+
+

मेलम्ची नआउन्जेल धापबाट दैनिक ४ करोड लिटर पानी पैँचो लिँदै केयूकेएल

अमृत चिमरिया अमृत चिमरिया
२०८१ असार ९ गते २०:०८

९ असार, काठमाडौं । बाढीको जोखिम न्यूनीकरण गर्न मेलम्ची खानेपानी आयोजनाको बाँध बन्द गर्ने तयारी गरिएसँगै बर्खाकै बेला काठमाडौं उपत्यकामा खानेपानी अभाव पुनः दोहोरिने भएको छ । मेलम्चीको बाँधस्थलमा स्थायी हेडवर्क्स नहुँदा खेलामा पानी धमिलो हुनेबित्तिकै बन्द गर्नुपर्ने आयोजनाले जनाएको छ ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी बन्द भएसँगै पुनः ट्यांकरको भर पर्नुपर्ने डरमा स्थानीय छन् ।

‘मेलम्ची आइन्जेल पानीको ढुक्क थियो, बन्द भयो भने फेरि पानी ट्यांकरबाट ल्याएर पानी खानुपर्ने अवस्था आउँछ । मेलम्चीको त ठेगान नै नहुने भयो,’ काठमाडौंको थापागाउँका स्थानीय नरनाथ भेटवाल भन्छन् ।

‘बाह्रै महिना आउँछ भनेर हल्ला गरिएको थियो, मेलम्चीको पानी आउँदा घर भाडामा लिएर बस्नेहरूलाई पानीको बिल कम हुन्थ्यो । अब ट्यांकरको हाल्नुपर्ने भएपछि फेरि थप हुन्छ,’ उनले भने ।

जमिनमुनिको पानी, ढुङ्गेधारा, पोखरी, इनार सुक्दै गइरहेकाले खानेपानीको अभाव थप बढिरहेको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले बताए ।

बोर्डका अनुसार उपत्यकामा रहेका ८३७ ढुङ्गे धारामध्ये ११७ लोप भइसकेका छन् । सञ्चालनमा रहेका ७२० मध्ये ३२० सुकिसकेका छन् ।

मेलम्चीको पानी नआउने, भएका स्थानीय स्रोतहरू सुक्ने हुँदा उपत्यकावासी फेरि ट्यांकरको पानी किनेर खानुपर्ने स्थितिमा पुगेका हुन् ।

अब कसरी आउँछ काठमाडौंमा पानी ?

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार मेलम्चीको पानी नआउँदा अब काठमाडौंमा शिवपुरी धाप ड्यामबाट दैनिक ४ करोड लिटर पानी काठमाडौंमा ल्याइनेछ ।

‘मेलम्ची नआउने बित्तिकै पानीको हाहाकार हुन्छ भन्ने हुँदैन, हामी ४ करोड लिटर दैनिक धाप ड्यामबाट वाटर ट्रेडिङ मार्फत सुन्दरीजल हुँदै सिस्टममा पठाउँछौं । मेलम्ची आएपछि धापलाई उक्त पानी पैंचो तिर्छौं,’ केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले भने । अर्थात हिउँदमा मेलम्चीको पानी आउन समस्या हुँदैन र त्यही समयमा धाप ड्यामको पानी बागमतीको बहाव बढाउन प्रयोग गर्नुपर्ने अवस्था हुन्छ । तर ड्यामको पानी प्रयोग नगरी मेलम्चीकै पानी बागमतीको बहाव बढाउन प्रयोग हुने उनले बताए ।

उनले अलि ठूलो वर्षा भएपछि सुन्दरीजलमा पानीको मूल बढ्ने बताउँदै वर्षामा हाहाकार हुने अवस्था नआउने बताए ।

अब खानेपानीको नयाँ तालिका आउने

मेलम्चीको पानी नआउँदा रुटिन परिवर्तन गर्ने छ । अहिले जति दिनमा खाने पानी आउने गरेको छ, त्यो अवधि बढ्ने राई बताउँछन् । पानीको आपूर्ति हेरेर एक दुई दिन भित्रै केयूकेएलले नयाँ रुटिनमा काम सुरु गर्ने उनले बताए ।

केयूकेएलका अनुसार काठमाडौं उपत्यकामा दैनिक ४३ देखि ४६ करोड लिटर पानीको माग रहेको छ । मेलम्चीसहित केयूकेएलले दैनिक करिब २६ करोड लिटर पानी आपूर्ति भइरहेको छ ।

मेलम्ची आयोजनाबाट मात्रै दैनिक करिब १५ करोड पानी आपूर्ति हुने गरेको छ । अब मेलम्चीको पानी नआउँदा करिब १५ करोड लिटर पानी घट्छ भने धाप ड्यामबाट ४ करोड लिटर पानी थप हुन्छ ।

‘समयमै मूल फुट्नेगरी पानी आयो भने २२ करोड लिटरसम्म पानी छोड्नसक्छौं । जुन अहिलेको भन्दा ५–६ करोड लिटर कम हो,’ राईले भने ।

यस्तो अवस्थमा मेलम्ची नआउँदा काठमाडौंमा खानीपानीको आपूर्तिमा समस्या आउने उनले बताए ।

मेलम्चीको पानी नआउँदा काठमाडौंवासी फेरि ट्याङकरकै भरपर्नुे हो भन्ने प्रश्नमा राईले ट्यांकरको विकल्पमा गइहाल्नु नपर्ने दाबी गरे ।

‘काठमाडौंमा पिउने पानीका लागि ट्यांकर विकल्प हुँदै होइन, बरु समयमा वर्षा भयो भने वरपरको मूल फुट्दा हाम्रो स्रोत बढ्छ । फेरि ट्यांकरले भर्ने पानी पनि कहाँको भन्ने प्रश्न त छ नि ?’ उनले भने ।

काठमाडौं उपत्यकामा निरन्तर वर्षा भयो भने ढुंगेधारा, इनारलगायतमा पानी बढ्ने र काठमाडौंमा खानेपानीको हाहाकार नहुने उनको तर्क छ ।

मेलम्चीमा भल रहुन्जेल बन्द हुन्छ बाँध

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद वन्तका अनुसार मेलम्चीको सुरुङ बन्द भएपछि पुनः कहिले खुल्छ भन्ने ठेगान छैन ।

‘धमिलो पानी खोलामा रहुञ्जेल अब मेलम्चीबाट काठमाडौं पानी आउँदैन । गत वर्ष पनि माघबाट मात्रै दिएको हो । वर्षा कति लामो हुन्छ, त्यहीअनुसार पानी रोकिन्छ । स्थायी रुपमा हेडवर्क्स नबनेसम्म यो त सधैंको समस्या हो,’ उनले भने ।

सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ मुहानस्थल (हेडवर्क्स) बनाउन स्वीकृति दिइसकेको छ । मेलम्ची खानेपानी आयोजनाको हाल अम्बाथानमा रहेको हेडवर्क्सको विकल्पका रूपमा उपयुक्त स्थानमा नयाँ हेडवर्क्स बनाउन मन्त्रिपरिषद्ले खानेपानी मन्त्रालयलाई जेठमै सैद्धान्तिक स्वीकृति दिएको हो ।

आयोजनाले अहिलेको बाँधस्थलभन्दा माथिल्लो भागमा नयाँ हेडवर्क्स बनाउन स्थल पहिचान गरेको छ । ‘डीपीआर निर्माण थालिने र त्यसपछि टेन्डर आह्वान हुनेछ,’ उनले भने ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?