+
+

करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ८ गते २३:०७

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् ।

उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे ।

दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए । उनले स्कुटर पुरस्कार प्राप्त गरे ।

चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ को विजेता दर्शकको भोटको आधारमा गरिएको हो । नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्काेटा छन् । शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए ।

ग्रान्ड फिनालेमा नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईं, पूर्वप्रतिस्पर्धी समेत रहेका गायक-गायिकाहरु प्रताप दास, प्रवीण बेडवाल, मेनुका पौडेल, अफ्सर अली, यो सिजनका टप १० प्रतिस्पर्धी लगायतले प्रस्तुति दिएका थिए ।

नेपाल आइडललाई एपीवान टेलिभिजनले  निर्माण गर्दै आएको छ । शोका निर्देशक सुरेश पौडेल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?