+
+

अर्थले बनाउन थाल्यो आगामी बजेटको कार्यान्वयन योजना

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १५:५१

७ असार, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको योजना बनाउन सुरु गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुख र भन्सार र राजस्व प्रशासनका उच्च अधिकृतहरूको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गरेका छन् ।

छलफलमा मन्त्री पुनले कार्यान्वयन हुन सक्ने गरी योजना बनाउन निर्देशन दिए ।

मन्त्री पुनले बजेटको आकार कुल गार्हस्थ उत्पादन (जीडीपी) सँग मेल खाने खालको भएको भन्दै कार्यान्वयन समेत सहज हुने बताए ।

‘खर्च बढाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्ययोजना बनाऔं’, जति समयमै गर्न सकियो र खर्च बढाउन सकियो त्यति नै बजार चलायनमा हुने हो,’ उनले भने, ‘हामीले अहिले असारमा गरिरहेको खर्च ६ महिनाअघि गर्न पाएको भए २/३ पटक बजारमा ‘सर्कुलेट’ हुन्थ्यो । त्यसबाट राजस्व संकलन हुन्थ्यो, रोजगारी सिर्जना हुन्थ्यो । हामी परम्परागत नहोऔं, समयमै र छिटै काम गर्ने गरी योजना बनाऔं ।’

पहिलो, दोस्रो र तेस्रो त्रैमासिक योजना बनाएर काम गर्न र दशैं तिहारजस्ता ठूला पर्वको विदा ख्याल गरेर मात्र कार्ययोजना बनाउन उनले निर्देशन दिए ।

स्रोतले नधान्ने गरी २० खर्बको बजेट आउने बजार हल्लाबीच १८ खर्ब ६० अर्बको वस्तुवादी बजेट ल्याउन सकिएकोमा सन्तोष लागेको उनले बताए ।

मन्त्री पुनले नयाँ आयोजनामा भन्दा चालु र ठूला आयोजनालाई केन्द्रित गरेर बजेट ल्याएको बताए ।

चालु आर्थिक वर्षको बजेटमा राजस्व संकलनको लक्ष्य बढी राखिएकाले लक्ष्यभन्दा धेरै कम राजस्व संकलन भएको बताए ।

‘म अघिल्ला अर्थमन्त्री वा अरू कसैलाई आरोपित गर्न चाहन्न । कार्यान्वयन हुनै नसक्ने ४२ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य निर्धारण हुनुमा अर्थमन्त्री वा हाम्रो प्रणाली कसको दोष हो । त्यसको पनि समीक्षा हुनुपर्ला,’ उनले भने ।

पूर्वपश्चिम राजमार्ग बिस्तारका लागि ३२ अर्ब बजेट विनियोजन गरिएको चर्चा गर्दै उनले पूरा नगरी नहुने अरू चालु आयोजनाको निर्माण सक्ने गरी बजेट व्यवस्था गरिएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?