
५ असार, काठमाडौं । सरकारले मुस्लिम समुदायको भावनालाई कदर गर्दै बकर इदको अवसरमा १ दिने सार्वजनिक बिदा दिए पनि प्रहरीलाई १ घण्टा समेत बिदा नदिएको भन्दै संसदमा कुरा उठेको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले प्रहरीले बिदा नपाएको विषय उठाएका थिए । ‘जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी जवान निशार खानले नमाज पढ्नका लागि १ घण्टा बिदा माग्दा समेत डीएसपी सुधिर राईले दिनु भएन । यो कहाँसम्मको सामाजिक न्याय हो’ खानले संसदमा भनेका थिए ।
नमाजको दिन बिदा नदिने भन्ने नियत राखेर बिदा नदिएको भन्ने विषय भने ललितपुर प्रहरीले अस्वीकार गरेको छ । ३ असारमा बकर इदको अवसरमा सकारले सार्वजनिक बिदा दिएको थियो । तर त्यसअघि नै अनुशासन उल्लंघन गरेकाले जवान खानलाई ३/४ दिन बिदा नछोड्नु भनेर नछाडिएको ललितपुर प्रहरी बताउँछ ।
‘नियतवश त्यस्तो बिदा नदिने भन्ने केही होइन । अनुशासन उल्लंघन गरेको भन्दै ३/४ दिन आउट नदिनु भनेको रहेछ । यही बीचमा इद परेकाले इस्यु बनाउन खोजिएको हो । नमाज पढ्न बिदा नदिने भन्ने होइन’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4