+
+
लघुकथा :

भ्रम

रोहित खनाल रोहित खनाल
२०८१ असार १० गते १३:०३
रोहित खनाल

अहंकारले उम्लिएको मध्य जेठको घाममा खेतको बीचमा आज बुख्याँचालाई उभ्याइएको छ । खडेरी र भँगेराको बिगबिगी भएपनि वर्षभरिको गर्जो टार्न धानको बीउ त जसरी भएपनि बचाउनु नै छ । पैनीबाट पानी उप्छिएर राखिएको बीउ हो यो । भँगेरालाई २४ घण्टा रुँगेर पनि पार नलागेपछि बुख्याँचाको विकल्प नै रहेन । त्यसैले बुख्याँचालाई यहाँ ल्याइएको हो । भँगेराले बीउ सबै सखाप पार्ने भएकोले पनि निक्कै मिहिनेतका साथ ट्याक्कै मानिस जस्तै बनाइएको छ बुख्याचालाई । र, ढुक्क परेर ब्याडबाट निस्किएको छ ।

बिचरा भँगेराहरु । भोकाको आहारा दैवले जुराउँछ भनिएपनि बुख्याँचाले भँगेराको आहारा खोसिदिएको छ । बल्लबल्ल आहारा देखेका भँगेराहरुले परैबाट टुलुटुलु हेरेर बस्नुपर्ने भएको छ । एक दिन दुई दिन गर्दै समय बित्दै जान्छ, भँगेराहरु परबाट आफ्नो आहारा हेरेरै  बस्छन् । हावा नचलेको बेला त्यो बुख्याँचा नहल्लिएपछि हेरेर मर्नु भन्दा खाएरै मर्नु बेस भने झैं भँगेरालाई शंका लाग्छ र विस्तारै ब्याडतिर भँगेराहरु अघि बढ्छन् ।

सानो हावा आउँछ, बुख्याँचा हल्लिहाल्छ, भँगेरा भुर्र उडेर भाग्छन् । फेरि अर्को दिन त ब्याडमै पुगिसकेका हुन्छन्, हावा चलिहाल्छ । उडेर भाग्नु परिगो । यसरी नै केही दिन बित्छ ।

एक दिन त अचम्मै हुन्छ । हावा नै चलेन । भँगेराहरु बीउको ब्याडमै पुगे । केही गेडा मात्र चाख्न मात्रै के पाएका थिए हावा चलिहाल्यो, बुख्याँचाका हातका बाहुला हल्लिहाले । ज्यान त जोगाउनु नै छ, भुर्रभुर्र उडे । यसरी केही दिन चाखेर मात्रै बित्छ । फेरि एक दिन हावा चल्दै चल्दैन ‘ढुङ्गा खोज्दा देउता मिल्यो’ भँगेराले ब्याडमा छरेको बीउको चारो मस्त खाए, अघाए लडीबडी गरे, हावा चलेन । त्यही बुख्याँचामा उडेर बसे, बुख्याँचाकै सानो छहारीमा शीतल तापे । जहाँ खायो त्यही खोइ के गर्नुहुन्न भने झैं, भँगेराहरुलाई आपत् पर्‍यो, ब्याडमै बिस्ट्याउन त भएन, फेरि त्यही बीउ खानु छ, के गर्ने ?

केहीबेरको सोचपछि भँगेराहरु खुसी भए, बुख्याँचा त त्यहीं थियो । त्यो मानिस होइन भन्ने पनि पक्का भइसकेको थियो । बुख्याँचामा बिस्ट्याइयो भने आफ्नो चारो पनि बिग्रिएन । त्यसपछि भँगेराहरुको दैनिकी नै ब्याडमा चारो खायो, बुख्याँचामा चढेर बिस्ट्यायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?