+

सुरु हुँदैछ कोपा अमेरिका, पहिलो पटक १६ टोली सहभागी

२०८१ असार  ६ गते १७:५८ २०८१ असार ६ गते १७:५८
सुरु हुँदैछ कोपा अमेरिका, पहिलो पटक १६ टोली सहभागी

६ असार, काठमाडौं । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण अमेरिकामा सुरु हुँदैछ ।

पहिलो पटक १६ टोलीले खेल्न लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल एटलान्टामा शुक्रबार विहान ५:४५ बजे अर्जेन्टिना र क्यानडाबीच हुनेछ ।

अर्जेन्टिनाले सन् २०२१ मा ब्राजिलमा भएको पछिल्लो संस्करणको उपाधि जित्दै सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमान बराबरी गरेको थियो । अर्जेन्टिना  यसपटक पनि उपाधि रक्षा गर्दै कोपा अमेरिकाको सर्वाधिक सफल टोली बन्ने लक्ष्यमा छ ।

पहिलो पटक १६ टोली

प्रतियोगिताको १०८ वर्षको इतिहासमा पहिलो पटक कोपा अमेरिकामा १६ टोली सहभागी भएका हुन् ।

दक्षिण अमेरिकी फुटबल संघ (कन्मेबोल) बाट १० सदस्य राष्ट्र तथा उत्तर, मध्य अमेरिका र क्यारेबियन फुटबल संघ (कोनकाकाफ) बाट ६ गरी कूल १६ टोली कोपा अमेरिकामा सहभागी हुँदैछन् ।

यसअघि यो प्रतियोगितामा १२ टोली सहभागी हुँदै आएका थिए । सन् २०२४ को कोपा अमेरिका, महिला फुटबल र क्लब प्रतियोगिता आयोजनाका लागि कन्मेबोल र कोनकाकाफबीच सहमति भएपछि यस संस्करणमा कोपा अमेरिकाको टिम संख्या बढाएर १६ पुर्‍याइएको हो ।

जसमा दक्षिण अमेरिकी १० राष्ट्र स्वत छनोट भएका हुन् भने कोनकाकाफ नेसन्स लिगबाट ६ टोली टुङ्गो लागेको थियो ।

दोस्रो पटक दक्षिण अमेरिका बाहिर आयोजना

कोपा अमेरिका दक्षिण अमेरिकी महादेश बाहिर आयोजना हुन लागेको यो दोस्रो पटक हो । यसअघि कोपा अमेरिकाको आयोजनाको एक सय वर्ष पूरा भएको अवसरमा २०१६ मा पनि यो प्रतियोगिता अमेरिकामा आयोजना गरिएको थियो ।

सन् २०२४ को कोपा अमेरिका आयोजना गर्ने पालो इक्वेडरको थियो  । तर त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि दक्षिण अमेरिकी फुटबल संघ (कन्मेबोल)ले अमेरिकामा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

यस संस्करणको कोपा अमेरिका आयोजना सन् २०२६ मा फिफा विश्वकप आयोजनाको तयारीको रुपमा समेत रहनेछ । किनभने २०२६ को विश्वकप पनि अमेरिकासहित क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ ।

उद्घाटन एटालान्टामा, फाइनल मायमीमा

कोपा अमेरिका २०२४ को उद्घाटन खेल अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा शहरको मर्सिडिज बेन्ज स्टेडियममा हुनेछ । यस्तै फाइनल खेल जुलाई १४ मा फ्लोरिडास्थित हार्ड रक स्टेडिय, मायामीमा हुनेछ ।

प्रतियोगिता अन्तर्गतका खेलहरु अमेरिकाको १० राज्यको विभिन्न १४ स्टेडियममा खेलाइनेछ । जसमा टेक्ससको तीन, फ्लोरिडा र क्यालिफोर्नियाको २-२ तथा जर्जिया, न्यूजर्सी, नर्थ कारोलिना, अरिजोना, नेभदा, मिसौरी र कान्सास राज्यको एक/ एक स्टेडियममा खेल हुनेछ ।

उपाधि दाबेदार

कोपा अमेरिका २०२४ को उपाधि दाबेदारका रुपमा साविक विजेता अर्जेन्टिना र ब्राजिल रहेका छन् । अर्जेन्टिना बराबर १५ पटक उपाधि जितेको उरुग्वेलाई पनि उपाधि दाबेदार मानिएको छ ।

२०२२ मा फिफा विश्वकप जित्ने टोलीका अधिकांश खेलाडी अर्जेन्टिनाको टोलीमा अहिले पनि छन् । कप्तान लियोनेल मेसी, एन्जेल डि मारिया गोलकिपर एमिलियानो मार्टिनेज, मिडफिल्डर रोड्रिगो डे पउल म्याक एलिस्टरजस्ता खेलाडी अर्जेन्टाइन टिममा छन् ।

पछिल्लो पटक ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो । ब्राजिलले अहिलेसम्म ९ पटक यो प्रतियोगिताको उपाधि जितेको छ ।

ब्राजिलको उपाधि जित्ने सम्भावना यस पटक धेरै हदसम्म युवा खेलाडीहरु भिनिसियस जुनियर र रोड्रिगो एन्ड्रिकमा भर पर्नेछ । रियल मड्रिडबाट ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेका भिनिसियस बालोन डे’ओरको होडमा समेत छन् ।

भिनिसियस र रोड्रिगोसँगै आगामी सिजन रियल मड्रिडबाट खेल्ने तयारीमा रहेका एन्ड्रिक अहिले ब्राजिलका हेर्न लायक युवा स्टार हुन्छ ।

यस्तै मार्सेलो बिएस्लाको प्रशिक्षणमा रहेको उरुग्वे पनि दाबेदारमध्ये एक हो ।६८ वर्षीय बिएस्ला पहिलो पटक कोपा जित्ने आशामा छन् ।

सन् २००४ मा अर्जेन्टिनाको प्रशिक्षक हुँदा उनी उपाधि नजिक थिए तर जित्न सकेनन् ।

अर्जेन्टिनासँगै सर्वाधिक १५ पटक उपाधि जितेको उरुग्वेले २०११ यता कोपा अमेरिका जित्न सकेको छैन ।

त्यसयता चिलीले २ तथा ब्राजिल र अर्जेन्टिनाले समान एक पटक उपाधि जितेका छन् ।

के मेसीको अन्तिम प्रतियोगिता होला?

सन् २०२२ मा कतारमा भएको फिफा विश्वकप जितेपछि अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले अर्को विश्वकप नखेल्ने बताएका थिए । त्यसको अर्थ उनको अन्तिम प्रतियोगिता कोपा अमेरिका नै हुन सक्नेछ ।

३६ वर्षीय मेसीले २०२४ को कोपा अमेरिका नै अन्तिम प्रतियोगिता हुने संकेत गरिसकेका छन् ।

हाल अमेरिकन क्लब इन्टर मायमीबाट खेलिरहेका मेसी अर्को विश्वकपमा ३९ वर्षका हुनेछन् ।

२०२६ को विश्वकपबारे केही समयअघि सोध्दा मेसीले आफ्नो शारीरिक अवस्था कस्तो हुन्छ त्यसमा निर्भर रहने बताएका थिए । ‘म शारीरिक रुपमा कस्तो हुन्छ । मैले कस्तो महसुस गर्छु, मैले त्यो स्तरमा प्रतिस्पर्धा गर्न सक्छु कि सक्दिनक  मेरो टिममेटलाई सहयोग गर्न सक्छु सक्दिन त्यसमा भर पर्छ’, मेसीले भनेका छन् ।

मेसी आफ्नो देश अर्जेन्टिनाका लागि लगतार तेस्रो ठूलो उपाधि जित्ने लक्ष्यमा छन् । मेसीले २०२१ मा कोपा अमेरिका र २०२२ मा फिफा विश्वकप जितिसकेका छन् ।

यस पटक कोपा अमेरिकाको फाइनल हुने मायमीस्थित हार्ड रक स्टेडियममा मेसीको क्लबले हाल खेल्ने फोर्ट लाउडेरडेल भन्दा २० माइल मात्र टाढा छ । यस संस्करणको उपाधि जितेमा अर्जेन्टिना सबैभन्दा सफल टोली समेत बन्नेछ ।

समूह विभाजन

समूह ए : अर्जेन्टिना, पेरु, चिली, क्यानडा

समूह बी : मेक्सिको, इक्वेडर, भेनेजुएला, जमैका

समूह सी : अमेरिका, उरुग्वे, पानामा, बोलिभिया

समूह डी : ब्राजिल, कोलम्बिया, पाराग्वे, कोस्टारिका

कोपा अमेरिका फुटबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय