+
+
ब्लग :

प्रधानमन्त्रीज्यू आउनुहोस् पब्जी खेलौं ! 

भर्चुअल रियालिटी, एआई र मेटाको जमाना छ– कुन दिन पब्जी जित्नेले चुनाव जित्ने दिन आउने हो के थाहा ? 

डा. विष्णुप्रसाद जोशी डा. विष्णुप्रसाद जोशी
२०८१ असार ४ गते १६:३१

तपाईंको पनि खासै काम छैन, म नि फुर्सदमा छु। आउनुहोस् टाइम पास गरौं, पब्जी खेलौं!

प्रचण्ड बहुमत गठबन्धनले पुर्‍याएकै छ ! जे पनि गरिन्छ पूरै समय टिकिन्छ, दुई वर्ष भइहाल्यो अर्को तीन पनि कट्छ। ढुक्क हुनुहोस्!

सूर्य दाहिना हुँदा स्वार्थको बिस्कुन सुकेकै छ। आफ्नै पाप धुलाउन भए पनि चितवनका भगवान् (र उनका भक्तगण) मनोकामना पूर्ण गर्न गोरखाको थानमा आई घण्टी बजाएकै छन्। भोलि घाम फेरि चर्को भए या घण्टी ‘घाँडो’ बने फेरि रूखको छहारीमा जाउँला। घण्टी त्यही रूखको हाँगोमा झुन्ड्याऔंला! हँसिया (हतौडा) हातमा छ भन्दैमा रूख काटिहाल्नुहुन्न। फेरि घाम चर्के पोल्छ, बादलको के भर?

अब पब्जी कसरी खेल्ने भन्नुहोला! चिन्ता नगर्नुहोस् नियम म सिकाउँला। बाँकी यो गेम खेल्न चाहिने रणनीति तपाईंसँग भरपूर छ!

प्लेयर अननोन्स ब्याटल ग्राउन्ड (पब्जी) एक किसिमको ‘ब्यालट रोयल’ विधाको गेम हो। दशवर्षे युद्धमा ‘रोयल’ सँग अज्ञात जङ्गलबाटै ‘ब्याटल’ गरेर गणतन्त्र ल्याउनेका अगाडि पब्जीको बखान धेरै के गरूँ?

उथलपुथल गरिरहने, छापामार शैलीमा ढाडमा टेकेर टाउकोमा बजाउने, लात्ताले हानेर भित्तामा पुर्‍याउने जस्ता रणनीति राजनीति जस्तै पब्जीमा पनि काम लाग्छन्! पब्जी गठबन्धनमा पनि खेल्न मिल्छ।

एउटा साथीसँग कुरा बिग्रे अर्का साथीसँगै संवाद गर्दै खेल पनि खेल्न पाइन्छ! छतमा बसेर मौसम अनुसार बदाम-सुन्तला खाँदै या बार्दलीमै गएर खेले पनि हुन्छ।

१४ देशका १०० पब्जी खेलाडी नेपालमा आएर बूढानीलकण्ठको पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) स्टुडियोमा प्रतियोगिताका लागि बेला बेलामा भेला हुन्छन् । बूढानीलकण्ठको बाटो नबिर्सनुहोला! बालकोटदेखि पेरिसडाँडा हुँदै बूढानीलकण्ठ जोड्ने मार्ग नै प्रचण्डपथ हो! पब्जी जहाँ बसेर खेले पनि हुन्छ- बूढानीलकण्ठ, बालकोट या पेरिसडाँडा। बालेनले सिंहदरबार जलाइदेलान् भन्ने डर लागे बालुवाटारमा खेले पनि भो!

पब्जी खेल्न सजिलै छ! एउटा टापुमा एकअर्कालाई मार्ने हो। एक्लै, गुट या गठबन्धन जेमा पनि खेल्न सकिन्छ। बस् आफू बचेर अघि बढ्नु र अरूलाई मार्नु नै जितको मूल आधार हो। जो जिता उही सिकन्दर- कति मरे, शहीद भए तपाईंको परिवार अघि बढेकै छ!

