+

मेनिया रोगको कारण र उपचार

२०८१ असार  ३ गते १६:२३ २०८१ असार ३ गते १६:२३
मेनिया रोगको कारण र उपचार

मानसिक तथा शारीरिक रुपमा अति सक्रियता, व्यवहार अव्यवस्थित र सोचाइमा अत्याधिक वृद्धि भएर देखिने उत्तेजना मेनिया अर्थात् उन्माद हो । यो एक प्रकारको मानसिक रोग हो, जसलाई चिन्ता र डिप्रेसनको रोगअन्तर्गत वर्गीकरण गरेको पाइन्छ । यो रोग लागेपछि व्यक्तिको भावना तथा संवेग असामान्य रुपमा परिवर्तन हुन गएर व्यक्तिको व्यवहार, सोच, निद्रा तथा सामाजिक अन्तरसम्बन्ध असन्तुलित देखिन थाल्छ ।

डिप्रेसन निराशा हो भने मेनिया त्यसको ठीक उल्टो उत्तेजना र खुसी हो । यस रोगमा विना कारण मानिस खुसी हुने, हाँस्ने, धेरै बोल्ने, नाच्ने र गीत गाउने जस्ता कुनै क्रियाकलाप गरिराख्न मन पराउँछन् । त्यस्तै एक्कासि रिसाउने, धैर्य गर्न नसक्ने र यौनेच्छा बढी हुनेजस्ता लक्षण पनि देखापर्छ । यो सबै मान्छेमा हुन्छ, जस्तै- मुड स्वीङ वा अत्याधिक मन पराउनु । यसले दैनिक जीवनमा कुनै पनि नकारात्मक असर पारेको छैन भने यसलाई सामान्य रुपमा लिन सकिन्छ तर व्यक्तिगत र व्यावसायिक जीवनमा कम्तीमा ६ महिना अघिदेखि असर गरेको छ भने यसलाई मानसिक रोगका रुपमा लिइन्छ ।

मेनियामा देखिने लक्षण

– अधिक आत्मसम्मान र महत्वाकांक्षी सोचाइ भावना घरीघरी आउने तर लक्ष्य प्राप्त गर्न मेहनती नदेखिनु

– एक्कासि आवेगमा आउनु

– यौन व्यवहारमा असामान्य हुनु

– यस्तो सोचाइ र विचार आउने जसले गर्दा मैले त नसुते नि हुन्छ वा धेरै ननिदाउने

– असामान्य रूपले कुरा गर्ने (गफाडी हुने)

– मनमा धेरै कुरा खेलिरहने

– अधैर्य हुने, ठूला-ठूला कुरा गर्ने तर सारमा केही पनि गर्न नसक्ने हुन्छ । यदि अवसाद अर्थात् मेनिया वाइपोलारले गर्दा व्यक्ति कडा खालको मानसिक रोग (सायकोटिक) पुग्न सक्छ । तसर्थ समयमै यसको उपचार गर्न आवश्यक हुन्छ ।

मेनिया कसरी हुन्छ ?

यो जैविक, वंशाणुगत र मनोसामाजिक कारणले हुने गर्छ ।

जैविक कारण : जैविक कारणमा दिमागमा असन्तुलित न्युरोट्रान्समिटर रसायनको अवस्थालाई मानिन्छ । यसमा मस्तिष्कको हाइपोथलामसमा समस्या हुँदा मेनिया भएको देखिन्छ । यसलाई सन्तुष्टिको केन्द्र पनि भनिन्छ । त्यसमा गडबडी हुँदा सन्तुष्ट हुनसक्दैन र यसबेला मस्तिष्कमा डोपामाइन न्युरोट्रान्समिटर बढी निस्किरहेको हुन्छ भने सेरोटोनिनको स्तर न्यून हुन्छ, जसले त्यही कुरा बारम्बार गरिराख्न मन लाग्ने र आनन्द आउने हुन्छ । परिवारमा कसैलाई मेनिया रोग इतिहास भएको अवस्थामा पनि त्यसपरिवारका अन्य सदस्यलाई मेनिया हुने जोखिम हुन्छ ।

