
१४ असार, काठमाडौं । तत्कालीन नेकपा मालेका नेता मदन भण्डारीले त्यसबेला विद्या पाण्डेलाई तत्कालीन नेकपा माले मोरङको संगठित सदस्यतापत्र थमाएका थिए । पछि उनै मदनसँग बिहे भएपछि विद्या भण्डारीका रुपमा चिनिन थालिन् ।
नेकपा माले पछि एमाले भयो । मदन त्यसका महासचिव भए । २०५० जेठ ३ को दासढुंगा दुर्घटनामा सहकर्मी जीवराज आश्रितसँग मदनको निधन भयो ।
त्यसयताका दुई दशक भण्डारीले विभिन्न उतारचढाव बेहोरिन् । ०७२ सालमा उनी नेपालको राष्ट्रपति बनिन् ।
राष्ट्राध्यक्ष भइसकेपछि सक्रिय राजनीतिक जीवन सधैंका लागि अन्त्य गर्नुपर्ने संवैधानिक बाध्यता त छैन, तर गणतन्त्रको राष्ट्रप्रमुख भइसकेपछि त्यसै रुपमा निवृत्त जीवन पनि बिताउने राजनीतिक संस्कार कायम हुनुपर्छ भन्ने आम अपेक्षा बनिसकेको छ ।
त्यसैले विगतमा कांग्रेसबाट राजनीति गर्दै प्रथम राष्ट्रपति बनेका रामवरण यादव आफ्नो पूर्वपार्टीका कार्यक्रमहरुमा जाँदैनन्, पार्टीका बारेमा औपचारिक टिप्पणी गर्दैनन् ।
भण्डारीले भने केही पृथक बाटो अपनाउने छनक दिन थालेकी छन् । आफ्ना दिवंगत पति तथा एमाले नेता मदनको जन्मजयन्ती पारेर मदन भण्डारी फाउन्डेसन काभ्रे जिल्ला कमिटीले शुक्रबार गरेको कार्यक्रममा भण्डारीले फेरि सक्रिय पार्टी राजनीतिमा फर्किने संकेत गरिन् ।
भण्डारीले काभ्रेमा दिएको मन्तव्यको सारसंक्षेप खिचौं । त्यहाँ एमाले सांसद गोकुल बाँस्कोटा लगायतलाई सामुन्ने राखेर उनले भनिन् :
‘राजनीति राष्ट्रसेवा हो । कर्मचारीलाई राष्ट्रसेवक भन्ने गरे पनि उनीहरुले लोकसेवा पास गरेपछि ३० वर्ष जागिर पक्का, पेन्सन पक्का हुन्छ । राजनीतिमा त हरेक पाँच वर्षमा जनताको बीचमा जानैपर्छ । त्यो पनि जनताले न्याय दिए भने बनिने हो ।
हाम्रो देशले ०५० सालमा ठूलो घाटा बेहोर्नुपर्यो । मदनको निधन हुँदा परिवारमात्रै शोकमा परेन, सिंगैै देशलाई क्षति भयो । कार्यकर्ताले शोकलाई शक्तिमा बदल्दै एमालेलाई ठूलो दल बनाए । मनमोहनजी प्रधानमन्त्री बन्नुभयो ।
तर एमाले जहिले पनि अलिक अगाडि बढ्न खोज्दा समस्या सुरु हुने गर्छन् । मैले ०५४ सालमा पनि विभाजन गर्नुहुँदैन भनेर बेस्सरी काम गरें । मतभेद छन् भने आन्तरिक रुपमा समाधान गर्नुपर्छ, छलफल संवाद गर्नुपर्छ भनें । एकदिन सत्यको जीत हुन्छ भनें । मैले नेताहरुलाई कलंकको टीका नलगाउनुस् भनेँ । उहाँहरुले खरानी हुन तयार छौं भन्न थाल्नुभयो ।
त्यसैले प्रयास गर्दागर्दै मान्छेलाई कुरा बुझाउन नसकिने पनि हुँदो रहेछ ।
०७७ मा नेकपा विभाजन हुँदा मलाई भन्दा बढी पीडा (कसलाई) के भयो होला ? जुन पार्टीबाट दुई तिहाई पाएर म राष्ट्रपति भएको मान्छे । पार्टीभित्र यदुवंशीजस्तो झगडा हुँदा चिन्ता हुन स्वभाविक हो । यसरी चिन्ता गर्दा कतिले मलाई राष्ट्रपति भईभई राजनीति गरी पनि भन्न थाले । तर राष्ट्रका लागि राजनीति गर्नुपर्यो भने गर्नुपर्ने पनि हुन्छ । (त्यसपछि कडा स्वरमा भण्डारी) दुनियाँ (विदेशी) एजेन्सी आएर यहाँ खेल्ने, पार्टी फुटाउन खोज्ने, अनि मैले नफुटाउ भन्दा चाहिँ राजनीति गरेको हुने ?
मैले त्यसबेला पाँच महिना पर्खिनुस् । महाधिवेशन हुन्छ भनेर सम्झाएँ, तर पर्खिन सकिएन (सकेनन्) । मैले कोसिस नगरेको होइन । मैले आफ्नो ठाउँबाट धेरै कोसिस गरें । खुट्टा समातेर ढोग्न सकिएन, तर अनुरोध गरियो । यत्रो गर्दा पनि विपक्षीहरुसँग साँठगाँठ गर्ने काम भयो । आज परिस्थिति के भएको छ ?
तपाईंहरु देखिरहनुभएको छ । कहिलेकाहिँ देशका लागि काम गर्न खोज्दा विभिन्न ढंगबाट बाधा अवरोध हुन्छ । तर त्यसलाई पन्छाउँदै संघर्ष, वार्ता संवाद गर्नुपर्छ । व्यक्तिगत आत्मकेन्द्रित हुँदा ०५४ र ०७७ मा समस्या आयो । तर ०७९ को आम चुनावमा अरु सबै एकातिर भएर (एमालेसँग) पौठेजोरी खेले । तर एमालेले देखाइदियो है । (तालीको पर्रा) ।
मैले त्यसलाई आफू प्रत्यक्ष सहभागी भएर त होइन, तर तटस्थ प्रत्यक्षदर्शी भएर हेरें । एक्लो पार्टीले त्यहाँभित्रको एउटा टुक्रा छुट्टेर (एकीकृत समाजवादी) जाँदा पनि पाँच भाइ सात भाइ एकातिर, एमाले एकातिर एक्लै हुँदा पनि सबैभन्दा बढी भोट पाउने दल बन्न सफल भयो। यो राष्ट्रका लागि हो । विचार र सत्यको जित हो । त्यसैले हामीले आज यो कुरा गरिरहँदा आफ्नो संकल्प सम्झनुपर्छ ।’
भण्डारीले स्पष्ट भाषामा पार्टीप्रतिको आफ्नो वैचारिक प्रतिबद्धता र सांगठानिक लगाव जाहेर गरिन् । उनले आफू राष्ट्रप्रमुखका रुपमा सबै दल, विचार, आस्था राख्ने आम नागरिकको प्रतिनिधिका रुपमा राष्ट्रको अध्यक्षता गरेका प्रसंगलाई भाषणमा खासै उल्लेख गरिनन्, बरु एमालेको आन्तरिक जीवनबारे आफ्नो प्रत्यक्ष सरोकार खुलेरै राखिन् ।
याद रहोस्, भण्डारी उपस्थित भएर एमालेबारे बोल्दा मदन भण्डारी फाउन्डेसनका केन्द्रीय अध्यक्ष महेन्द्र पाण्डे त्यहाँ आमन्त्रित थिएनन् । एमाले अध्यक्ष केपी ओली पनि उपस्थित थिएनन् । पाण्डेले फोनमा बोल्दै आफूलाई निम्ता नआएकाले काभ्रेको कार्यक्रमबारे थाहा नभएको प्रतिक्रिया दिए ।
यसअघि एमालेले वैशाख ९ मा नेकपाको स्थापना दिवस पारेर भण्डारीलाई गणतन्त्र गौरव पदक दिँदा उनी कम्युनिस्ट एकताको पक्षमा खुलेर बोलेकी थिइन् ।
नागरिक समाजका कतिपय सरोकारवालाले राष्ट्रप्रमुख भइसकेको व्यक्तिले निवृत्त जीवनमा राष्ट्रले दिएको सम्मान धान्दै बस्नुपर्ने राय दिने गरेका छन् । एमालेभित्र हालका अध्यक्ष ओलीपछि को नेता उदाउँछ भनी अड्कलबाजी चलिरहेका बेला पछिल्ला दिनमा भण्डारीको नाम चर्चामा आउन थालेको हो । उनले कुराकानीहरुमा आफ्नो आकांक्षा नलुकाई भन्ने गरेकी छन् । एमालेभित्र एउटा ठुलै पंक्तिले भण्डारीको पुनरागमनका बारेमा लबिइङ बढाइरहेको छ ।
भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको चर्चा भइरहे पनि अहिले पनि त्यो ‘स्थगित’ अवस्थामै रहेको बताएकी छन् । स्थगितको अर्थ ‘अन्त्य’ भन्ने लाग्दैन । त्यसैले पछिल्ला दिनका अभिव्यक्ति र भण्डारीको सक्रियतालाई विभिन्न कोणबाट अर्थ्याउन थालिएको छ ।
अझ रोचक त के छ भने एमाले अध्यक्ष ओलीले समाचार एजेन्सी राससलाई बुधबार दिएको अन्तर्वार्ता, जो शुक्रबारै प्रकाशित छ, त्यसका सबै प्रश्न र जवाफ मदन भण्डारीसँग मात्रै सम्बन्धित छन् । त्यहाँ पार्टी अध्यक्ष र सत्ता साझेदार दलको प्रमुखका रुपमा ओलीका अरु कुनै जवाफ उपलब्ध छैनन् । एमालेभित्र मदन भण्डारीको वैचारिक उत्तराधिकार को हो भन्ने बहस र भावी नेतृत्वको प्रश्न सँगसँगै जाने सम्भावना छ भन्ने आकलनलाई काभ्रेमा अनुपस्थित ओली र त्यहाँ भण्डारीका बोलीले बल दिन्छ ।
प्रतिक्रिया 4