
काठमाडौं । एनसेलले मनसुन केन्द्रित विपद् पूर्वतयारी गर्न र्यापिड रेस्पोन्स टिम (आरआरटी) गठन गरेको छ ।
वर्षायाममा बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण प्रभावित हुन सक्ने सेवालाई लक्षित गरी द्रुतगतिमा आफ्नो सेवा सञ्चालन गर्न यस्तो टिम गठन गरिएको कम्पनीले जनाएको छ ।
विपद् पूर्वतयारी र प्रतिकार्यका लागि मनसुन सम्बन्धी प्रकोपबाट हुने दूरसञ्चार सेवा अवरोधलाई सम्बोधन गर्न प्रत्येक जिल्लामा आरआरटी गठन गरिएको कम्पनीले जनाएको छ ।
यी टोलीहरूलाई विशेष रूपमा आपतकालीन अवस्थाहरु सम्हाल्दै सकेसम्म चाँडो सेवा पुनः सञ्चालन गर्न तालिम दिइएको एनसेलको भनाइ छ ।
तयारी स्वरूप एनसेलले नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ ।
यो अतिरिक्त जनशक्तिले सेवाहरू अवरोध भएको खण्डमा कम सयममा नै अवरुद्ध सेवा सञ्चालन गर्न ठूलो भूमिका खेल्ने छ ।
विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सञ्चालन गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
विपद्को समयमा विद्युत् आपूर्ति अवरुद्ध हुने कुरालाई मध्ये नजर गरेर एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअपको व्यवस्था गरेको छ ।
यी ब्याट्रीहरूले लगातार विद्युतको आपूर्तिमा समस्या आएमा ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ ।
एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्विल पनि तयार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4