+

टी-२० विश्वकप २०२४ मा कमिन्सले लिए पहिलो ह्याट्रिक विकेट

२०८१ असार  ७ गते ११:५२ २०८१ असार ७ गते ११:५२
टी-२० विश्वकप २०२४ मा कमिन्सले लिए पहिलो ह्याट्रिक विकेट

७ असार, काठमाडौं । अष्ट्रेलियाका प्याट कमिन्सले आईसीसी टी-२० क्रिकेट विश्वकप २०२४ मा पहिलो ह्याट्रिक विकेट लिएका छन् ।

अमेरिका र वेष्ट इन्डिजमा जारी टी-२० विश्वकपमा कमिन्सले शुक्रबार बिहान सुपर एट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा ह्याट्रिक विकेट लिएका हुन् ।

सुपर एटको समूह ए को खेलमा अष्ट्रेलियाले कमिन्सको ह्याट्रिक र डेविड वार्नरको अर्धशतक मद्दतमा बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले पराजित गरेको छ ।

कमिन्सले जारी विश्वकपको पहिलो ह्याट्रिक विकेट लिने क्रममा महमदुल्लाहलाई १८औं ओभरको पाँचौ बलमा, मेहदी हसनलाई उक्त ओभरको छैटौं बलमा तथा तोहिद हृदोएलाई २०औं ओभरको पहिलो बलमा आउट गरेका थिए ।

टी-२० विश्वकपमा ह्याट्रिक विकेट लिने कमिन्स दोस्रो अष्ट्रेलियन तथा समग्रमा सातौं खेलाडी बनेका हुन् । यसअघि सन् २००७ मा अष्ट्रेलियाकै ब्रेट लीले टी-२० विश्वकपमा बंगलादेश विरुद्ध नै पहिलो ह्याट्रिक विकेट लिएका थिए ।

यस्त्तै सन् २०२१ को विश्वकपमा आयरल्याण्डका कर्टिस काम्परले नेदरल्याण्ड्स विरुद्ध, श्रीलंकाका वानिन्दु हसरंगाले दक्षिण अफ्रिकाविरुद्ध तथा दक्षिण अफ्रिकाका कागिसो रबाडाले इंग्ल्याण्ड विरुद्ध विरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।

यस्तै २०२२ को टी-२० विश्वकपमा यूएईका कार्तिक मेइयाप्पनले श्रीलंका तथा आयरल्याण्डका जोस लिटलले न्युजिल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।

एन्टिगुवास्थित सर भिभियन रिचर्ड स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेट गुमाएर १४० रन बनाएको थियो । बंगलादेशका लागि कप्तान नाजमुल होसेन सान्तोले सर्वाधिक ४१ तथा तोहिव ह्रिदोएले ४० रन जोडे ।

अष्ट्रेलियाका लागि कमिन्सले सर्वाधिक ३ विकेट लिँदा एडम जाम्पाले २ तथा मिचेल स्टार्क, मार्कुस स्टोइनिस र ग्लेन म्याक्सवेलले समान १/१ विकेट लिए ।

१४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ११.२ ओभरमा २ विकेट गुमाएर १०० रन बनाउँदा वर्षा भएपछि खेल प्रभावित बनेको थियो । त्यो बलासम्म अष्ट्रेलिया डिएल मेथडमा २८ रनले अघि थियो ।

अष्ट्रेलियाका लागि वार्नर र ट्रेभिस हेडले पहिलो विकेटमा ६५ रनको साझेदारी गरेका थिए । वार्नरले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५३ रन बनाए । हेडले २१ बलमा ३१ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

ग्लेन म्यक्सवेलले १२ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरी १४ रनमा अविजित रहे । बंगलादेशका लागि दुवै विकेट रिहाद हुसेनले लिए ।

टी–२० विश्वकप २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय