+
+

धराप थापे जस्ता काठमाडौंका सडक

आभास बुढाथोकी आभास बुढाथोकी
२०८१ असार २० गते १९:०७

२० असार, काठमाडौं ।  पठाओ राइडर विकल शाक्य यात्रु सहित बुधबार बिहान काठमाडौं नयाँबजारस्थित सोह्रखुट्टे–बालाजु सडकखण्डमा परेको खाल्डोमा खस्न पुगे । त्यहाँ लामो समयदेखि खानेपानीको पाइपबाट पानी चुहिंदा माटो गल्दै गएर ठूलै भ्वाङ परेको थियो ।

११ फिटभन्दा गहिरो खाल्डोमा खसेको मोटरसाइकल निकाल्न उद्धार टोलीलाई डेढ घण्टा भन्दा बढी समय लागेको थियो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार ‘लिकेज’ भएको पाइप सुन्दरीजल खानेपानी आयोजनाको हो । तर, यहाँ कहिलेदेखि पाइपबाट पानी चुहिएको थियो भन्ने केयूकेएललाई जानकारी छैन । नयाँबजार धारागल्ली क्षेत्रका बासिन्दाका अनुसार त्यहाँ अन्य ठाउँमा पनि खानेपानीको पाइपबाट पानी चुहिएको छ । जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने भनेर वर्ष दिनअघि नै पाइप टाल्न खबर गरे पनि सुनुवाइ नभएको उनीहरु बताउँछन् ।

सोह्रखुट्टे–बालाजु सडकखण्डमा खानेपानी पाइपले बनाएको भ्वाङ ।

सडक डिभिजन कार्यालय काठमाडौंका इञ्जिनियर प्रमोद खतिवडाले विगतमा सडकमुनि बिछ्याइएका पाइपलाइन विस्तार गर्दा भएको त्रुटिले सडक धस्सिने, खाल्डो पर्ने जस्ता समस्या देखिएको बताउँछन् ।

‘खानेपानी जस्ता विभिन्न निकायहरुले अन्डरग्राउण्ड पाइपलाइन बिछ्याउँदा राम्रोसँग समन्वय हुन सकेन’ इन्जिनियर खतिवडाले भने, ‘त्यतिबेला भएका त्रुटिका कारण समस्या अहिले देखा परिरहेको छ ।’ तर पछि बनेका सडकहरुमा भने त्यो समस्या नरहेको उनको दाबी छ ।

गत शुक्रबार काठमाडौंकै नागार्जुन नगरपालिका–६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालक ४५ वर्षीय पूर्ण दर्नालले ज्यान गुमाए ।

बिहान करिब साढे २ बजे बा प्र ०२७ च ०४९१ नम्बरको कार कल्भर्टमा खसेको थियो । धमिलो पानीले भरिएको सडक छेउको कल्भर्ट नै उनको मृत्युको कारण बन्यो ।

यसअघि ८ असोज २०७८ मा कपनको ढलले बगाउँदा एक बालकले ज्यान गुमाए । हजुरबासँग घर फर्कंदै गरेका कपनका १० वर्षीय उज्ज्वल विश्वकर्मा ढलमा परेर बेपत्ता भएका थिए । ढलले बगाएको ३ दिन पछि मात्र बालकको शव फेला परेको थियो ।

संघीय राजधानी र देशकै ठूलो महानगरपालिका काठमाडौंकै सडक छेउका खाल्डा, कल्भर्टमा परेर ज्यानै जाने गरी भएका घटनाको सूची लामो छ । २०७५ मा काठमाडौंको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मूलगेट नजिकै ढलमा खसेर श्याम श्रेष्ठले ज्यान गुमाएका थिए ।

साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकेर मृत्यु भएको थियो । त्यहाँ महिनौंदेखि ढलको ढकनी थिएन । बिहान उज्यालो नहुँदै साइकल चलाउँदा उनी खाल्डोमा खसेको प्रहरीले अनुमान गरेको थियो ।

२०७४ सालमा सामाखुसीको ढलले बालिका सत्या सापकोटालाई पनि बगायो । तर, उनी बाँच्न सफल भइन् । यी केवल बाहिर आएका र मानवीय क्षति भएका घटना मात्रै हुन् । काठमाडौं उपत्यकाभित्र सडककै कारण दैनिकजसो दुर्घटना भइरहन्छन् । सवारी चालक मात्रै होइन, यात्रुले पनि सास्ती पाइरहेकै छन् ।

अव्यवस्थित सडक, कल्भर्ट, ढलहरु नागरिकका लागि पासो बनिरहेका छन् । यस्ता पासोमा परेर सर्वसाधारणले अनाहक ज्यान गुमाउनु परिरहेको छ । मनसुन सुरु भएसँगै खोलानाला, ढलमा मात्रै होइन, सडकमा परेका खाल्डाखुल्डीमा पनि पानी जम्दा दुर्घटनाको जोखिम बढाएको छ ।

सुस्त निर्माणले धराप

तीनकुनेस्थित बागमती नदीमा लापरवाहीपूर्वक बनाएको भन्दै पक्की पुल भत्काइएको थियो । पुल भत्काएको ठाउँमा नयाँ पुल नबनाउँदा त्यहाँ पनि दुर्घटनाको जोखिम छ ।

५ असोज २०८० को बिहान सवा ४ बजे उक्त पुलको किनारमा पानी जमेको खाल्डामा पर्दा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिकाका सरोज गुरूङको ज्यान गएको थियो । मोटरसाइकलमा सवार सुशील गुरूङ घाइते भएका थिए ।

कपनमा काठमाडौं महानगरपालिका र बूढानीलकण्ठको सिमाना छुट्याउने खहरे खोलामाथि पर्खाल निर्माणको काम चलिरहेको छ । अघिल्लो वर्ष महानगरले सडक खोतलेर खोला खोलेको थियो ।

अहिले उक्त खोलामा पर्खाल निर्माण गर्ने कार्य भइरहेको छ । बस्तीको बीचमा पर्ने उक्त खोलामा पर्खाल निर्माण सुस्त छ । केही ठाउँहरुमा खोलाका भाग खुला छोडिएको छ ।

३ वर्षअघि कपनको ढलमा बगेर १० वर्षीय बालकको मृत्यु भएको थियो । अहिले बर्खा सुरु भएर ढलमा पानी बढ्न थालेपछि फेरि कुनै दुर्घटना हुने हो कि भनेर स्थानीय सशंकित छन् ।

कपनमा निर्माणाधीन ढल ।

‘बस्तीबीचमा खनिएको खोला खुला छोडिएको छ । पर्खाल निर्माण पनि सुस्त छ’, स्थानीय रिना केसी भन्छिन्, ‘खोला बढिरहेको छ, यसले कुनै घटना निम्त्याउने हो कि भनेर डराइरहेका छौं ।’

सडक डिभिजन कार्यालयका इन्जिनियर खतिवडाले डिभिजन अन्तर्गतका सडकहरु खाल्डाखुल्डी परे वा भत्किएमा तत्काल मर्मतसम्भार गर्ने गरिएको बताए ।

‘सडकमा समस्या देखिए जतिबेलै खटिने टिम तयारी अवस्थामा राखेका हुन्छौं’ उनले भने, ‘नागरिक तहबाट त्यस्ता गुनासो आए टोली पठाएर तत्काल बिग्रे भत्केका सडकहरु बनाउँछौं ।’

नेपाल सरकारका पूर्वसचिव किशोर थापा सडक, नाला जस्ता भौतिक पूर्वाधारहरु निर्माण अघि र निर्माणपछि पनि विशेष ध्यान दिनुपर्ने बताउँछन् । ‘सडक जस्ता पूर्वाधार निर्माण गर्दा छिटो गर्ने होडमा गुणस्तरीयता माथि ख्याल गरि‌दैन’, उनले भने, ‘निर्माण व्यवसायीले पनि लापरवाही गर्ने र नियमन निकायले चासो नगर्दा सडकहरु कमजोर निर्माण हुन्छन् ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?