मनोसामाजिक कारण : बाइपोलार भएको व्यक्तिमा यो रोग लाग्ने गर्छ । त्यस्तै सिजनल मुड रोग लागेका व्यक्ति, डिमेन्सिया भएका व्यक्ति, नजिकका आफन्तको एक्कासि मृत्यु, पारपाचुके, शारीरिक र मानसिक आघात भएमा, मस्तिष्कमा चोटपटक लागेमा यो रोग लाग्न सक्छ ।

मेनियाका प्रकार

मेनियाका धेरै प्रकारहरु हुन्छन्, जसमध्ये हाइपोमेनिया, डिलेरियस मेनिया र डिलुजनल मेनिया मुख्य हुन् । हाइपोमेनिया : यो व्यक्तिको त्यस्तो अवस्था हो, जहाँ व्यक्तिले आफ्नो दैनिक र व्यावसायिक दिनचर्या तरिकाले समायोजन गर्दै गरेका देखिन्छन् । यो अवस्थामा व्यक्तिले आफ्नो सोचाइ र व्यवहारमा केही परिवर्तन भएको महसुस गर्न सक्छ ।

डिलेरियस मेनिया : यो अवस्थामा व्यक्ति एकदमै द्विविधाग्रस्त देखिन्छ । यो अवस्थामा तुरुन्तै उपचारको आवश्यकता पर्न जान्छ ।

डिलुजनल मेनिया : यो अवस्थामा व्यक्ति निकै भ्रममा रहेको हुन्छ । जसले गर्दा उसको सामाजिक सम्बन्धहरु एकपछि अर्को गरी बिग्रिंदै जाने, पारिवारिक, वैवाहिक सम्बन्धमा समस्या आउने, यदि कुनै कुरामा उसले भनेको कुरा गलत हो भनी देखाएमा सत्यता नभएमा रिसाउने, स्वीकार नगर्ने र ‘ममा मात्र असाधारण क्षमता छ’ भनेर अरुलाई नटेर्ने, आफ्नै दुनियाँमा रहने हुन्छ ।

उपचार

मेनियाको उपचारका लागि कग्निटिभ बिहेभियर थेरापी (सीबीटी) अपनाइन्छ । यसले बिरामीको डिप्रेसन तथा उत्तेजनालाई नियन्त्रण गर्न मद्दत गर्छ । त्यस्तै कतिपय अवस्थामा स्वहेरचाह र पारिवारिक चिकित्सा पद्दति पनि अपनाउनुपर्छ ।

कसलाई जोखिम हुन्छ ?

यो मानसिक समस्या जुनसुकै अवस्था र उमेरमा सुरु हुनसक्छ । विशेषगरी १५ देखि २५ वर्षको उमेरका व्यक्तिलाई यो समस्या धेरै देखिन्छ । किशोरकिशोरीमा मेनियाको समस्या निकै देखिन्छ ।

पूर्ण रुपमा निको हुन्छ ?

सामान्य खालको मेनिया हो भने ६ महिनादेखि तीन वर्षको अवधिमा निको हुन्छ । तर फेरि फर्किने सम्भावना पनि उत्तिकै हुन्छ । व्यक्ति, उसको वातावरण (परिवार, पेशा)को लेखाजोखा गरेर रोगको रोकथाम गर्न सकिन्छ तर कतै असमायोजन भएमा भने पुनः बल्झिने सम्भावना हुन्छ ।

मानसिक स्वास्थ्य मेनिया
पदमराज जोशी
लेखक
पदमराज जोशी
मनोविद्

जोशी द स्कुल अफ साइकोलोजी नेपालका संस्थापक अध्यक्ष हुन् । उनले मानसिक स्वास्थ्य तथा मनोविज्ञानमा विद्यावारिधि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय