राध्यापकलाई थप एक सय प्रतिशत भत्ताको पनि व्यवस्था छ । अस्पताल प्रशासनका अनुसार तह अनुसार(लेक्चरर, प्रोफेसर) चिकित्सकलाई १०० प्रतिशत र नर्सिङ पढाउने जनशक्तिलाई थप ५० प्रतिशत दिने गरिऐको छ ।

तर यो शैक्षिक भत्ता भने चिकित्सा शिक्षा आयोगको बजेटबाट खर्च हुने गरेको छ ।

तेस्रो : जोखिम भत्ता

सरकारले जोखिमयुक्त ठाउँमा काम गर्ने जनशक्तिलाई थप २५ प्रतिशत भत्ता दिने गरेको छ । वीर अस्पतालमा ल्याब, रेडियोलोजी लगायतका जोखिमयुक्त ठाउँमा काम गर्ने ९० जना स्थायी जनशक्तिलाई तलबको थप २५ प्रतिशत जोखिम भत्ताको व्यवस्था गरेको छ । यस्तै एनेस्थेसियोलोजिस्टलाई १०० प्रतिशत जोखिम भत्ता दिने गरेको छ । केही महिनाअघि देखि सरकारले एनेस्थेसिया चिकित्सकले पाउने जोखिम भत्ता भने काटेको छ ।

काम नगरी विभागीय प्रमुख नै माग्छन् भत्ता

यसैगरी अस्पताल प्रशासनले प्रोत्साहन स्वरुप नाइट ड्युटी गरेबापत थप रकम दिने गरेको छ । नाइट ड्युटी गर्नेमा अधिकांश आवासीय चिकित्सक नै हुन्छन् ।

अस्पताल प्रशासनका अनुसार हाल चिकित्सकलाई एक रात काम गरेको १ हजार १७७ रुपैयाँको दरले कर कटाएर एक हजार दिने गरिएको छ । यस्तै नर्सको हकमा भने १५० रुपैयाँमा पनि १५ प्रतिशत कर काटिन्छ ।

तर काम नै नगरी विभागीय प्रमुखले भने भत्ता माग्ने गरेको अस्पताल प्रशासनका कर्मचारी बताउँछन् । उनीहरुका अनुसार अन ड्युटी काम गरेको चिकित्सकको हकमा मात्रै नाइट ड्युटीको भत्ता दिने व्यवस्था छ । तर अस्पतालबाट अन कल ड्युटीमा बसेको भन्दै केही विभागीय प्रमुखले समेत भत्ताका लागि फर्म भरिरहेका हुन्छन् ।

‘उहाँहरुले केही काम गर्नुभएको हुँदैन । तर भत्ता कसरी पाइन्छ भनेर अनेक बाहाना गरिराख्नु भएको हुन्छ,’ अस्पताल प्रशासनका एक कर्मचारीले भने, ‘रातभर काम गरेका नर्सले न्यून मात्रै रकम पाएका हुन्छन्, तर सिनियर चिकित्सकले काम नगरी भत्ता मागिराख्नु भएको हुन्छ ।’

ती कर्मचारीका अनुसार यसरी भत्ता माग्नेमा एनेस्थेसिया विभागका चिकित्सक, सर्जरी र नाक, कान, घाँटीका केही सिनियर चिकित्सक छन् । करिब २ करोड ५० लाख नाइट ड्युटीको भत्तामा जाने गरेको छ ।

यस्तै वार्षिक ७ करोड नियमित तलबमा लाग्ने अस्पताल प्रशासनले जनाएको छ ।

आन्तरिक आम्दानीको ९० प्रतिशत रकम तलबभत्तामा सकिन्छ

स्वास्थ्य सेवा गुणस्तरीय र बिरामीलाई सहज सेवा दिने उद्देश्यले कर्मचारीलाई प्रोत्साहनस्वरुप अतिरिक्त भत्ता दिने व्यवस्था गरे पनि त्यसअनुरुप प्रतिफल भने लिन नसकिएको अस्पतालका एक पूर्व निर्देशक बताउँछन् ।

‘सिनियर चिकित्सकको मनलाग्दी खालको व्यवहार गर्नुहुन्छ । सरकारी तलब, भत्ता खानुभएको छ । तर अस्पतालमा बस्ने कुनै टुंगो हुँदैन,’ ती निर्देशक भन्छन्, ‘काम नै नगरी सेवा विस्तार, लगायत अन्य भत्ता दिएको के अर्थ होला र !’

अस्पतालले गत आर्थिक वर्ष २०७९/८० मा ५५ करोड र चालु आर्थिक वर्ष २०८०/८१ मा ७५ करोड आन्तरिक आम्दानी गरेको थियो । तर त्यसको ९० तलब, भत्तामा सकिने गरेको छ ।

सर्जिकल भवन सञ्चालनका लागि सरकारले छुट्टाएको ८३१ दरबन्दी मध्ये ५५३ जना आगामी आर्थिक वर्षभित्रमा आउने आंकलन गरिएको छ । यस्तै वीर अस्पतालमा करारमा कार्यरत करिब २ सयको हाराहारीका जनशक्तिलाई ५० प्रतिशत भत्ता दिने निर्णय भएको भएको छ । यसरी करिब दुई हजारभन्दा बढी जनशक्तिलाई सेवा विस्तारको नाममा तलबको ५० प्रतिशत भत्ता खुवाउनुपर्ने हुन्छ ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल बढी समय सेवा दिंदा भत्ता पाउनु उचित भएको बताउँछन् । तर आफूले वीरको जिम्मेवारी सम्हालेपछि सेवा विस्तार बापत पाइने भत्तामा भएको चुहावटलाई कम गरेको उनले जिकिर गरे । ‘पहिला हाजिर लगाएकै भरमा सेवा विस्तारको भत्ता दिइन्थो । तर अहिले घन्टाको हिसाबले मात्रै सेवा विस्तार भत्ता पाउँछन्,’ डा. पौडेलले भने, ‘अब भत्तालाई वैज्ञानिक ढंगले दिनुपर्ने अवस्था छ ।’

धेरै कर्मचारी कार्यालय समयमा किन हुँदैनन् ? त्यसको किन अस्पताल प्रशासनले अनुगमन गर्न सकेको छैन ? भन्ने प्रश्नमा डा. पौडेलले कुन कर्मचारी कति समय अस्पतालमा बस्छ भनेर निगरानी गरेको जीकिर गरे । अबदेखि सेवा विस्तार, जोखिम, शैक्षिक लगायत भत्ता पाउनका लागि कार्यसम्पादन मूल्यांकलन पनि हेरिने उनको भनाइ छ ।

उनका अनुसार रातिको समयमा काम गरेका नर्सलाई घन्टाको आधारमा, चिकित्सकलाई अस्पतालले तोकेको समयबाहेक अप्रेशन गरेको अवस्थामा र बिदा वा चाडपर्वको बेलामा पनि काम गरेमा प्रोत्साहन भत्ता दिन उचित हुन्छ ।

‘कुन कर्मचारी कति समय अस्पताल बस्छ भनेर हामीले निगरानी गरिरहेका छौं । तर, अब जोखिमभत्ता पाउनका लागि कार्यसम्पादन मूल्याकंन पनि हेरिन्छ,’ डा. पौडेलले भने ।

औषधि बेचेको पैसा भत्तामै बाँडिन्छ

वीर अस्पतालमा पछिल्लो समयमा स्वास्थ्य बीमाबाट सेवा लिने सेवाग्राहीको चाप बढ्दो छ । अस्पताल प्रशासनका अनुसार हाल २ हजार ५०० भन्दा बढी ओपीडी सेवा लिनेमध्ये ७० प्रतिशतभन्दा बढी बिरामीले स्वास्थ्य बीमाको सुविधा लिइरहेका हुन्छन् ।

मुख्यतया औषधी र परीक्षण गरेबापतको पैसा स्वास्थ्य बीमा बोर्डले अस्पतालको खातामा एकमुस्ट हालिदिने गरेको छ ।

अस्पताल प्रशासनको तथ्यांक अनुसार स्वास्थ्य बीमा बोर्डले एक पटकमा ४ करोड दिँदा करिब ७० प्रतिशतको हाराहारीमा फार्मेसीबाट औषधि लगेको रकम तिनुपर्ने हुन्छ । तर अस्पतालका कर्मचारीले अस्पतालमा आम्दानी धेरै भएकाले तत्काल नै भत्ता खुवाउनका लागि अस्पताल प्रशासनलाई दबाब दिने गरेका छन् ।

अस्पताल प्रशासनका एक कर्मचारीका अनुसार फार्मेसीलाई अस्पतालले १६ करोड तिर्न बाँकी छ । ‘पटक-पटक स्वास्थ्य बीमा बाट आएको पैसा कर्मचारीलाई भत्ता दिँदै ठिक्क भएको छ,’ एक कर्मचारीले भने, ‘सामान्य मर्मत गर्न नसक्दा मेसिन बिग्रिएर बसेका छन् । तर कर्मचारी भत्ता नदिने बित्तिकै आन्दोलन गर्न थाल्छन् ।’

अस्पताल प्रशासनले १६ करोड मार्फेसीलाई दिन नसक्दा सप्लायर्सलाई पैसा दिन सकिएको छैन । वीरको फार्मेसीमा कार्यरत एक कर्मचारीका अनुुसार हाल ५०० थरी मात्रै औषधि उपलब्ध छ । ती कर्मचारीका अनुसार २०७८ सालमा भएको टेन्डरबाट किनिएको औषधि अहिलेसम्म बिक्री भइरहेको छ ।

‘अस्पताल फार्मेसीमा १ हजार १०० भन्दा बढी औषधि हुनुपर्ने हो । तर अहिले मुस्किलले ५ सय थरीका औषधि दिइरहेका छौं,’ ती कर्मचारीले भने, ‘अस्पताल फार्मेसीमा औषधि नहुँदा बिरामी बाहिरको फार्मेसीमा किन्न बाध्य छन् ।’

‘ठूलो आर्थिक संकट आउनसक्ने’

अस्पताल प्रशासनका एक कर्मचारीका अनुसार अब आन्तरिक आम्दानीले नै सेवा विस्तार लगायतका अन्य भत्ता खुवाउन सक्ने अवस्था छैन । अस्पतालले गरिरहेको आन्तरिक आम्दानी दुई हजारभन्दा बढी कर्मचारीलाई ५० प्रतिशत भत्ता दिनुपर्दा संस्थामा ठूलो आर्थिक संकट आउनसक्ने उनको भनाइ छ ।

उनका अनुसार आन्तरिक आम्दानीबाट उठेको सबै पैसा तलब, भत्तामा सकिने गरेको छ । ‘ल्याब, फार्मेसी, एक्सरे लगायतबाट कमाएको पैसा भत्तामा सकिन्छ । काम चलाउन मन्त्रालयसँग माग्नुपरेको अवस्था छ,’ ती कर्मचारीले भने, ‘अस्पताल अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ ।’

ती कर्मचारीका अनुसार वीर अस्पतालमा पछिल्लो समय ल्याब परीक्षण सेवा पनि नराम्रोसँग प्रभावित भएको पाइएको छ । ‘ल्याबका लागि रिएजेन्ट किन्न, एक्सरे, एमआरआई जस्ता मेसिनको सामान्य मर्मत गर्न सकिएको छैन,’ अर्का कर्मचारी भन्छन्, ‘पहिलो आम्दानी हुने क्षेत्रमा लगानी गर्न कसैको ध्यान हुँदैन । सबैलाई भत्ता खान नै हतार हुन्छ ।’

अस्पतालको सञ्चालनबाट बचेको पैसा प्रोत्साहन स्वरुप दिनुपर्ने भएतापनि पहिला कर्मचारीका लागि छुट्टाएर बाँकी रहेको पैसा अस्पताल सञ्चालनका लागि छुट्टाउन लाजमर्दो भएको ती उच्च कर्मचारी बताउँछन् ।

भगौडा कर्मचारी

वीर अस्पतालमा करिब १ हजार ६ सय हाराहारीमा कर्मचारी छन् । त्यसमध्ये ९५ प्रतिशतभन्दा बढी कर्मचारी निर्धारित समयमै अस्पतालमा पुग्छन् र बेलुका तोकिएको समयपछि मात्रै अस्पतालबाट बाहिर निस्किएको देखिन्छ । उक्त तथ्य हाजिरले पुष्टि गर्छ ।
तर सेवा सुरू भएको दुई–तीन घन्टाभित्रै केही विशेषज्ञ चिकित्सक, सिनियर नर्स र केही स्वास्थ्यकर्मी भने अस्पतालबाट गायब हुन्छन् । उनीहरू कार्यालय समय सकिनै लाग्दा अस्पताल आइपुग्छन् र हाजिर गरेर हिँड्छन् ।