यस कलामा तपाईं माहिर हुनुहुन्छ! त्यो टापुमा विभिन्न स्थानमा भूमिगत गरी राखिएका हतियार, गोली, बम जस्ता सामान सङ्कलन गर्ने त्यसपछि अरूलाई मार्ने र आफू बच्ने!

खेल अघि बढ्दै जाँदा युद्ध क्षेत्र निश्चित घेराभित्र खुम्चिंदै जान्छ तर तोकिएको समयमै घेराभित्र जान सक्नुपर्छ। त्यो त तपाईंले २०५२-६२ मा जङ्गल हुँदै २०६२-६३ मा रिंगरोड भित्र गएर देखाइसक्नु भो! ढुक्कै भएर खेल्नुहोस्!

बूढानीलकण्ठ, बालकोट या पेरिसडाँडा, सिंहदरबार या बालुवाटार जहाँबाट खेले पनि भो- आम जनताको लागि देशमा तपाईंको उपस्थिति भर्चुअल जस्तै त हो ! त्यही मिडिया र स्क्रिनमा या बाढी-भूकम्प जस्ता विपद्मा हेलिकप्टरमा देखिने त हो ! त्यसैले जहाँबाट खेले पनि भो !

के चिन्ता छ र ? २०८४ सम्म गठबन्धनले बहुमत पुर्‍याइदिइहाल्छ। ढुक्कै ढुक्क ! प्रधानमन्त्रीको कुर्सी टिकाइरहन दक्षिणेश्वर महाराजको धाममा ढोगभेट गरेर ‘पुष्प कमल’ चढाई आइसक्नुभो ! यतै आएर थप आशीर्वाद दिन आह्वान पनि गरिहाल्नु भो !

नीति-कार्यक्रम भइगो र बजेट भाषण नि भयो। विश्वासपात्रहरूको क्षेत्रमा शहरी विकासको ठूलो बजेट झापामा मात्रै हैन, रोल्पा, डोल्पा, गोरखा जस्ता दुर्गम ठाउँसम्म पनि पुगिगो ! लाल किल्ला सुरक्षित ! विरोध गर्ने पार्टी छोडेर फेरि फिर्ता आइसके !

बाबुराम नै गोरखा बुझाएर, नेसपा डुबाएर बाहिरिए ! तपाईंले लात्ताले नहानेरै उहाँ भित्तामा पुग्नुभो ! जसपाले गठबन्धन बदल्ने प्रयास गरे, उथलपुथल गरिदिनुभो! त्यस्तै एसको कलम पनि हँसिया-हतौडा भन्दा बलियो कहाँ छ र ?

अब असार लागे अलि बाटामा घाँस उम्रे उखेल्न प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता छँदैछ! आफ्नो जिल्लामा मजबुत हुन वडा–वडामा शहरी विकासको बजेट गएकै छ। पूरै परिवार सेटल।

कोही मेयर त काम नहुनेलाई स्वकीय सचिव बनाइसक्नुभो। बुहारी पूर्व मन्त्री भइन्। ज्वाइँ प्रदेश मन्त्री फेरि होलान् !

छोरी-बुहारी-ज्वाइँ पुस्ता सब सेटल बनाइहाल्नुभो ! नातिनीहरू पनि विदेशी ज्वाइँसँग बेलायत गइसके भोलि देश श्रीलङ्का जस्तो भए जनताले राजपाक्षको परिवार खेदे झैं तपाईंको गणतन्त्र पक्षको परिवारलाई खेदे नातिनी पुस्ता भएको देशमा शरण मिलिहाल्ला!

तर नेपाल हो बन्न त समय लागिहाल्छ त्यसमा तपाईंलाई दोष लाग्दैन! जयजयकार गर्ने आफ्नै गुटका कार्यकर्ता छँदै छन्! विरोध गर्ने गर्दै गरुन्। कराउने कराउँदै गरुन्; काग कराउँदैछ पिना सुक्दैछ ! कर असुली भइहाल्छ।

आर्थिक मन्दी भ्रम हो। आईएनजीओ अनुदान र दातृ निकाय ऋण दिइहाल्छन्। एनजीओले खाजा-खानाको व्यवस्था गरिहाल्छन् रेमिटेन्स बढेकै छ। फजुल खर्ची आयात रोकेर विदेशी मुद्रा सञ्चिति उच्च छ ! ब्याङ्कमा तरलता धेरै छ। पैसा छ उद्यमी ऋण लिंदैनन् त तपाइँको के दोष ?

