+
+

मण्डलामा पुष्पण अनि सारथीको एकल साँझ ‘कथा भन्ने, गाउने’ (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १३:१४

काठमाडौं । मण्डला थिएटरको चिटिक्क परेको प्रेक्षालय सामान्यतया नाटक हेर्न आउने दर्शकले भरिभराउ हुन्छ । तर सोमबार साँझ त्यहाँ भिन्न दृश्य देखियो । पूरै प्रेक्षालय संगीतप्रेमीहरुले खचाखच थियो । कारण थियो, गामबेसी, श्रमजीवी र समाजका कथा गीतमार्फत भन्ने गायक पुष्पण प्रधान अनि सारथीको एकल साँझको ।

जसै साँझको ६ बजेर २० मिनेट गयो, आफ्ना सारथीहरु अर्थात् सात जनाको वाद्यवादन टोलीसँगै दर्शकलाई अभिवादन गर्दै स्टेज उक्लिए पुष्पण । भन्दै थिए, ‘मलाई मैले सोचेको जस्तो कार्यक्रम गर्न जीवनको ४५ वर्ष र संगीतको २२ वर्ष लाग्यो । आजको यो साँझ मेरो जीवनको अविस्मरणीय पल बनेर रहनेछ ।’

दर्शक-श्रोता शान्त तर उत्सुक भएर बसिरहेका थिए, ‘पुष्पण अनि सारथी’ मर्मस्पर्शी गीत सुन्न । दर्शकलाई केही समय कुराएकोमा क्षमा माग्दै पुष्षणले सुरु गरे आफ्नो जीवनकै प्रतीक्षित एकल साँझ- ‘पन्छी : कथा भन्ने, गाउने ।’

कन्सर्टको सुरुवात उनले केही समयअघि मात्रै सार्वजनिक गरेको गीत ‘कमाने आमा’बाट गरे । यो गीतको कथा र पृष्ठभूमिबारे सुनाउँदै गीत प्रस्तुत गर्दा दर्शक-श्रोता थप भावुक बने । गीतमा एउटी श्रमजीवी आमाले आफ्ना सन्तानका लागि गरेका संघर्षका कथा छन् । गीत सकियो, चुपचाप सुनिरहेका दर्शकहरुले ‘वाह’ भन्दै तालीको गडगडाहट दिए ।

पुष्पण अनि सारथीको कन्सर्टको थिम नै थियो- कथा भन्ने गाउने । त्यसैले उनी हरेक गीत गाउनुअघि र गाइरहँदा त्यसको कथा र तयार पार्दाको पृष्ठभूमिबारे बताइरहन्थे । यसले गीतको मर्म बुझ्न थप मद्दत गरेको थियो ।

‘कमाने आमा’पछि पुष्पणले लगातार केही पन्ना, रोटी, लुटी ल्यायो, ठूल्दाजु गीत सुनाए । त्यसपछि पालो आयो ‘बाबुको जुँगो’को । यो गीत पुष्पणका लागि खास छ । किनभने नेपाल आइडल सिजन २ मा प्रतिस्पर्धी अमित बरालले गाएपछि यो गीतको चर्चा चुलिएको थियो । सोमबार साँझ पनि उनले यो कुरा बाँडे । त्यसैले स्टेजमै बोलाए अमित बराललाई अनि सँगै गाए- सामाजिक यथार्थ बोकेको गीत ‘बाबुको जुँगो’ । गीत गाइरहँदा अमितको प्रशंसामा पुष्पण भन्दैथिए, ‘अमित तिमी जीवनमा नआइदिएको भए, म यस्तै पुष्पण हुनसक्थें कि सक्दिनँ थिएँ थाहा छैन ।’

पुष्पणलाई लाइभ ब्यान्डमा उनका सारथीहरु जोनी योन्जन तामाङ (गिटार), प्रणाम क्षेत्री (बेस गिटार र बेन्जो), प्रीतम क्षेत्री (बाँसुरी र हार्मोनिका), सुजोश मास्के (तबला र मादल), केवल प्रधान (ढोलक), ललित खाती (किबोर्ड) र आकाश बुढाथोकी (ड्रम र धिमे)ले साथ दिएका थिए । गीत गाइरहँदा आफ्ना सारथीहरुलाई आत्मीय ‘धाप’ दिन पनि उनी भ्याइरहेका थिए ।

पुष्पणले बडो चिसो छ सहर, इन्दुरे मिन्दुरे, सुन रे सियाराम प्रस्तुत गरे । यी तीनै गीतको आ-आफ्ना कथा र भाव छन् । ‘सुन रे सियाराम’ले एक मजदूर युवतीको कथा भन्छ । जुन गीतको पृष्ठभूमि बताउँदै गर्दा श्रोताहरु निकै भावुक बने ।

पुष्पण दर्शकदीर्घामा रहेका अग्रजहरुको पनि पालैपालो नाम लिंदै सम्मान व्यक्त गरिरहेका थिए । अग्रज संगीतकर्मीहरुलाई स्टेजबाट अभिवादन गर्ने क्रममा उनीहरुकै सिर्जनालाई एक टुक्रा गाएर प्रस्तुत गरिरहेका थिए । यसैबीच, उनले भजनशिरोमणि स्वर्गीय भक्तराज आचार्यप्रति सम्मान व्यक्त गर्दै उनका दुई छोरा सत्य-स्वरुपलाई स्टेजमै आमन्त्रण गरे र आफ्ना बुवाको कालजयी गीत ‘जहाँ छन् बुद्धका आँखा’को केही लाइन गाइदिन अनुरोध गरे । सत्य-स्वरुपले आफ्नो उही अन्दाजमा यो गीतका केही लाइन गाएर माहोललाई थप मन्त्रमुग्ध बनाइदिए ।

कार्यक्रमको उत्तरार्धतिर पुग्दै लाग्दा पुष्पणले साहित्यकार कुमार नगरकोटीको शब्दमा भर्खरै मात्रै रेकर्ड भएको गीत ‘ओ फकीरा’ सुनाए । अनि सबैलाई धन्यवाद भन्दै पुष्पण अनि सारथीले एकल साँझलाई बिट मारे, पुष्पणको सिग्नेचर सङ ‘पन्छी’ गाएर ।

‘पन्छी’ गाउनुअघि पुष्पणले भने, ‘यो गीत तयार पार्दाको कथा बेग्लै छ । रेडियोमा नेपालका दिग्गज कलाकारका गीत सुन्थें । तर यस्तो समय आयो मैले सुनिरहेका कलाकारहरु भटाभट विदेशिरहुनभएको थियो । अब त उहाँहरुका गीत सुन्न पाइँदैन कि क्या हो भन्ने लाग्यो । अनि यो गीत बनेको थियो । पछि नेपाल आउँदा त यो घरघरको कथा पो रहेछ । पछि केही शब्द पनि थपेको थिएँ ।’

एक हिसाबले सोमबार साँझको पुष्पण अनि सारथीको कन्सर्ट अन्यभन्दा पृथक रह्यो । गायक दाजुभाइ सत्य-स्वरुप भन्दैथिए, ‘बुवा (भक्तराज आचार्य)ले गायक कवि पनि हुनुपर्छ भन्नुहुन्थ्यो । पुष्पणलाई आजको कार्यक्रम हेरेपछि कवि गायक भन्न मन लाग्यो ।’

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?