अस्पताल प्रशासनका एक उच्च कर्मचारीका अनुसार यस्ता प्रवृत्ति भएका कर्मचारी करिब ३० प्रतिशतको हाराहारीमा छन् । ‘एक–दुई घन्टा काम गरेको जस्तो काम देखिन्छ । अधिकांश विभागका सिनियर चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई ११ बजेपछि भेट्न मुस्किल हुन्छ,’ ती कर्मचारीले अनलाइनखबरसँग भने, ‘अस्पतालमा तलब र जोखिम भत्ता खानका लागि मात्रै हाजिर गर्ने ट्रेन्ड बस्यो ।’

अस्पतालमा तोकिएको समय बिहान ८ः३० बजेदेखि बेलुका ४ः३० बजेसम्म हो । तर केही वरिष्ठ चिकित्सकहरु एक–दुई घन्टा अस्पतालमा देखिएर निजी अस्पताल, क्लिनिकमा पैसा कमाउने धन्दामा व्यस्त हुन्छन् । विशेषज्ञ चिकित्सक मात्रै होइन, यसरी काम ठग्ने प्रवृत्ति केही सिनियर नर्स र वर्षौदेखि अस्पतालमा हालीमुहाली चलाएर बसेका केही स्वास्थ्यकर्मी पनि छन् ।

अर्का एक उच्च कर्मचारीका अनुसार केही सिनियर चिकित्सकले आफ्नो सवारी साधन अस्पतालमा नराखी बाहिर कतै पार्किङ गरेका हुन्छन् । ‘बाहिर गाडी रोकेर आएपछि निस्किन सहज हुने भएकाले केही चिकित्सक, कर्मचारी अन्त कतै राखेर आउनुहुन्छ,’ ती कर्मचारी भन्छन्, ‘सरकारको नुन खाएर नै अस्पताल समयमा निजीमा गएर सेवा दिनु भनेको अपराध होइन र !’

ती कर्मचारीले भनेजस्तै वरिष्ठ चिकित्सकहरू निर्धारित समयभर अस्पतालमा उपलब्ध हुँदैनन् । अस्पतालमा बिरामीको चाप धेरैजसो बिहान साढे १० देखि १२ः३० बजेसम्म हुन्छ । त्यस्तै, दिउँसो साढे २ देखि साढे ३ बजेसम्म हुन्छ । आइतबार दिँउसो अनलानइखबरकर्मी अस्पतालका अधिकांश विभागमा पुग्दा केही सिनियर चिकित्सक मात्रै भेटिए ।

यसरी हेर्दा, मेडिकल अफिसर, छात्रवृत्तिका करार र सरकारी संस्थालाई बलियो बनाउनुपर्छ भनेर धैर्य राखेका न्यून संख्याका विशेषज्ञ चिकित्सकले वीरको सेवा धानिरहेका छन् ।

अस्पताल प्रशासनले कर्मचारीको हाजिर मात्रै हेर्छ । तर कर्मचारी काम गरेका छन् कि छैनन् कुनै अनुगमन हुँदैन । अस्पतालका एक उच्च कर्मचारी आफ्ना नाम नखुलाउने सर्तमा सिनियर चिकित्सक र हालमुहाली चलाएर बसेका केही स्वास्थ्यकर्मीदेखि अस्पताल प्रशासन नै निरीह हुने गरेको बताउँछन् ।

‘यस विषयमा अस्पताल प्रशासन जानकार नै छ । तर निरीह भएर नदेखेको जस्तो गरेर बसेको हुन्छ,’ ती कर्मचारीले अनलाइनखबरसँग भने, ‘बिरामीले सेवा लिन घन्टौं लाइन बस्नुपर्ने हुन्छ । तर स्वास्थ्यकर्मी भने सरकारी अस्पतालको नाम बेचेर निजीमा माल प्राक्टिस गरिरहेका छन् ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?