+

कीर्तिमान आरोही फुन्जो लामा नगदसहित सम्मानित

२०८१ असार  ७ गते १२:४९ २०८१ असार ७ गते १२:४९
कीर्तिमान आरोही फुन्जो लामा नगदसहित सम्मानित

७ असार, काठमाडौं। विश्वकै अग्लो शिखर सगरमाथाको कीर्तिमानी आरोही फुन्जो झाङ्मु लामा नगदसहित सम्मानित भएका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक डे को अवसरमा नेपाल स्की संघले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच फुन्जोलाई सम्मान गरेको हो ।

फुन्जोले गत महिना सबैभन्दा कम समयमा सगरमाथा बरोहण गर्ने महिलाको कीर्तिमान बनाएकी थिइन् ।

नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार फुन्जोलाई ५ हजार युरोको चेक प्रदान गरे ।

उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान बनाएकी हुन् ।

यसअघि सन् २०१८ मा फुञ्जोले नै ३९ घण्टा ६ मिनेटमा सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएकी थिइन् ।

पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर फुन्जोको कीर्तिमान तोडिन् । फुन्जोले त्यो कीर्तिमानलाई तोड्नै फेरि आफ्नो नाममा नयाँ कीर्तिमान बनाएकी हुन् ।

इन्टरनेसनल स्की एण्ड स्नोबोर्ड फेडेरेसन (एफआईएस) ले उपलब्ध गराएको ५ हजार युरोको चेक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठले फुन्जोलाई प्रदान गरेका हुन् ।

फुन्जो सगरमाथा चढ्नुअघि आफूले एफआईएसलाई यसबारे जानकारी गराएको र एफआईएसले अन्तिम समयमा भए पनि केही सहयोग गर्ने वाचा गरे अनुसार प्राप्त भएको ५ हजार युरो फुन्जोलाई प्रदान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

फुन्जोले सगरमाथाको शिखरमा एफआईएस र नेपाल स्की संघको झण्डा समेत पुर्‍याएकी थिइन् ।

फुन्जो आरोहीसँगै स्की खेलाडी समेत हुन् । उनी नेपाल स्की संघमा समेत आबद्ध छिन् ।

फुन्जोले आफ्नो करियरमा यस पटकको यात्रा समाइलो भएको बताइन् । उनले स्की र एफआईएससहित भारोत्तोलन र बक्सिङको झण्डा पनि लिएर गएको बताइन् ।

फुन्जोले स्की संघको साथ र सहयोगका लागि संघ लगायत सबैलाई धन्यवाद दिइन् ।

साथै फुन्जोले हरेक व्यक्तिले हरेक दिन आफ्नै जीवनको सगरमाथा चढिरहेको भन्दै त्यसलाई सम्मान र खुशीका साथ आरोहण गर्न आग्रह गरे ।

स्की संघका अध्यक्ष श्रेष्ठले फुन्जोले कीर्तमानी समयमा सगरमाथा आरोहण गरेर साहस मात्र नभई नयाँ जेनेरेसनको लागि मोटिभेट समेत गरेको बताए ।

कीर्तिमानी आरोही फुन्जो लामा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय