+

युरो कपको डेब्यूमै चम्किएका ‘टर्किस मेस्सी’

२०८१ असार  ५ गते १७:३६ २०८१ असार ५ गते १७:३६
युरो कपको डेब्यूमै चम्किएका ‘टर्किस मेस्सी’

५ असार, काठमाडौं । डी–बक्स बाहिरबाट अर्दा गुलरले गोल छिराएपछि टर्कीले जर्जियाविरुद्ध २–१ को अग्रता बनाएको थियो । र अन्तिममा थप १ गोल थप्दै ३–१ को नतिजा निकाल्दै नवप्रवेशी जर्जियालाई टर्कीले निराश बनायो ।

२५औं मिनेटमा मर्ट मुल्डुरले गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । टर्कीको खुसी धेरैबेर टिकेन । ३२औं मिनेटमा कोचोराश्लीको पासमा मिकाउताद्जे गोल गरेपछि खेल बराबरीमा आयो । पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

६५औं मिनेटमा आयनको पासमा गुलर बल अघि बढाउँदै डी–बक्स बाहिरबाट गरेको प्रहार जर्जियाका गोलरक्षकले बचाउन सकेनन् । २५ यार्ड परबाट क्रसबार च्यापेर गुलरको प्रहार गोल भएपछि टर्कीले २–१ को अग्रता बनायो ।

निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयको सातौं मिनेटमा अकुतोकोग्र्लुले गोल गरेपछि टर्कीले ३–१ को जित निकाल्दै युरो २०२४ मा सुखद सुरुवात गर्‍यो ।

१९ वर्षीय गुलर म्यान अफ दी म्याच चुनिए । गुलर आफूलाई टर्किस मेस्सी भन्न रुचाउँछन् । यही उपनामले परिचित पनि छन् ।

गोलसँगै गुलर युरोकपको डेब्यु खेलमै गोल गर्ने तेस्रो कान्छा खेलाडी पनि बनेका छन् । यसअघि हंगेरीका हेरेन्स बेन सन् १९६४ मा युरोकपमा डेब्यु गर्दै स्पेनविरुद्ध गोल गरेका थिए । २००४ मा ग्रिसविरुद्ध डेब्यु गर्दै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए । रोनाल्डोले त्यतिबेला २० यार्ड परबाट गोल गरेका थिए ।

गुलर जुलाईमा मात्रै टर्किस क्लब फेनरबाचेबाट स्पानिस क्लब रियल मड्रिड गएका थिए । रियलमा रहँदा फिटनेसका कारण उनले निकै संघर्ष गर्नु परेको थियो । सिजन सकिँदा उनले रियलका तर्फबाट ५ गोल गरेका थिए ।

रियलबाट यसै सिजन च्याम्पियन्स लिग जितेपछि च्याम्पियन्स लिग जित्ने पहिलो टर्किस खेलाडी पनि बने ।

तीनै गुलरले युरोकपको डेब्यू खेलमा गरेको गोललाई वेल्सका पूर्वकप्तान एश्ली विलियम्सले अविश्वसनीय भनेका छन् । ‘प्रमुख प्रतियोगितामा यस्तो गोल कमै देख्न पाइन्छ, तर युवा खेलाडीले त्यो पूरा गरे’ विलियम्सले भने, ‘उनले आफ्नो क्षमता देखाए । हामी उनीबाट अझै अविश्वसनीय खेलहरू देख्न सक्छौं ।’

इंग्ल्याण्डका पूर्वडिफेन्डर स्टेफन वार्नकले पनि गुलरको निकै प्रशंसा गरेका छन् । ‘खेल सुरु हुनुभन्दा पहिला नै हामीले गुलरलाई मैदानमा देखिरहेका थियौं । जब प्रतिस्पर्धामा उत्रिए, उनको अद्भुत क्षमता मात्रै देखिएन, सुन्दर गोल पनि देखियो । गुलरले केसम्म गर्न सक्छन् भन्ने प्रश्न जवाफ गोलले दिइरहेको छ,’ स्टेफनेले भनेका छन् ।
भेट्रान खेलाडीहरू रोबर्टो लेवान्डोस्की, लुका मोड्रिच, क्रिष्टियानो रोनाल्डो र पेपेको सम्भवतः यो अन्तिम युरो कप हो ।

उनीहरूलाई बिदाइ गर्दा युरो कपको भविष्य उदयीमान खेलाडीको हातमा छ भन्ने सन्देश गुलरको गोलमा रहेको रहेको फुटबलका जानकाहरू टिप्पणी गर्छन् ।

युवाका लागि विशेष

गुलरमात्रै होइन, यो पटकको युरोकप युवा खेलाडीहरूका लागि विशेष बनेको छ । मंगलबार राति भएको तेस्रो खेलमा पोर्चुगलका युवा खेलाडी फ्रन्सिसको कोन्सिकाओले मैदान छिरेको १११ सेकेन्डमै गोल गर्दै पोर्चुगलाई महत्वपूर्ण जित दिलाएका थिए ।

चेक रिपब्लिकसँग बराबरी खेल्दै अंक बाँड्ने अवस्थामा पुगेको पोर्चुगलका कोन्सिकाओले अतिरिक्त समयमा गोल गर्दै रेस्क्यु गरेका थिए ।

स्पेनका लामिने यामल, जर्मनीका जमाल मुसियाला, जर्मनीकै फ्लोरियन विर्ट्‌ज, इंग्ल्याण्डका जुड बेलिङ्घम युरोकपमा चम्किएका हुन् ।

बार्सिलोनाका १६ वर्षीय युवा खेलाडी यामलको उत्कृष्ट प्रर्दशनमा स्पेनले क्रोएसियालाई ३–० ले हराएको थियो । उक्त खेलमा यामलले उत्कृष्ट प्रदर्शन गर्नुका साथै असिस्टसमेत प्रदान गरेका थिए । उनले सबैभन्दा कान्छो उमेरमा युरोकप खेल्ने र असिस्ट गर्ने खेलाडीको कीर्तिमानसमेत बनाएका छन् ।

जर्मनीका २१ वर्षीय मुसियालाले पहिलो खेलमा स्कटल्याण्डसँग उत्कृष्ट प्रदर्शन गर्दै गोलसमेत गरेका थिए । बार्यन म्युनिखबाट व्यावसायिक फुटबल खेल्ने मुसियालाले उमेर समूहका खेलहरू इंग्ल्याण्डबाट पनि खेलेका थिए । राष्ट्रिय टिमका रूपमा भने उनले जर्मनी रोजे ।

जर्मनीकै २१ वर्षीय युवा खेलाडी फ्लोरियनले स्कटल्याण्डविरुद्ध गोल गरेका छन् । उनी बार्यन लेभरकुसनका फरवार्ड हुन् । उनी युरोकपमा गोल गर्ने जर्मनीका सबैभन्दा कान्छा खेलाडी हुन् ।

इंल्याण्डका अट्याकिङ मिडफिल्डर बेलिङ्घम पनि युरोकपमा गोल गरेका छन् । रियल मड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका २० वर्षीय बेलिङ्घमकै गोलको मद्दतमा इंग्ल्याण्डले सर्बियाविरुद्ध १–० को जित निकालेको थियो ।

युरो कप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय