![](https://www.onlinekhabar.com/wp-content/uploads/2024/07/jal-pani-1024x576.gif)
हालै माइतीघर वरिपरि ‘सरकार पानी देऊ’ भनेर बाल्टी, रित्तो गाग्री बोकेका मान्छेहरू देख्नुहुन्छ । संसद् चलेको दिन सरकारको आँखा परोस् भनेर माइतीघरदेखि बानेश्वर पुग्ने ती मानिसहरू, खडेरी बढेर खाने पानीकै हाहाकार भएर २३ दिनसम्म पैदल हिंडेर सप्तरीदेखि काठमाडौं आइपुगेका थिए ।
यी मान्छेहरूले सरकारसँग प्राकृतिक स्रोत, पानी मागिरहेका छन् । प्रकृतिसँग माग्नुपर्ने पानी यी मान्छेले किन सरकारसँग मागेका होलान् ? के सरकारले यी सर्वसाधारणको माग अनुसार पानी दिन सक्ला ? के माग अनुरूपको पानी दिन, सरकारले पानी रोपेको छ त ? सरकारले पानी रोपेकै छैन भने कसरी २३ दिनसम्म पैदल हिंडेर आएका किसान र सर्वसाधारणलाई अहिले नै र उनीहरूको भावी सन्तानको लागि पानी दिन सक्ला ?
के पानी रोप्न सकिन्छ ? सकिन्छ भने कसरी र कहिले रोप्ने ? धानसँगै असारमा रोप्ने हो कि ? मकैसँग चैतमा पो रोप्ने हो कि ? रोप्यो भने पानी कहिले फल्छ ? पानी सरकारले रोप्ने हो कि, किसानले ? कि व्यापारीले हो ? अहिले हामीले उपयोग गरिरहेको पानी कसले रोपेको हो ? आउनुहोस्, यी प्रश्नहरूको उत्तर खोजौं ।
अहिले खानेपानीकै समस्या चारैतिर छ । वर्षाको पानीमा भरपर्ने किसानहरूको सिंचाइको समस्या झन् कति हो कति । यदि लाखौंको संख्यामा पानीको समस्या लिएर पानी माग्न सर्वसाधारण काठमाडौंमा झरे भने के होला ? सरकारले सबैलाई पानी दिन सक्ला ? बढ्दै गरेको पानीको यो समस्या र भविष्यमा आउन सक्ने भनेर प्रक्षेपण गरिएका तमाम संकटलाई अहिले नै बुझ्न र बुझेर भविष्यको योजना बनाउन ढिला भएन र ?
यो लेख पानीसँग सम्बन्धित यी तमाम प्रश्नले बोकेका गम्भीर संकटहरूका वरिपरि रहेर लेखिएको छ ।
कति छ हामीसँग पानी ?
पृथ्वीलाई पानीको ग्रह भनिन्छ । पृथ्वीको कुल क्षेत्रफलको ७१ प्रतिशत क्षेत्र पानीले ओगटेको छ । तर, यो पानीको अधिक हिस्सा (९७.४१ प्रतिशत) समुद्रको पानीले ओगटेको छ । जुन पानी पिउन र खेतीपातीको लागि अयोग्य मानिन्छ ।
बाँकी २.५९ प्रतिशत ताजा पानीको पनि मुख्य हिस्सा (पृथ्वीमा उपलब्ध पानीको २ प्रतिशत) हिमतालमा बरफको रूपमा सञ्चित रहेको छ भने थोरै हिस्सा (०.६ प्रतिशत) जमिनको सतहमुनि संकलन भएर रहेको छ ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/01/Dipesh-Nepal-1.jpg)
उसो त नेपाल पिउन योग्य पानीको स्रोतहरू प्रशस्तै भएको देश हो । नेपालमा मात्रै विश्वको पिउन योग्य पानीको २.२७ प्रतिशत पानी छ । नेपालको भौगोलिक अवस्थिति, पर्याप्त हिमाली क्षेत्र र हिमालहरू र पर्याप्त प्राकृतिक जंगलको कारण नेपाल पिउनयोग्य पानीको स्रोतका हिसाबले धनी राष्ट्रमा पर्न गएको हो । तर पानीको पर्याप्त स्रोतको उपलब्धताको बावजुद पनि नेपालमा पानीको हाहाकार बढ्नु साँच्चै दुःखद् छ ।
किन छ नेपालमा पानीको हाहाकार ?
नेपालमा पानीको हाहाकार हुनुको पहिलो प्रमुख कारण हो पानीको उपलब्धता र जनघनत्वको अनुपात नमिल्नु । एकातर्फ नेपालका मुख्य नदीहरू सप्तकोशी, गण्डकी, कर्णाली र महाकालीको पानीढलोमा नेपालमा उपलब्ध दुई तिहाइ भन्दा बढी पानी बग्ने गर्छ भने अर्काेतर्फ नेपालमा सबैभन्दा धेरै जनघनत्व भएको दक्षिणी क्षेत्र (तराई) मा भने करिब १३ प्रतिशत पानीको मात्रै उपलब्धता छ ।
यो सँगै; काठमाडौं, चितवन, पोखरा, दाङ र सुर्खेत जस्ता उपत्यकामा अन्धाधुन्द वृद्धि भएको बसोबासको कारण पनि पानीको स्रोतको वितरणमा समस्या देखिएको छ ।
पानी वितरण बाहेक चुरे र भावरमा बढ्दो अतिक्रमण, जमिनमुनि भएको पानीको अत्यधिक उपयोग, बढ्दो शहरीकरणसँगै बढिरहेको कङ्क्रिट र ढलानहरू, वनजंगलको अत्यधिक दोहन, व्यावसायिक रूपमा गरिएका पानीको अत्यधिक उपभोग, वृक्षरोपण कम र बढी जंगल फडानी गरेर विकसित गरिएको खेतीपाती, एकल खेतीप्रतिको आकर्षण, खेतीपातीमा बढ्दो रसायन र विषादीको प्रयोग जस्ता कारणहरू पनि हाल देखिएको पानीको संकट निम्त्याउन जिम्मेवार छन् ।
यस्ता गतिविधिहरू समयमै नियन्त्रण नगरे, पानीको स्रोतहरूको उचित संरक्षण नगरे, वितरणको भरपर्दाे व्यवस्था नगरे र समयमै पानी रोप्न सुरु नगरे यो संकट झन् भन्दा झन् थपिने निश्चित छ ।
किन रोप्ने पानी ?
पानीको उपलब्धतालाई बुझ्न पानीको चक्रलाई बुझ्नु आवश्यक हुन्छ । सामान्यतया, पानी चक्र भन्नाले पृथ्वीको सतहमा भएको पानी तापक्रमको वृद्धिसँगै वाष्पीकरण भएर बादलमा जाने र बादलमा पुगेको पानीको बाफ चिसो भई बादल बनेर पुनः पानी, हिउँ वा असिनाको रूपमा जमिनमा फर्किने चक्रलाई बुझिन्छ । तर पानी चक्र यतिमा मात्रै सीमित छैन ।
जमिनमा फर्किएको पानी जमिनमुनि पुग्ने, जमिनमुनि पानीको सतह निर्माण हुने, यसैबाट मूल मुहानहरू बन्ने, कुवा र चापाकलको पानीको स्रोत बन्ने एउटा चक्र छ भने पानीको बाफ हिमालमा ठोक्किएर हिउँ बनेर सञ्चित हुने र पग्लेर पानी बनेर बग्ने अर्काे चक्र छ ।
यस्ता धेरै पानी चक्रहरू, स्थानीय क्षेत्रमा पानी पार्न, जमिनमा चिस्यान कायम गर्न, सूक्ष्म जलवायु निर्माण गर्न सक्रिय हुन्छन् । यो सँगै, समुद्री क्षेत्रबाट पानीको कण बोकेर हिंड्ने बादलहरू र स्थानीयस्तरमा बन्ने बादलहरूको घर्षण पनि कुनै निश्चित क्षेत्रमा पानी पार्नको लागि जिम्मेवार रहन्छन् । स्थानीय बादल निर्माण प्रक्रिया धेरै जटिल र चक्रिय छ । जसलाई स्वचालित बनाउनको लागि पनि पानी रोप्न आवश्यक भएको हो ।
विश्वमा धेरै मात्रामा उपलब्ध ताजा पानी नै जमिनको सहतमुनिको पानी हो । त्यसैले सतहमुनिको पानीले विश्वको खानेपानीको ५० प्रतिशत, सिंचाइको ४० प्रतिशत र उद्योगको २५ प्रतिशत माग धानिरहेको छ । नेपालमा हेर्ने हो भने पनि कुल २२ लाख २६ हजार घरधुरीले चापाकल र कुवाको पानी खानेपानीको रूपमा प्रयोग गर्दै आइरहेका छन् ।
योसँगै मूलको र खोल्साको पानी प्रयोग गर्ने घरधुरी हेर्ने हो भने पनि ७० प्रतिशत भन्दा धेरै घरधुरीमा जमिनमुनिकै पानी खानलाई प्रयोग भइरहेको छ । हामीले खानेपानीको रूपमा होस् या सिंचाइको लागि जमिनमुनिबाट धेरै पानी निकालिसकेका छौं ।
जमिनको सतहमुनि पानी आफैं जम्मा हुँदैन । यो जटिल चक्रिय प्रक्रियाबाट हिमालबाट बगेका खोला तथा नदीहरूबाट, समय–समयमा पर्ने वर्षाबाट जम्मा हुने गर्दछ । पानी पर्दा जमिनबाट पानी पुनःभरण (रिचार्ज) हुने र सतहमुनि जम्मा भएर बस्ने, पानी धेरै रिचार्ज भएपछि मूल फुटेर सतहमा बग्ने हामीकहाँ उपलब्ध मुहाने पानीको एउटा महत्वपूर्ण चक्र हो । तर, हामीले यो चक्रलाई बिथोल्यौं ।
एकातर्फ, जंगल फडानी गरेर, सडक, घर इत्यादि बनाउँदा कङ्क्रिटको प्रयोग गरेर, रसायनको प्रयोग गरी खेतबारीको पानी सोस्ने क्षमता नष्ट गरेर, जथाभावी सडक निर्माण गरेर, जथाभावी ढुङ्गा, गिटी उत्खनन् गरेर, हामीकहाँ भएका खोला तथा नदीहरूमा कङ्क्रिटको तटबन्द निर्माण गरेर जमिनको सतहमुनि पानी संकलन हुने प्राकृतिक लय बिगार्यौं ।
जलवायु परिवर्तन र बढ्दो तापक्रमले पानी पर्ने लय र मात्रामा भारी अन्तर आयो । जसले जमिनमुनि पानी कम संकलन हुन थाल्यो । अर्काेतर्फ, उपत्यका तथा तराईमा बढेको जनसङ्ख्या, पशुपालन, उद्योग र पानीको धेरै आवश्यक पर्ने कृषि प्रणालीको प्रसार र स्थानीय सरकारको गहिरो चापाकल (डीप–ट्युबेल)मा अनुदान दिने होडबाजीले गर्दा जमिनमुनि रहेको पानीको अनियन्त्रित उपभोग बढेको छ । जसले जमिनमुनि रहेको पानीको सतह घट्दै गहिरहेको छ ।
यो सँगै पानीका मुहानहरू सुक्नु, इनारमा पानी नहुनु, कुवामा पानी नआउनु सामान्य जस्तै बनेको छ । खानेपानीको समस्याकै कारण कति बस्ती नै बसाइँ सरेको तितो अनुभव पनि हामीमाझ छ । अहिलेको संकटलाई बढ्न नदिन र थप संकट हुनबाट जोगाउन संरचनागत र व्यक्तिगत रूपमै पानी रोप्न जरूरी छ ।
कसरी र कसले रोप्ने पानी ?
“पानी रोप्न सकिन्छ (वाटर क्यान बी प्लान्टेड) ।” प्राकृतिक खेतीका अभियन्ता जापानी किसान मसानबु फुकोआकाले भनेको यो वाक्य एक स्विस किसान अन्स्र्ट गाँचले एउटा दिगो कृषि प्रणाली चर्चा गरिएको एउटा भिडियोमा प्रयोग गरेसँगै चर्चित भयो ।
विश्वभरि बढिरहेको पानीको संकट मानवनिर्मित हो र यसलाई मानिसले नै टार्न सक्छन् भन्ने सन्देश दिने यो वाक्य निकै बलियो र आत्मविश्वासी छ ।
जमिनमुनिको पानीको चक्र र पानीको पुनः पूरणको सिद्धान्तमा आधारित पानी रोप्ने अवधारणा पानीको गति, जमिनमा प्राकृतिक रूपमा हुर्किएका बोटबिरुवाको संरक्षण र विस्तारका साथै पानीको प्राकृतिक संकलनसँग सम्बन्धित छ ।
आकासे पानीको गति कम गरेर पुनः पूरण (रिचार्ज) गर्न रूखहरूले महत्वपूर्ण भूमिका खेल्छन् । माटोको प्रकृति, भूबनोट, नदी, खोला र खोल्साहरूको किनारा, जैविक विविधता र मिश्रित खेतीप्रणाली पानी रोप्ने औजार तथा मेसिनहरू हुन् । रूखहरूले पानी ल्याउँछन् र पानी पार्छन् भनेर विज्ञानले प्रमाणित नै गरिसकेको छ । यसैले पानी रोप्न रूखहरूको संरक्षण र विस्तार गर्न आवश्यक छ । आकासे पानी पर्दा रूखका पातमा ठोक्किएर गति कम हुन्छ र विस्तारै जमिनमा पुग्छ ।
रूखका जराहरूले पानीलाई जमिनको तल्लो भागमा सहजै पुर्याउने बाटो बनाएको हुन्छ । रूख वरिपरिको माटोमा सूक्ष्म जीवहरूको गतिविधि पनि धेरै हुन्छ, गड्यौला लगायत जीवहरूको सक्रियताले माटो खुकुलो हुने र धरण (ह्युमस)को निर्माण हुने हुँदा जमिनको आकाशे पानी सोस्ने र संकलन गर्ने क्षमतामा वृद्धि हुन्छ जसले पानी रोप्न सघाउँछ ।
तर, सबै रूखहरूले पानी पुनः पूरण गर्छन् भन्ने छैन । पछिल्लो समय तराई क्षेत्रमा प्रोत्साहन तथा वितरण गरिएका सपेता, टिक, रबर मध्य तथा उच्च पहाडमा प्रोत्साहन तथा वितरण गरिएका सल्ला तथा धुपीहरू हुर्किन धेरै पानीको आवश्यकता पर्छ ।
त्यसैले यस्ता रूखहरूले जमिनबाट धेरै पानी सोसेर जमिनलाई बञ्जर बनाउँछन् भने यस्ता रूखहरू वरपर धेरै रूखबिरुवा नहुर्किने हुँदा प्राकृतिक जैविक विविधतालाई पनि यस्ता रूखहरूले असर पार्दछन् ।
योसँगै कृषि क्षेत्रमा प्रोत्साहन भइरहेको एकल बाली प्रणाली, अन्धाधुन्द प्रयोग भएको रसायन र विषादी, आवश्यकता भन्दा ठूला मेसिनरीहरू, टनेल र बेमौसमी तरकारी उत्पादन जस्ता कारणले कृषि जमिनको पानी सोसेर राख्ने क्षमता घट्दै गइरहेको छ ।
घट्दो पशुपालनले बारी तथा खेतीमा कार्बन सञ्चिति घटिरहेको छ भने धरणको मात्रा पनि घटेको अध्ययनले देखाएका छन् । त्यसैले मिश्रित तथा अन्तरआश्रित खेती प्रणालीको प्रोत्साहन, खेतबारीमा रसायन तथा विषादीको प्रयोगमा रोक, हरियो मल र वस्तुभाउको मलको प्रयोगमा वृद्धि र मौसम अनुसारको खेती प्रणालीलाई प्रोत्साहन गरेमा हामीले आफ्नो क्षेत्रमा खेतीसँगै पानी पनि रोप्न सक्छौं ।
पछिल्लो समय जलवायु परिवर्तनसँगै आकासे पानी कम पर्ने, एकैचोटि धेरै पानी पर्ने, कुनै ठाउँमा ज्यादै पानी पर्ने र डुवान हुने, कुनै ठाउँमा लामो समयसम्म खडेरी हुने जस्ता समस्या देखिएका छन् । यस्तो अवस्थामा पानीको गतिलाई कम गर्ने (जस्तै रूख बिरुवाले जमिन ढाकेर राख्ने), पानी सञ्चय गर्ने (वर्षाको पानी सञ्चय गर्ने पोखरीहरूको निर्माण गर्ने) र माटोलाई पानी खुवाउने प्रणालीहरूको निर्माण गरेर पानी रोप्न सकिन्छ ।
अन्त्यमा, पानीलाई संरचनात्मक रूपमा तीनै तहका सरकारले, अनुसन्धानको रूपमा विभिन्न शैक्षिक संघसंस्थाले, प्रचारको रूपमा गैरसरकारी संघसंस्थाले र स्वदायित्वको रूपमा हरेक एक व्यक्तिले आजैदेखि रोप्न सुरु गर्न आवश्यक छ ।
आज मलाई पानीको समस्या छैन भनेर बस्यो भने भोलिको पुस्ताले पानीकै लागि युद्ध गर्नपर्ने, पानी खान नपाएर बसाइँ सर्नुपर्ने अवस्था आउने निश्चित छ । त्यसैले आजको दिनदेखि नै छिमेकी मुलुक भारत, मध्यएशिया जस्ता देशमा आएका संकटहरूबाट पाठ सिक्दै आज र भोलिका लागि पानी रोप्न ढिलो भइसक्यो ।
(लेखक फरेष्ट एक्सन नेपालमा पर्यावरणीय कृषिको अनुसन्धानकर्ताको रूपमा कार्यरत छन् ।)
प्रतिक्रिया 4