+

दुई पारा ओलम्पिक कमिटीबीच पानी बाराबार

२०८१ असार  १२ गते १८:०३ २०८१ असार १२ गते १८:०३
दुई पारा ओलम्पिक कमिटीबीच पानी बाराबार

१२ असार, काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले छनोट चरण पार गरेर पेरिस पारालिम्पिक २०२४ मा खेल्ने पक्का भइसकेको छ ।

नेपाली पारा खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम उचो बनाउँदा नेपालभित्रै भने दुई वटा पारा ओलम्पिक कमिटीबीच चरम विवाद छ ।

नेपालमा अहिले सूर्यकुमारी गुरुङ नेतृत्वको नेपाल पारा ओलम्पिक कमिटी र राधा घले नेतृत्वको नेशनल पारा ओलम्पिक कमिटी गरी दुई समिति छन् ।

राधा घलेको कमिटीलाई अन्तर्राष्ट्रिय मान्यता अर्थात इन्टरनेशनल पारा ओलम्पिक कमिटीको मान्यता छ । यही कमिटीले पारा खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता गराउँदै आएको छ ।

सूर्यकुमारी नेतृत्वमा रहेको समिति राष्ट्रिय मान्यता प्राप्त हो । जो राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता छ । राधा घलेको समिति भने राखेपमा दर्ता छैन ।

दुई समिति हुँदा घरेलु प्रतियोगितादेखि अन्तर्राष्ट्रिय सहभागितासम्ममा विवाद देखिने गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित कभर्डहलमा पारा तथा विशेष खेलकुदको उद्घाटन समारोहमा पनि विवाद देखियो । उद्घाटन समारोहमा दुवै समितिका प्रतिनिधिलाई स्टेजमा बोलाउँदा झण्डै हात हालाहालको स्थिति समेत बनेको थियो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले फरक क्षमता भएका खेलाडीहरूको प्रतिभाको खोजी गर्ने उद्देश्यले १३ खेल समावेश गर्दै पारा तथा विशेष खेलकुद आयोजना गरेको थियो ।

जसमा पारा एथ्लेटिक्स, नेत्रहीन क्रिकेट, पारा साइक्लिङ, दृष्टिविहीन टेबलटेनिस, पारा जुडो, पारा पौडी, पारा भारोत्तोलन, एम्पुटी फुटबल लगायत समावेश छन् ।

तर उद्घाटनमै दुई समितिको विवाद छताछुल्ल हुँदा उपस्थित विभिन्न खेलका खेलाडीहरु पनि आश्चर्यमा परे । राखेपका सदस्य सचिव टंकलाल घिसिङ उपस्थित हुनुअघि नै सुरु भएको विवाद उनी आउँदासम्म पनि जारी थियो ।

राधा घले नेतृत्वमा रहेको नेशनल पारा ओलम्पिक कमिटी २०५७ सालमा स्थापना भएको हो । सूर्यकुमारी नेतृत्वको नेपाल पारा ओलम्पिक कमिटी भने २०५२ सालमा स्थापना भएको हो । यो संघ परिषदमा ३८ औं खेलको रुपमा दर्ता भएपनि यसले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन ।

किन भयो विवाद ?

राखेपले प्रतियोगिताको उद्घाटनमा दुवै पारा ओलम्पिक कमिटीका प्रतिनिधिलाई बोलाएको थियो । नेशनल पारा ओलम्पिक कमिटीका अध्यक्ष राधा घले सुरुमै मञ्चमा गएर बसिन् ।

नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष सूर्यकुमारी गुरुङसहित पदाधिकारी भने हलको तल कोर्टमा थिए । राधा घलेलाई निमन्त्रणा गरेर स्टेजमा राखेको भन्दै सूर्य कुमारीको टिमले आपत्ति जनाएको थियो ।

सूर्यकुमारीलाई पनि स्टेजमा लैजान खोज्दा जान नमानेको आयोजक कमिटीले जनाएको छ ।

सूर्यकुमारीले विज्ञप्ति निकालेर प्रतियोगिता बहिस्कार गर्ने चेतावनी समेत दिइन् । सर्वोच्च अदालतले आफू नेतृत्वको समितिलाई मान्यता दिएको र अर्को समितिलाई गैरकानुनी ठहर गरेको भन्दै उनले गैरकानुनी समितिलाई मान्यता दिएर राखेपले आफूहरुको मानमर्दन गरेको उनको आरोप छ ।

नेशनल पारा ओलम्पिक कमिटीका अध्यक्ष राधा घलेले भने आफूहरु अन्तर्राष्ट्रिय मान्यता प्राप्त कमिटी भएको र आयोजकले बोलाएर नै उपस्थित भएको भन्दै विवाद गर्नुको कुनै औचित्य नभएको बताइन् ।

‘उहाँहरु परिषदमा दर्ता हुनुहुन्छ । उहाँहरुलाई अन्तर्राष्ट्रिय मान्यता छैन । ओलम्पिक भनेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनुपर्छ, अन्तर्राष्ट्रिय सहभागिता हुनुरप्छ’, घलेले अनलाइनखबरसँग भनिन् ।

दुवै पक्ष सँगै बसेर सल्लाह गरेर अघि बढौँ भन्दा अर्को पक्षले नमानेको घलेले बताइन् ।

घले नेतृत्वको समितिले मुख्य पद आफैसँग राख्न खोजेकाले सहमति हुन नसकेको सूर्यकुमारी नेतृत्वको नेपाल पारा ओलम्पिक कमिटीको आरोप छ ।

विवाद अन्त्य गर्नुपर्छ : सदस्य सचिव

उद्घाटन समारोहमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले पारा ‌ओलम्पिक कमिटी दुईवटा हुनु दुखद भएको बताए ।

‘देशले पारा ओलम्पिकसम्म सहभागिता हुँदै जाने तर देशभित्र यहाँ पाराको नाममा एक अर्को बीचमा विवाद हुँदै जानु यो दुखद पक्ष हो, यसलाई अन्त्य गर्नुपर्छ’, घिसिङले भने, ‘दुई वटा कमिटी हुनु नेपाल पाराका लागि दुर्भाग्य हो । यो कदापि सही होइन ।’

उनले सबैको लक्ष्य पारा खेलकुद विकास गर्ने हुनुपर्ने बताए । ‘यो सहकार्य र समन्वय पारा खेल विकासका लागि हो । तपाईँहरुको चासो पनि पारा खेलकुद विकासका लागि हुनुपर्छ ।’

पारा ओलम्पिक
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय