+
+

मुन्दुम ट्रेलको अस्तित्वमा सडक बाटोले बोलेको धावा

गाउँ छोड्न लागेका राई माइलाहरू मात्र होइन, छोडेर गइसकेकालाई पनि गाउँ फर्काउनका लागि मुन्दुम ट्रेललाई गाडीको बाटोबाट बचाउन अपरिहार्य छ ।

श्याम सामसोहाङ राई श्याम सामसोहाङ राई
२०८१ असार २० गते ११:३८

अन्ततः लामो प्रतीक्षापछि चलचित्र ‘गाउँ आएको बाटो’ हेर्ने मौका मिल्यो । गोर्खा वारियर्स इभेन्ट्सले ल्याएको चलचित्रलाई अल्डरशटको सिने वल्र्ड हलमा पहिलो पटक युकेमा प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मका प्रमुख कलाकार दयाहाङ राई पनि उपस्थित थिए । दयाहाङ राई विद्यालय तहमा सँगै पढेको साथी हो । तर साथी मात्र नभएर राम्रो कलाकार पनि भएकोले दयाहाङको यो फिल्मको प्रतीक्षा थियो । उसमाथि निर्देशक नवीन सुब्बाको फिल्मप्रतिको बुझाइ र गाम्भीर्यले त तान्ने नै भयो ।

चलचित्रमा किरात गाउँको कथा छ । मुन्दुम दर्शनमा आधारित पारिवारिक, सामाजिक, सांस्कृतिक अभ्यासदेखि अर्थ–राजनीतिसम्मका विषयलाई यसरी फ्युजन गरिएको छ कि त्यसबाट समाजका कोही पनि अछुतो रहन सक्दैन । त्यसैले गाउँ आएको बाटोलाई लिएर समाजशास्त्री, राजनीतिज्ञ, उद्योगी, व्यापारी, कवि, कलाकार, पत्रकार सबैले आफ्नो विचार राख्ने गतिलो प्लेटफर्म पाए । यहाँसम्म कि गण्डकी प्रदेशको प्रदेश सभामा समेत यो फिल्मको कथा छलफलको विषय बन्यो ।

मार्क्सवादी दृष्टिकोणबाट हेर्नेहरूले गाउँ आएको बाटोले बहुराष्ट्रिय कम्पनीहरूका उत्पादनहरू बोकेर आयो जसकारण पूँजीवाद गाउँसम्म भित्रियो । त्यसले स्थानीय रूपमा चल्दै आएका साना व्यवसायहरूलाई विस्थापित मात्र गरेन आत्मनिर्भर अर्थ प्रणालीलाई पनि तहसनहस गर्‍यो । त्यही नै चलचित्रको मेरुदण्ड रहेको विचार राखे ।

आदिवासी चेतनाको दृष्टिकोणबाट हेर्नेहरूले राज्यले आदिवासीहरूमाथि गरेको सांस्कृतिक अत्याचार र अतिक्रमणलाई चलचित्रले जबर्जस्त रूपमा उठाएको सम्झे । आम दर्शकले बाबु-छोराको कारुणिक पारिवारिक कथाको रूपमा बुझे । सबैले आ–आफ्नो हेराइमा चलचित्रलाई बुझे अनि अथ्र्याए ।

म त्यही भोजपुरबाट उच्च शिक्षाको खोजीमा गाउँ छाडेर काठमाडौं आएँ । त्यसपछि गाँस-बास–कपासको खोजीमा देश छोडेर हिंडेको छु । विदेशमा बसेर यो चलचित्र हेरिरहँदा निकै भावुक हुन पुगें । अहिले चलचित्रले दिन खोजेको सन्देशले आफैं लागेर स्थापित गरेको मुन्दुम ट्रेलको अस्तित्व खतरामा परेको भान भइरहेको छ । चलचित्रमा समावेश कथा र परिवेश मेरै गृह जिल्ला भोजपुरको हो । पर्यटकीय गन्तव्यको रूपमा चर्चा पाउँदै गरेको मुन्दुम ट्रेलका खास क्षेत्रहरू पनि भोजपुरमै पर्छन् । चलचित्रले देखाएको मुन्दुममा आधारित जीवनपद्धति र संस्कार पनि मुन्दुम ट्रेलको अनुपम विशेषता हो ।

मुन्दुम ट्रेल हाल भोजपुरको टेम्के डाँडादेखि साल्पा सिलिचुङसम्म सञ्चालनमा आइसकेको छ । तर ग्रेटर मुन्दुम ट्रेलले भने सप्तकोशीको खुवालुङदेखि सगरमाथासम्मको भूभागलाई समेटेको छ । ग्रेटर मुन्दुम ट्रेल नै नेपालको पहिलो ट्रेल हो जसले तराई, पहाड र हिमालसम्मको भूगोल समेटेको छ । र यो संसारकै पहिलो ट्रेल पनि हो जो समुद्र सतहको १५० मिटरमा अवस्थित खुवालुङदेखि सगरमाथाको ८८४८.८४ मिटरसम्म पुग्छ ।

वर्तमानमा एस.डी.सी. मार्फत स्वीस, प्रदेश र स्थानीय सरकारको त्रिपक्षीय लगानीमा ट्रेलको स्तरोन्नति र विभिन्न पूर्वाधारहरूको निर्माण कार्य जारी छ । केन्द्र सरकारले समेत हरेक बजेट भाषणमा बजेटको व्यवस्था गर्दै आएको छ, जो धेरै सकारात्मक छ ।

गाडीको बाटो भोजपुरसम्म ल्याउन भोजपुरेहरूले गरेको संघर्षको कथा लामो छ । ढाकरमा भारी बोकेर धरान पुग्न ५ देखि ७ दिन लाग्थ्यो भने धनकुटाको हिले पुग्न ३ देखि ५ दिन । लत्ताकपडा, नुनतेल र साबुन बाहेकको कुरामा धेरै हदसम्म भोजपुर आत्मनिर्भर थियो । बरु आफ्नो उत्पादनहरू अलैंची, सुन्तला, चिराइतो, रुद्राक्ष लगायत निर्यात गर्न उनीहरू त्यता जान बाध्य थिए । आउँदा एक वर्षभरिलाई पुग्ने एक-एक भारी नुनतेल बोकेर आउँथे । दश वर्ष अगाडि मात्र भोजपुरमा गाडी आयो । गाउँ आएको बाटोले अनेकौं थरी सामान ढुवानी गर्न सजिलो भयो । तर रैथाने सीपबाट बाँचेकाहरूको जीवनमा भने प्रतिकूल असर पर्‍यो । गाउँमा गाडी आउनुका कैयौं सकारात्मक पक्ष छन् । तर बदलिंदो परिवेशसँगै आएका चुनौती झेल्न नसक्दा धेरै राई माइलाको जीवन अझ कष्टप्रद हुन पुग्यो ।
भोजपुरेहरू गाडीको यति प्यासी भएछन् कि आज उनीहरूको घरघरमा गाडीको बाटो मात्र होइन मोटरसाइकल पनि पुगेको छ । त्यतिले मात्र उनीहरूको प्यास कहाँ मेटियो र, जहाँ कुनै बस्ती नै छैन खेतीपाती पनि छैन सुनखानी पनि छैन । त्यस्तो डाँडाकाँडामा समेत कसले छिटो गाडी पुर्‍याउने भनेर प्रतिस्पर्धा चलेको छ । दुई साता अघि मात्र, मैयुङ डाँडाको बेसक्याम्पसम्म बाटो पुर्‍याउनको लागि ६ करोड बजेट मिलेको खबर सामाजिक सञ्जालमा छायो । सामाजिक सञ्जालमा यो एक खुशीको खबरका रूपमा प्रकाशित थियो । तर यो आफैंमा दुर्भाग्य हो ।

ग्रेटर मुन्दुम ट्रेललाई सिंगो शरीरको रूपमा हेर्ने हो भने खुवालुङ खुट्टा हो । त्यस्तै टेम्के मैयुङ मुटु अनि साल्पा सिलिचुङ र सगरमाथा शिर हो । मुन्दुम ट्रेलको मुटु मैयुङ डाँडामा गाडीको बाटो पुर्‍याउन वर्तमानमा तीनतिरबाट प्रतिस्पर्धा चलेको छ । पहिलो षडानन्द नगरपालिकाको तालखर्कतिरबाट, दोस्रो टेम्के मैयुङको पाङखाङबाट र तेस्रो केपिलासगढीको फेदीबाट बाटो पुर्‍याउने प्रयास भइरहेको छ । मुन्दुम ट्रेलको मुटुमै तीनतिरबाट प्रहार भएपछि त्यो अब कति दिन बाँच्छ भन्ने चिन्ता छ ।

उता मुन्दुम ट्रेल प्रवर्धन गर्ने हाम्रो संस्थाले सन् २०२५ लाई मुन्दुम ट्रेक भ्रमण वर्ष मनाउने भनेर धुमधाम तयारी थालिसकेको छ । यसको लागि तीनै तहको सरकारसँग सहकार्य गरिरहेको छ । त्यस भ्रमण वर्षलाई सफल बनाउन स्वयं नायक दयाहाङ राई सद्भावना दूत घोषित भएका छन् । भ्रमण वर्षमा एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गरिरहेको छ । यसले आर्थिक रूपमा स्थानीयलाई राम्रै फाइदा हुन्छ । यो चलचित्रका पात्र राई माइला जस्तालाई गाउँमै बस्नको लागि आधार दिने उपाय पनि हो ।

हिजोको दिनमा नेपालको अन्नपूर्ण बेसक्याम्प ट्रेक विश्वको उत्कृष्ट तीन भित्र थियो तर सरकारले विकासको नाममा ट्रेलमाथि जताततै डोजर चलायो । परिणाम त आज उत्कृष्ट १० मा पनि पर्दैन । त्यस ट्रेलमा काम गर्ने भरियाहरू गाउँ छाडेर खाडी गए । होटल गरेर खानेहरू गाडीको धुलो खाएर बसेका छन् । नेपालको अधिकांश ट्रेलको हालत यस्तै छ ।

आजकल मानिसहरू भौतिक विकासदेखि वाक्क भएर प्राकृतिक जीवनको खोजीमा हिंड्न थालेका छन् । प्रकृतिले हामीलाई सबैथोक दिएको छ । त्यसैले ती प्राकृतिक चिजलाई भत्काएर विदेशी मोडेलको विकासमा दौडियौं भने हामी अगाडि जाने नाममा पछि पर्छाैं ।

हामीलाई थाहा छ कि अहिले मैयुङ डाँडामा गाडी लैजान लागिपरेकाले पनि गाउँलाई उत्तिकै माया गर्नुहुन्छ । उनीहरूको मुख्य ध्येय भनेको गाउँको विकास हो । तर प्रकृतिको महत्व नबुझी अनि संस्कृति र इतिहास मासेर गरेको भौतिक विकासले समृद्धि दिलाउँदैन । सडकले पदमार्गमा रमाउने पर्यटकहरूको मन मात्र कुँडिने छैन पदमार्गमा हिंड्ने पर्यटकले चलायमान बनाउने आर्थिक गतिविधि पनि रोकिन्छन् ।

गाडीको बाटो पुग्दैमा पर्यटक सजिलै पुग्छन् भन्ने हैन । कस्तो प्रकारको पर्यटन गन्तव्य हो, त्यो हेरी हामीले सडक वा मार्ग निर्माण गर्नुपर्छ । मुन्दुम ट्रेल प्रकृतिसँग रमाउने पर्यटकको लागि हो, विलासितामा रमाउने पर्यटकको लागि हैन । सडक निर्माणले प्रकृतिमा रमाउँदै यात्रा गर्न चाहने पर्यटकको मन खल्लो बनाउँछ । परिणामतः पर्यटकको आगमन नै घट्दै जान्छ । उदाहरणको रूपमा, भोजपुरको टेम्केको चुचुरोमा गाडी पुगेको वर्षौं भइसक्यो । तर मान्छेहरू भने मैयुङतिर आउँछन् । किन त ? किनभने मैयुङले अझै पनि आफ्नो जैविक र प्राकृतिक अवस्था जोगाएर राखेको छ ।

त्यसैले गाउँ छोड्न लागेका राई माइलाहरू मात्र होइन, छोडेर गइसकेकालाई पनि गाउँ फर्काउनका लागि मुन्दुम ट्रेललाई गाडीको बाटोबाट बचाउन अपरिहार्य छ । कृपया गाउँ आएको बाटोलाई गाउँसम्म सीमित राख । प्राकृतिक चिजलाई नभत्काऊँ त्यसैमा सबैको हित छ ।

भोजपुर निवासी राई अहिले बेलायतको अल्डरशटमा बस्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?