+

फ्रान्सको संघर्षपूर्ण जित, एमबाप्पेलाई चोट

२०८१ असार  ४ गते ८:१७ २०८१ असार ४ गते ८:१७
फ्रान्सको संघर्षपूर्ण जित, एमबाप्पेलाई चोट

४ असार, काठमाडौं । युरो २०२४ को दाबेदारमध्ये एक टोली फ्रान्सले पहिलो खेलमा अष्ट्रियाविरुदध संघर्षपूर्ण जित हात पारेपनि कप्तान केलिएन एमबाप्पेको चोट चिन्ताको विषय बनेको छ ।

समूह डी अन्तर्गत डुसेलडोर्फ एरेनामा गएराति भएको खेलमा फ्रान्सले आत्मघाती गोल मद्दतमा अष्ट्रियालाई हराएर सुरुआती ३ अंक जोड्यो । नाकमा चोट लागेर मैदान बाहिरिनुअघि एमबाप्पेल उत्कृष्ट प्रदर्शन गरेका थिए ।

३८औं मिनेटमा एमबाप्पेको प्रहार बचाउने क्रममा अष्ट्रियाका म्याक्स वोरले आत्मघाती गोल गरेका थिए । तर फ्रान्सलाई ३ अंक दिलाउन सहयोग गरेका एम्बाप्पे आफैँ नाकमा चोट लागेपछि मैदान बाहिरिनु परेको थियो ।

अष्ट्रियाका डिफेण्डर केचिन डान्सोको कुहिनोमा एमबापप्को नाक ठोक्किएपछि उनको नाकबाट रगत नै आएको थियो । त्यसपछि २५ वर्षीय एमबाप्पेलाई केही उपचार गरियो र उनी मैदान बाहिर आए । उनको स्थानमा फ्रान्सले ओलिभर जिरुडलाई मैदान पठाउने तयारी गरेको थियो ।

तर एमबाप्पे स्वीकृतिबिना नै मैदान प्रवेश गरेपछि उनलाई पहेँलो कार्ड देखाइयो । त्यसपछि ९०औं मिनेटमा एमबाप्पेको स्थानमा जिरुड मैदान प्रवेश गरेका थिए । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले एमबाप्पेको अवस्था राम्रो नरहेको बताएका छन् ।

‘उनको अवस्था ठिक छैन । उनको नाकमा ठूलो चोट लागेको छ,’ डेसच्याम्पले पोष्ट म्याच कन्फेरेन्समा भने, ‘यो कस्तो छ भनेर हामीले परिक्षण गर्नुपर्नेछ । जुन हाम्रो लागि दर्भाग्य हो ।’

फ्रान्सका लागि ८० खेलमा ४७ गोल गरिसकेका एमबाप्पे पहिलो पटक युरो उपाधि जित्ने लक्ष्यमा छन् । उनी फ्रेन्च टिमको मुख्य खेलाडी र कप्तान समेत हुन् । एमबाप्पेले सन् २०१८ मा फ्रान्सबाट फिफा विश्वकप जितिसकेका छन् । २०२२ को विश्वकप फाइनलमा भने फ्रान्स अरज्नेटिनासँग पराजित हुँदै उपविजेता बनेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय