+
+

पुर्ख्यौली पेशा जोगाउन जुटे गोरखाका कुमाल समुदाय

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १५:१८

४ असार, गोरखा । सिरानचोक गाउँपालिका–४ चोरकाटेका भेषबहादुर कुमाल आफ्नो बाउबाजेले माटाका भाँडाकुँडा बनाएको कहिल्यै थाहा पाएनन् । जिजुबाजेको पालामा बनाउने गरेको सुनेका उनी पनि आफ्नो पुर्ख्यौली पेशामा संलग्न भएनन् ।

जब गाउँपालिकाले गाउँमा माटाको भाँडा बनाउने तालिम सञ्चालन गर्‍यो, उनलाई तालिम लिन इच्छा लाग्यो । ४५ दिनको तालिम लिएपछि उनी सँगै तालिम लिएकाहरुसँग मिलेर माटाको भाँडा बनाउने उद्योग खोल्ने योजनामा छन् ।

‘चोरकाटे माटाको भाँडाकुँडाका लागि प्रख्यात भएपनि यहाँका स्थानीय कुमाल समुदायले कहिल्यै बनाएको थाहा पाइएन, बरु भक्तपुरबाट आएका प्रजापतिहरुले बनाएर बेचे, पैसा पनि कमाए’, भेषबहादुरले भने ।

तालिममा सहभागी सबै मिलेर उद्योग खोल्ने योजना बनाएको उनले बताए । ‘सम्भव भए तालिममा सहभागी सबै मिलेर उद्योग खोल्छौ, नभए जति जना जोडिन चाहनुहुन्छ उहाँहरुलाई मिसाएर काम अघि बढाउछौं’, उनले भने ।

उनीहरुसहित चोरकाटेका कुमाल समुदायलाई लक्षित गरी माटाको भाँडा बनाउने तालिम सञ्चालन भएको थियो । गण्डकी प्रदेशको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भएको तालिममा ४० जना सहभागी थिए ।

४५ दिनसम्म चलेको तालिममा कालो माटोको पाला, गमला, कचौरा, कप, खुत्रुके, सुराही, मूर्ति, धुपौरो, ठेकी, हाडी लगायतका सामग्री बनाउन सिकाइएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए ।

सोमबार तालिमको समापन कार्यक्रममा बोल्दै उनले उत्पादित माटाको भाँडाकुँडाको बजार व्यवस्थापनमा पालिकाले सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।

‘चोरकाटेमा करिब दुई सय घरधुरी कुमाल समुदाय छन्, उनीहरुको पुख्र्याैली पेशा जर्गेना गर्न हामीले यो तालिम ल्याएका हौं’, उनले भने, ‘तालिममा सिकेको सीपले उहाँहरुको आयआर्जनमा पनि सघाउ पुर्‍याउँछ भन्ने विश्वास लिएका छौ ।’

तालिम समापनको अवसरमा दुई सर्वोकृष्ट सहभागी पुनम कुमाल र सञ्जु कुमाललाई नगद १५ हजारका दरले पुरस्कृत गरिएको छ । उनीहरुलाई अमर प्रजापतिले माटाका भाँडाकुँडा बनाउन सिकाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?