+
+

त्रिवि प्राध्यापक संघको चुनाव हुनेमा संशय 

नुनुता राई नुनुता राई
२०८१ असार ४ गते १६:००

४ असार, काठमाडौं । प्राध्यापक तथा शिक्षकहरूको विवादका कारण त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ (टुटा) को निर्वाचन फेरि स्थगित हुने सम्भावना बढेको छ ।

निर्वाचन समितिले असार ७ र ८ गते अधिवेशन तोक्दै कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर प्रतिनिधि छनोटको विवाद अझै कायम रहेकाले निर्धारित मितिमा निर्वाचन हुनसक्ने सम्भावना कम रहेको प्राध्यापकहरू बताउँछन् ।

किनकि पछिल्लो समय यो विवादले पटक-पटक अधिवेशन प्रभावित भएको छ । तीन वर्षे कार्यकाल हुने केन्द्रीय समितिले २०७५ यता निर्वाचन गराउन सकेको छैन ।

वैचारिक संघहरूको कारण करिब ६ वर्षदेखि निर्वाचन हुन नसकेको प्राध्यापकहरू बताउँछन् । त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकाल विगत दुई वर्षदेखि चुनाव गराउन भनेर लागिरहे पनि विवादका कारण रोकिरहेको बताउँछन् ।

चुनाव किन हुन सकिरहेको छैन ?

त्रिवि प्राध्यापक केन्द्रीय समितिको निर्वाचन २०७५ सम्म नियमितजस्तै भएको थियो । त्यसपछि मंसिरमा २०७८ हुनुपर्ने थियो । तर त्यो बेला अधिवेशन नै हुन सकेन ।

फागुन २०७९ सालमा निर्वाचन समिति बन्यो तर अधिवेशनको मिति तय भएन । निर्वाचन समितिले एकै पटक ७, ८ र ९ मंसिर २०८० मा अधिवेशन गर्ने मिति तोक्यो । त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पस तथा ४ वटा अनुसन्धान केन्द्रमा एकाइ अधिवेशन भयो । एकाइ समितिले केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छनोट गर्‍यो । तर प्रकृयागत रूपमा प्रतिनिधि छनोट नभएको भन्दै उजुरी परेपछि मंसिर २०८० को चुनाव हुन सकेन ।

विश्वविद्यालय क्याम्पस कीर्तिपुर, त्रिचन्द्र क्याम्पस, सानोठिमी क्याम्पस भक्तपुर र जनकपुरको राराब (रामस्वरुप रामसागर बहुमुखी) क्याम्पस लगायतको प्रतिनिधि छनोटको विषयमा उजुरी परेको थियो । यसलाई लिएर प्राध्यापक तथा शिक्षकहरुले चुनाव गराउन लागेको निर्वाचन समिति (शंकरदेव क्याम्पस)को कक्षमा ताला लगाएपछि चुनाव स्थगित भएको थियो ।

त्योबेला राराब क्याम्पस, जनकपुरको इकाइ अधिवेशन नभएकाले प्रतिनिधि छनोट हुन सकेको थिएन ।

सानोठिमी र विश्वविद्यालय क्याम्पसमा प्रतिनिधि छनोट प्रकृयाको वैधतामा प्रश्न उठेको र त्रिचन्द्र क्याम्पसका एकाइ अध्यक्ष र सचिवले फरक फरक प्रतिनिधि नामावली पठाएपछि निर्वाचन समितिले नामावली प्रकाशन नगर्दै समिति रहेको कक्षमा असन्तुष्ट प्राध्यापक तथा शिक्षकले ताला लगाएका थिए ।

विवाद बढ्दै गएपछि प्राध्यापक संघका तत्कालीन महासचिव केशवप्रसाद शर्माको संयोजकत्वमा तीन सदस्यीय विवाद समाधान समिति गठन भयो । त्यो समितिले पनि विवाद समाधान गर्न सकेन । समितिले प्रयास गर्दा पनि केही समूहले चुनाव नहोस् भन्ने नियत राख्दा सम्भव नभएको उनको आरोप छ ।

शर्माले अवकाश पाएपछि सचिव अजय कुमार पौडेललाई जिम्मेवारी हस्तान्तरण गरे । राराबमा ५ असारमा साधारण सभा गरेर प्रतिनिधि छनोट गर्ने तयारी गरेको छ, अरूको विवाद मिलेको छैन । अहिले त अरू क्याम्पसमा पनि लोकतान्त्रिक प्रकृया नअपनाई प्रतिनिधि तोकिएको र उनीहरूलाई मानेर निर्वाचन हुन नसक्ने प्रतिक्रिया आएको एक पदाधिकारी बताउँछन् ।

पृथ्वीनारायण क्याम्पस पोखराका एकाइ अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि डा.लक्ष्मीशरण अधिकारी पनि विवाद भएका क्याम्पसहरूमा विवाद मिलेको वा नमिलेको भन्ने स्पष्ट नपारी निर्वाचन समितिले मिति घोषणा गरेको बताउँछन् । भन्छन्, ‘कतिपय क्याम्पसमा साधारण सभा समेत नगरी आफूखुशी प्रतिनिधि छनोट गरिएको भन्ने विवाद छ, त्यसैले फेरि पनि चुनाव हुन सक्ने सम्भावना कम छ ।’

विश्वविद्यालय क्याम्पस कीर्तिपुरका प्रतिनिधि सह–प्राध्यापक केशव पौडेल पनि निर्वाचनको अवसर नदिएर सर्वसम्मतबाट प्रतिनिधि चुनिएको बताउँछन् । उनी भन्छन्, ‘विधानले प्रष्ट निर्वाचनबाट प्रतिनिधि पठाउने तोकेको छ, तर निश्चित व्यक्तिहरू बसेर चुनाव गराउनुपर्दैन हामी पाँच जनाले टुंग्याउँछौं भनेर पाइन्छ र ? सर्वसम्मतले पनि यो पनि अपराध गर्ने कानुनले छुट दिँदैन ।’

टुराका पूर्व महासचिव संयोजक केशवराज शर्मा भने प्रजातान्त्रिक प्राध्यापक संगठनको आन्तरिक द्वन्द्वका कारण चुनाव प्रभावित भइहरेको बताउँछन् । ‘प्रतिनिधि भएर आएपछि प्रकृया नपुगेको भनेर विवाद झिके । मिलेर जाउँ प्राज्ञिक संस्थामा झगडा नगरौं भनेको मान्नु भएन साथीहरूले’ उनले भने, ‘त्यो पनि प्रजातन्त्रवादीहरूकै बीचको झगडाले हो, अरू वैचारिक संगठनको यसमा दोष छैन ।’

के छ प्रतिनिधि छनोट गर्ने व्यवस्था ?

त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पस र ४ वटा अनुसन्धान केन्द्र छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको अधिवेशनका लागि सबैबाट १० जना प्राध्यापक बराबर १ जना प्रतिनिधि चयन हुने विधानमा व्यवस्था छ ।

४० क्याम्पसमा विधानले व्यवस्था गरेको प्रकृया नअपनाई कांग्रेस, एमाले र माओवादीका नेताहरू मिलेर एकाइबाट आफूले इच्छाएका नाम पठाइदिएको भन्दै विरोध भइरहेको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघका महासचिव राजेन्द्र गौतम भने विवाद यथावत रहेको सार्वजनिक गरिएको कार्यतालिकाप्रति असहमति रहेको बताउँछन् । उनले ‘गत वर्षको मंसिरमा जे कारणले चुनाव स्थगित भएको थियो, त्यो अझै सम्बोधन भएको छैन ।’

प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना र प्रगतीशील प्राध्यापक संगठनका अध्यक्ष बेदराज केसीले त्रिवि पदाधिकारी हुन खोजेको र त्यसमा सफल नभएपछि अहिलेका त्रिवि पदाधिकारीहरूलाई अप्ठ्यारो पार्नको लागि जबरजस्ती टुटाको चुनाव गराउन खोजेको उनको आरोप छ ।

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरका सह–प्राध्यापक केशव पौडेल प्रतिनिधि चुनिएकामध्ये ४ जनाको मृत्यु भएको छ भने २२ जनाले अनिवार्य अवकास पाएकाले पनि प्रतिनिधिको वैधताबारे प्रश्न उठेको बताउँछन् । भन्छन् ‘अधिकांश ठाउँमा प्रकृया नपुर्‍याइ प्रतिनिधि तोकिएकाले वैधताबारे प्रश्न उठाएका हौं ।’

निर्वाचन समितिका अध्यक्ष भट्टराई भने प्रतिनिधि चयन भइसकेकाले विरोध गर्नुको अर्थ नहुने बताउँछन् । उनले अगाडि भने, ‘९ मंसिर २०८० मा हुने भनिएको चुनाव विशेष कारणले स्थगन भए पनि चुनावको लागि प्रतिनिधि चयन भइसकेको थियो । प्रकृया तीनै हुन्, त्यसैले यसमा प्रश्न गर्ने ठाउँ छैन ।’

७ गते सिनेट प्रतिनिधि चुनाव

७ असारमा त्रिवि सभासदको निर्वाचन पनि हुने भएको छ । त्रिवि सभामा प्राध्यापकहरूबाट ५ जना जान पाउने व्यवस्था छ ।

५ जना सिनेट प्रतिनिधि छनोट गर्न प्रा.डा.रामचन्द्र अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । बरिष्ठ प्राध्यापकमध्येबाट पठाइने सभासद निर्वाचित गर्नका लागि एकाइ अध्यक्ष र सचिवले निर्वाचन गर्नुपर्ने हुन्छ ।

६२ आंगिक तथा ४ अनुसन्धान केन्द्र गरेर ६६ एकाइका अध्यक्ष तथा सचिव गरेर १३२ मतदाताले चुनेर पठाउने गरेका छन् । तीन वर्षे कार्यकाल हुने सभासद पदको नियमित निर्वाचन हुन नसकेको र अघिल्लो कार्याकालमा चुनिएकाहरु पनि अनिवार्य अवकाश भएपछि स्थान खाली भएको छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?