
४ असार, काठमाडौं । गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा सकिँदैछ । तर, योजनाले लिएका अधिकांश लक्ष्य अधुरै रहने देखिएको छ ।
गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१ अनुसार यस पञ्चवर्षीय योजनामा प्रदेशमा १ हजार २ सय ६० किलोमिटर सडक कालोपत्रे गरिसक्ने लक्ष्य थियो । तर, उपलब्धि भने ५१० किलोमिटर मात्र भएको छ ।
यस योजनाभित्र सडक पुल २९० र झोलुंगे पुल २५० वटा बनाउने लक्ष्य थियो । तर, उपलब्धि भने क्रमशः ७३ र ५२ वटा मात्र सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा सबैभन्दा धेरै सडक कालोपत्रे आव २०७७/७८ मा २ सय ११ किलोमिटर भएको छ ।
आव २०७९/८० मा १ सय ७३ किलोमिटर मात्र सडक कालोपत्रे भएको छ । चालु आवको फागुनसम्म १ सय १९ किलोमिटर मात्र सडक कालोपत्रे भएको तथ्यांक गण्डकी प्रदेश सरकारले उल्लेख गरेको छ ।
यस अवधिमा ग्राभेल सडकको निर्माणको गति समेत सुस्त भएको छ । सबैभन्दा धेरै ग्राभेल सडक आव २०७७/७८ मा १५२ किलोमिटर निर्माण भएको थियो ।
चालु आवको फागुनसम्म ४३ किलोमिटर मात्र ग्राभेल सडक बनेको छ । कच्ची सडक यस वर्ष २३ किलोमिटर मात्र विस्तार भएको गण्डकी प्रदेश सरकारको तथ्यांक छ ।
प्रतिक्रिया 4