मनसुनसँगै डेंगुको प्रकोप बढ्दो छ । सरकारी तथ्यांकलाई आधार मान्ने हो भने हाल नेपालको ७० भन्दा बढी जिल्लामा डेंगु देखा परिसकेको छ । हुन त पछिल्लो समय डेंगु नेपालमा लगभग बाह्रै महिनाजसो देखिन थालिसकेको छ । विगतको अनुभवलाई हेर्ने हो भने डेंगुले प्रकोप वा महामारीको रुप लिंदा सिटामोलको चरम अभाव हुने गरेको देखिएको थियो ।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरस हो । नेपालमा पहिलो पटक झण्डै २० वर्ष अगाडि पुष्टि भएको थियो । सन् २०२२ मा काठमाडौंमा फैलिएको डेंगु महामारीमा संक्रमित र मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा हालसम्मकै ठूलो मानिन्छ । पहिले दुई-तीन वर्षको अन्तरालमा देखिने डेंगु प्रकोप पछिल्लो समय वर्षेनी अझ वर्षभरि नै देखिन थालेको छ । काठमाडौंमा भने पहिलो पटक सन् २०१० मा स्थानीय डेंगु पुष्टि भएको थियो । त्यसपछि काठमाडौंमा डेंगु देखिंदै आइरहेको तर हरेक प्रकोपसँगै डेंगुले थप जटिल स्वरुप लिंदै गइरहेको छ । डेंगु डेन-१, डेन-२, डेन-३ र डेन-४ गरी चार प्रकारका हुन्छन् । नेपालमा सबै चार प्रकारका डेंगु प्रमाणित भइसकेको छ ।
एडिस जातको लामखुट्टेले डेंगु फैलाउन मुख्य भूमिका खेल्ने गर्छ । नेपालमा यो प्रजातिको लामखुट्टे पछिल्लो समय व्यापक देखिंदै आइरहेको छ । सेतो-कालो छिरबिरे रंगको देखिने यो लामखुट्टे विशेषगरी दिनमा बढी सक्रिय हुने गर्छ । यसर्थ कार्यस्थल वा दिनमा बढी समय बिताउने ठाउँमा यो लामखुट्टेले टोक्ने सम्भावना अधिक हुने गर्छ । त्यसैले आ-आफ्ना घर बाहेक कार्यस्थल/कार्यालय/शिक्षण संस्थाहरुमा केही समय निकालेर भएपनि ‘लामखुट्टे सिजन’ भरि लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने जाँगर देखाउनुपर्छ ।
डेंगु नियन्त्रण गर्ने वा फैलिनबाट रोक्न वा रोक्ने लक्ष्य लामखुट्टेको लार्भा नष्ट गर्ने/नियन्त्रणको कार्य सफलतामा भर पर्छ । एडिस लामखुट्टे वयस्क भइसकेको अवस्थामा भने यसको टोकाइबाट बच्च सक्ने कुरा त्यति व्यावहारिक हुँदैन ।
दुखाइ भनेको नै डेंगु हो भन्दा अत्युक्ति नहोला । दुखाइको स्तर यति धेरै हुन्छ कि सम्भवत: त्यो दुखाइ बिरामीले जीवनमा नै पहिलो पटक अनुभूति गरेको भन्ने अनुभव सुनाउने गरेको लेखकलाई सम्झना छ । डेंगुको विशेष एन्टि-भाइरल औषधि नहुँदा लक्षणमा आधारित उपचार गर्ने गरिन्छ । कडा दुखाइ डेंगुको मुख्य लक्षण भएकाले दुखाइ कम गर्ने वा ‘पेन किलेर’ बिरामीको लागि मुख्य औषधि हुने गर्छ । तर दुखाइ कम गर्ने केही औषधि चिकित्सकले नचाउन सल्लाह दिने गर्छ । ब्रुफेन, फ्लेक्सन, एस्पिरिन जस्ता ‘पेन किलर’ औषधिले डेंगु बिरामीमा जटिलता निम्त्याउन सक्ने भएकाले हालको निर्देशिका अनुसार प्रयोग नगर्न सल्लाह दिइन्छ । तर सिटामोल भने प्रयोग गर्न सकिनेछ ।
डेंगुले महामारीको रुप लिंदा र यसको मुख्य लक्षण दुखाइको कडा अनुभव लगभग सबै बिरामीले गर्ने हुँदा दुखाइबाट मुक्ति पाउन सिटामोलको उच्च मागले चरम अभाव हुने गरेको अनुभव हामीसँग छ । गर्मी र वर्षातको समयमा ज्वरो र दुखाइ जस्ता लक्षण देखिने संक्रामक रोगहरु व्यापक फैलिने हुँदा पनि सिटामोलको माग ह्वात्तै बढ्ने गर्छ । फलस्वरुप बजारमा सिटामोलको चरम अभाव सिर्जना हुनपुग्छ ।
डेंगुसँग मिल्दोजुल्दो लक्षणहरु देखिए वा पुष्टि भएमा जथाभावी औषधि आफैंले किनेर खाने गर्नुहुँदैन । चिकित्सकसँग परामर्श गरेर मात्र औषधिको सेवन गर्नु उपयुक्त हुन्छ । जथाभावी औषधि खाँदा त्यसको नकारात्मक प्रभाव देखिने जोखिम हुन्छ । डेंगुमा अत्याधिक दुखाइ हुने हुँदा त्यसबाट मुक्त हुन खोज्नु स्वभाविक पनि हो । तर ब्रुफेन, फ्लेक्सन, एस्पिरिन जस्ता पेन किलर औषधिको अत्याधिक प्रयोगले रोगलाई जटिलतातिर लैजान सक्ने सम्भावना बढेर जान्छ ।
सन् २०२२ मा काठमाडौंमा देखिएको डेंगु महामारीमा धेरै बिरामीले सिटामोल नपाएर बाध्य भई ब्रुफेन, फ्लेक्सन, एस्पिरिन जस्ता पेन किलेर खानु परेको भनेका थिए । त्यसैले सिटामोल प्रयोग गर्न सकिने भएपनि एकैपटक धेरै संक्रमित हुने हुँदा सिटामोलको अभाव हुनसक्ने भएकाले आपूर्तिमा कमी हुन नदिन सम्बन्धित निकायले पनि बेलैमा सोच्ने कि ?
प्रतिक्रिया 4