+
+

संसदमा रविलाई प्रश्न : ‘सिंहको मुटु’ भएको तपाईं किन सुतिरहनुभएको छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १८:१८

४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमा सरकारबाहिर रहँदाजस्तो हुटहुटी अहिले नदेखिएको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा गृह मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सुरुमै भने, ‘गृहमन्त्रीमा हुटहुटी छ । तपाईंको हुटहुटीले नि काम गरेन ।’

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्ने प्रतिवद्धता गृहमन्त्रीले गरेको तर, कार्यान्वयन नभएको उनले सम्झाए ।

सहकारी पीडितहरु आन्दोलनमा रहेको तर, धेरै सहकारीको वचत रकम हिनामिना गर्ने जिबी राईलाई नियन्त्रणमा लिन सरकार असफल भएको भनेर थानीले प्रश्न उठाए ।

‘आज जिबी राई चर्चाको विषय छ । उहाँ गोर्खा मिडिया र सहकारीबाटै चर्चामा हुनुभयो’, सांसद थानीले भने, ‘२०८० चैत १० गते गृहमन्त्रीले जिबी राई आकाश हो कि पाताल जहाँ भएपनि हो समातोर ल्याउँछु भन्नुभएको थियो । त्यो याद छ कि छैन ?’

२०८१ वैशाख २९ गते भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जिबी राईलाई अघिल्लो सरकारले भगाएको भनेर गरेको टिप्पणीमाथि समेत थानीले प्रश्न उठाए ।

‘जिबी राईलाई अघिल्लो सरकारले भगाएको हो भन्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो । उहाँ तपाईंको अगाडि हुनुहुन्छ । कसरी भगाउनुभयो ?’, थानीले प्रश्न गरे, ‘५० दिनमा भाषा चेञ्ज गर्नुभयो । यस्तै तरिकाले मुलुक चल्छ, यही तरिकाले गृह मन्त्रालय चल्छ ?’

गृहमन्त्रीले तीनवटा फाइल खोले नेताहरु जेलमा हुने, संसदमा नहुने भनेर दिएको अभिव्यक्तिमाथि समेत सांसद थानीले प्रश्न गरे ।

‘तपाईंकै भाषा प्रयोग गरेको छु, तीन वटा फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन्, संसदमा हुँदैनन् भन्नुभयो तपाईंले । मुटु सिंहको जस्तो हुनुपर्छ फिस्टाको जस्तो होइन भन्नुभयो । तीनवटा फाइल के हो ? तपार्इंको शक्तिले भ्याउँछ कि भ्याउँदैन ?’, उनले सोधे ।

फाइल खोल्न किन ढिलो गरेको भन्ने उनको प्रश्न छ । ‘किन ढिलो गर्नुभएको छ फाइल खोल्न, अरुलाई फिस्टाको मुटु भन्नुहुन्थ्यो, तपाईं सिंहको मुटु भएको मान्छे के कारणले सुतिरहनुभएको छ अहिले ?’

उनले अगाडि भने, ‘कि भन्नुस् म सिंह हुँ, म सुतिराख्या छु उठेपछि जे पनि गर्छु ।’

गृहमन्त्रीले कांग्रेसलाई धम्क्याउन खोजेको आशंका गर्दै उनले धम्क्याउन छाडेर भ्रष्टाचार र अनियमितताका फाइलहरु खोल्न आग्रह गरे ।

सांसद थानीले गिरीबन्धु टी इस्टेटको जग्गा घोटालाको अनुसन्धान गर्न सक्नुहुन्छ भनी गृहमन्त्रीलाई प्रश्न गरे ।

‘गिरीबन्धु टि इस्टेटको छानबिन गर्न तपाईंको सिंहको मुटु छ ? सक्नुहुन्छ त्यसमा तपाईंले ? क्यान्टोनमेन्टको घोटालाको बारेमा तपाईं छानबिन गर्न सक्नुहुन्छ ? ओम्नी र यतीको बारेमा तपाईं छानबिन गर्न सक्नुहुन्छ ?’ थानीले सोधे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?