आफ्नै सरकार छ, पुलिस, अख्तियार पनि नियुक्ति बढुवाको आशमा जे भन्यो त्यही गरिहाल्छन्। राजदूत त सब आफ्नै आफन्त-कार्यकर्ता पठाउने हो, पहिलेकालाई फिर्ता बोलाइसक्नुभो। अन्य उच्च निकायमा आफ्नै कार्यकर्ता भरिसक्यौ।

गठबन्धन इतरको गुटसँग अहिले नै तपाईंको समूहलाई टक्कर दिने बहुमत छैन। प्रतिपक्ष आफ्नै खुट्टामा बन्चरो हान्ने खालको छ। अन्य पक्ष धेरै उफ्रे पार्टी प्रवेश गराई या गठबन्धनमा सामेल गरी एक–दुईलाई मन्त्री दिन्छु भने भैगो !

आफ्नो गाउँ-आफैं बनाऊँ, स्थानीय प्रतिनिधिले हेरिहाल्छन्। प्रदेशका सांसद भए के नभए के ? कसलाई चासो ! संघीयता कोशीमा नबगे ज्वाइँ फेरि प्रदेश मन्त्री !

परदेशका युवा चुनावमा आउँदैनन्। भोट हाल्न पाउने नि हैनन्। विदेश जाने भए एकदिनमा पासपोर्ट र एनओसी एकै दिनमा दिने व्यवस्था मिलाएकै छ। सरकारको उपस्थिति योभन्दा छरितो ढंगमा कुन देशमा देख्न पाइन्छ र?

भारतबाट आउने दाजु-भाइलाई जे गरे पनि रोक्नै सकिंदैन। गाउँ-घरमा के भइरहेको छ सोधेर साध्यै छैन। भूकम्प, महामारी र नाकाबन्दीमा त देश चल्यो। सानातिना सहकारी काण्ड सहकार्यमा निमिट्यान्न बनिहाल्ला, गिरीबन्धुमा सँगै चिया खाए भइगो ।

बाँकी भ्रष्टाचार काण्डहरू संसदीय समितिबाट सुनपानी छर्केर चोख्याइहालिन्छ। अरू मजदुर किसानका विरोधको आवाज काठमाडौं पुग्दैन।

ढुक्क हुनुहोस्। आनन्दमा बस्नुहोस्! त्यो न्यानो आरामको कुर्सीमा नेपालको जर्सी लगाई नेपाली क्रिकेटलाई सपोर्ट गरिहाल्नुभो! केही दशकमा त्रिवि मैदानमा फ्लड लाइट र केही शताब्दीमा भरतपुर रङ्गशाला पनि बनिहाल्ला!

यो ढिलो भएन र भन्नेलाई राजाले २४० वर्ष के गरे भनेर प्रतिप्रश्न गरे भइगो ! समाजवादको सदाबहार लक्ष्य छँदैछ!

हुनत बजेट भाषणको लागि मात्रै हो तैपनि बजेट भाषणमै ई–स्पोर्टस्‌को अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने उल्लेख गराउनुभएकै छ ! पब्जी पनि ई–स्पोर्टस् नै हो ! अरू आयोजना उद्घाटन गरेर रातो रिबन काट्न अनि शिलालेखमा आफ्नो नाम लेखाए जस्तै समयानुसार ई–स्पोर्टस्‌को उद्घाटन गर्न ढिला नगर्नुहोला !

भर्चुअल रियालिटी, एआई र मेटाको जमाना छ कुन दिन पब्जी जित्नेले चुनाव जित्ने दिन आउने हो के थाहा ?

त्यसैले आउनुहोस् टाइम पास गरौं! तपाईंको पनि खासै काम छैन, म नि फुर्सदमा छु। प्रधानमन्त्रीज्यू आउनुहोस् पब्जी खेलौं!

लेखकको बारेमा
डा. विष्णुप्रसाद जोशी

बझाङमा जन्मिएका लेखक हाल अमेरिकामा कार्यरत वैज्ञानिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?