१० असार, काठमाडौं । सहाना प्रधान यू १९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फको खेलमा कर्णाली प्रदेशलाई ३–१ ले हराउँदै सुदूरपश्चिमले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशाला कभर्ड हलमा सुदूरपश्चिमले कर्णालीलाई २५–२२, १६–२५,२५–२३ र २८–२६ को सेटले पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा दोस्रो सेटमा केही कमजोर देखिए पनि तेस्रो र चौथो सेट निकै प्रतिस्पर्धात्मक बन्दै सुदूरपश्चिमले आफ्नो पोल्टामा पार्यो ।
यसअघि महिलातर्फको खेलमा कर्णाली प्रदेशविरुद्ध कोशी प्रदेशले ३–० को जित हात पारेको थियो । त्यस्तै महिलाकै दोस्रो खेलमा बागमतीले गण्डकीलाई सोझो सेटमा पराजित गरेको हो ।
सात प्रदेश सम्मिलित प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ २ समूहमा विभाजन गरिएको छ ।
महिलातर्फ समूह ए मा मधेश प्रदेश, कर्णाली, कोशी र लुम्बिनी प्रदेश रहेका छन् । भने समूह बी मा बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश छ ।
त्यस्तै पुरुषतर्फ समूह ए मा मधेश प्रदेश, कर्णाली, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् ।
पुरुषको समूह बी मा लुम्बिनी प्रदेश, गण्डकी र कोशी प्रदेश रहेका छन् ।
असार १५ सम्म चल्ने प्रतियोगितामा दुवैतर्फका प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ३ लाख, २ लाख र १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै दुवैतर्फ उत्कृष्ट खेलाडीले समान २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4