+

सोसल मिडियामा ‘भाइरल’ एन्जेलब्रेचको सुपरहिरो फिल्डिङ

२०८१ असार  ३ गते १५:१७ २०८१ असार ३ गते १५:१७
सोसल मिडियामा ‘भाइरल’ एन्जेलब्रेचको सुपरहिरो फिल्डिङ

३ असार, काठमाडौं । नेदरल्याण्ड्सलाई टी–२० विश्वकपको यात्रामा अगाडि बढाउन त सफल भएनन्, तर सेब्रान्ड एन्जेलब्रेच हजारौं क्रिकेट समर्थकको मन जित्न भने सफल भएका छन् ।

सोमबार बिहान समूह डीमा रहेको नेपालले बंगलादेशसँग खेलिरहँदा नेदरल्याण्ड्सले श्रीलंकासँग खेलेको थियो । नेपालले बंगलादेशलाई हराउने, अनि श्रीलंकालाई फराकिलो अन्तरले पराजित गर्ने हो भने नेदरल्याण्ड्स सुपर ८ मा पुग्नसक्थ्यो ।

त्यसैले सेन्ट लुसियामा पहिले ब्याटिङ गरेको श्रीलंकालाई कमभन्दा कम स्कोरमा रोक्न चाहन्थ्यो नेदरल्याण्ड्स । सुरुवाती दुई विकेट समयमै लिएको पनि थियो । तर श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हालेपछि श्रीलंकाको स्कोर १६ औं ओभरको समाप्तिमा १३४/४ भयो । अर्को ओभरमा टिम प्रिंगल आए ।

उनले पहिलो बलमा एक रन मात्र दिए । दोस्रो बल फूल टसमा आएपछि दायाँ खुट्टाको साइडबाट प्रहार गरे । प्रिंगलले बल फाल्दा एन्जेलब्रेच मिडविकेट क्षेत्रमा थिए । हावामा रहेको बल पछ्याउँदै उनी बाउन्ड्री छेउमा पुगे र सुपरहिरो शैलीमा उफ्रिए । एक हातले बल समाएका पनि थिए, तर आफू बाउण्ड्रीमाथि रहेको थाहा पाएपछि बललाई फाले र छक्का हुनबाट जोगाए ।

‘त्यहाँ सामान्य हावा चलेको थियो । उनले जब बल हिर्काए, त्यो कता जान्छ मैले अनुमान लगाइसकेको थिएँ’, उनले भने, ‘त्यसकारण मैले सक्दो गरेँ र केही हदसम्म भाग्यमानी रहेँ ।’

एन्जेलब्रेचको यो प्रयासले नेदरल्यान्ड्सलाई सपर एटमा पुर्‍याउन भने सकेन ।

यद्यपि त्यसबेलासम्म नेदरल्याण्ड्सको आश कायमै थियो । किनकि समूह डीबाट सुपर ८ को होडमा रहेको बंगलादेश नेपालसँग जितका लागि संघर्ष गरिरहेको थियो ।

तर नेदरल्याण्ड्सले अन्तिम ४ ओभरमा ६७ रन दियो, अनि बंगलादेशले १०७ रनको लक्ष्य पछ्याएको नेपालले लगातार विकेट गुमायो, डचको सम्भावना कमजोर बन्यो ।

‘हामी सक्दो राम्रो खेल्ने प्रयास गरेका थियौं । अर्को खेलमा के भइरहेको छ भन्ने हामीलाई उत्तिकै चासो थियो’, एन्जेलब्रेच भन्छन्, ‘जब हामी ब्याटिङमा थियौं, त्यतिबेला बंगलादेशको जित्ने सम्भावना बलियो देखियो । त्यसपछि हामी राम्रो खेल्ने र बाँकी भाग्यलाई छोड्ने मनसायमा पुग्यौं ।’

बंगलादेशले नेपाललाई ८५ रनमा अलआउट गर्दै २१ रनको जितका साथ सुपर ८ मा स्थान बनायो ।

श्रीलंकाले दिएको २०२ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स पनि १६.४ ओभरमा ११८ रनमै अलआउट भयो ।

‘म आफूलाई र आफ्नो टिमप्रति गर्व गर्छु । जब फिल्डिङको कुरा आउँछ, हामी विश्वकै बलियोमध्ये एक टिम हौं’, उनी भन्छन्, ‘हामीले फिल्डिङमा उत्तिकै मिहिनेत र समय खर्चिएका छौं । तर आजको नतिजा सोचेजस्तो भएन ।’

३५ वर्षे एन्जेलब्रेचले नेदरल्याण्ड्सको टिममा डेब्यू गरेदेखि नै विश्वकै अग्रणी फिल्डरको रूपमा आफूलाई उभ्याएका छन् । यसलाई उनले दक्षिण अफ्रिकाविरुद्धको यू–१९ विश्वकपबाटै आफूलाई प्रमाणित गर्दै आएका छन् ।

नेदरल्याण्ड्सका कप्तान स्कट एडवाड्र्सले सुपर ८ मा पुग्न नसकेको नमिठो क्षण सम्झन नचाहने प्रतिक्रिया दिएका छन् ।

‘हामी आफैंले गर्दा दक्षिण अफ्रिका र बंगलादेश थप बलियो देखिए, तीनवटा खेल हामीले अपेक्षित खेल्न सकेनौं’, उनले भने, ‘हाम्रो बलिङ, ब्याटिङ र फिल्डिङ अझै सुधार आवश्यक देखेका छौं ।’

टी-२० विश्वकप नेदरल्याण्डस सेब्रान्ड एन्जेलब्रेच
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय