+
+

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १८:०५

९ असार, बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि झण्डै ३ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार उपप्रमुख सावित्रा अर्यालले नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा आइतबार २ अर्ब ९९ करोड रुपैयाँको वजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा चालुतर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत विनियोजन गरिएको छ । चालु आर्थिक वर्षका लागि बुटवल उपमहानगरले २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

बुटवल उपमहानगरपालिकाले ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ । बजेटको बाँकी स्रोत भने संघीय सरकारले दिने अनुदान नै रहेको छ ।

निजी तथा सार्वजनिक क्षेत्रसँग सहकार्य गरी बुटवल उपमहानगरपालिका–११ मा १०० बेडको नगर अस्पताल स्थापनाका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ, नगर मातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधासम्पन्न बनाउन १ करोड रुपैयाँ बजेट विनियोजन छ ।

शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधार विकासको लागि पूर्वाधार विकास कार्यक्रम अन्तरगत ५ करोड रुपैयाँ छुट्याइएको छ ।

छोरी पढाऔं, समाज बनाऔं कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्ष्टिच्युटसँगको सहकार्यमा ४० जना छात्राहरुलाई निःशुल्क प्राविधिक शिक्षा दिन २५ लाख रुपैयाँ छुट्याइएको छ ।

लुम्बिनी बस टर्मिनलमा विद्युत, खानेपानी, खाजाघर, शौचालय र स्नानघर, वाईफाई र विश्रामस्थल निर्माण गर्न १ करोड तथा बुटवल चिडियाखोलादेखि योगीकुटीसम्म, धागो कारखानादेखि तिनाउ पुलसम्म ट्राफिक लाइट जडानका लागि ४ करोड रुपैयाँ बजेटमा राखिएको छ ।

बजेटमा जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, जितगढी युद्ध संग्रहालयलाई नगरको गौरव सम्पदाका रुपमा प्रवद्र्धन गर्ने उल्लेख छ । जितगढी किल्ला नजिकै देवभूमि तिनाउ आरती केन्द्र स्थापनाका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्दै पर्यटक आगमनलाई वृद्धि गर्न बुटवल भ्रमण वर्ष मनाउन ५० लाख बजेट छुट्याइएको छ । बुटवलदेखि नुवाकोट जाने पैदलमार्गका लागि १ करोड, पैदल मार्गमा शिवमूर्ति बनाउन १ करोड रुपैयाँ र हिलपार्कमा बुद्धमूर्ति बनाउन १ करोड रुपैयाँ छुट्याइएको छ ।

नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रमका लागि ३ करोड, बिक्री केन्द्र स्थापनामा प्रोत्साहन गर्न १ करोड र महिला उद्यमी आत्मनिर्भर कार्यक्रमका लागि ५० लाख बजेट छुट्याइएको छ ।

बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्साको खानेपानी ल्याउने व्यवस्था मिलाउन मुहान क्षेत्रका बासिन्दालाई लाभ हुने गरी तिनाउ गाउँपालिकामार्फत विकास गर्न २ करोड रुपैयाँ छुट्याइएको छ ।

मुख्य चोक, चौराहामा विश्राम चौतारी, फल्चा, परम्परागत प्रतीक्षालय बनाउन २ करोड, छाडा चौपाया व्यवस्थापनका लागि अस्थायी संरचना, विश्रामस्थल, ध्यान केन्द्र, योग केन्द्र निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।

१७ वटा वडाको समग्र विकासका लागि १६ करोड ५० लाख रुपैयाँ तथा बुटवल वडा नम्बर १४ देखि १९ का छ वटा वडालाई १–१ करोड विशेष बजेट छुट्टाइएको छ ।

खेलकुदमा बुटवल– १६ डहरगाउँमा क्रिकेट मैदान निर्माण गर्न १ करोड र बुटवल १३ को जवई खेलमैदान जाने सडक निर्माण गर्न १ करोड छुट्याइएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व रहेको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि ३५ लाख रुपैयाँ छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?