+
+

खल्तीमै अड्कियो रास्वपा मन्त्रीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १९:२४

२० असार, काठमाडौं । जुन बेला प्रचण्ड मन्त्रिपरिषद् नियमित दिनचर्यामा थियो, त्यस बेलै रास्वपाका मन्त्री खल्तीमा राजीनामा बोकेर हिँडेको बताउने गर्थे । काम गर्न नदिए, वा गर्न नसके तुरुन्तै सरकारबाट हट्न आफूहरूलाई केहीले र कोहीले रोक्न नसक्ने प्रतिक्रिया दिन्थे ।

जस्तो कि युवा तथा खेलकुद् मन्त्री विराजभक्त श्रेष्ठले १ असारमा भनेका थिए, ‘रास्वपा यो सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौं ।’

मन्त्री श्रेष्ठको बोलीलाई लिएर संसदमा छेडखानी पनि चलेको थियो । कांग्रेस उपसभापति धनराज गुरुङले राजीनामा पत्र बर्खामा खसेर भिज्न सक्ने भएकाले लेमिनेसन गरेर राख्न व्यङ्ग्यामक सुझाव दिएका थिए ।

यो बीचमा प्रधानमन्त्री प्रचण्डले मूख्य साझेदार एमालेको समर्थन फिर्तासँगै पदमा बसिराख्ने राजनीतिक सामर्थ्य गुमाएका छन् । अब उनको संसदीय शक्तिको औपचारिक परीक्षण हुनमात्रै बाँकी छ । संसदको ठूलो दल कांग्रेसले प्रचण्डलाई राजीनामा दिन भनिसकेको छ । अनि एमालेले आफ्ना मन्त्री फर्काइसकेको छ ।

तर खल्तीमै राजीनामा बोकी हिँडेको बताउने रास्वपा मन्त्रीहरु भने पदमै बहाल छन् ।

उनीहरु बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा बुझाउने तयारीमा थिए । बालुवाटार पुगेका उनीहरुलाई प्रधानमन्त्रीले फस्ल्याङफुस्लुङ पारिदिए ।

बिहान ८ बजे चिठी बोकेर पुगेर पुगेका मन्त्रीहरुमा पार्टी सभापति तथा उपप्रधानमन्त्री रवि लामिछाने सहित पार्टीका उपसभापति समेत रहेका श्रममन्त्री डिपी अर्याल थिए । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार उनीहरुसँगै थिए ।

प्रचण्डले भने आफूले संसदमा विश्वासको मत लिने तयारी गरेको भन्दै त्यसबेलासम्म कुर्न आग्रह गरे ।

प्रधानमन्त्रीसँग बैठकपछि पार्टीका संसदीय दल प्रमुख सचेतक सन्तोष परियारले भने, ‘उहाँले विश्वासको मत लिन्छु, म सदन फेस गर्छु भनिसकेपछि उहाँको संवैधानिक अधिकारलाई त सम्मान गरिदिनुपर्‍यो नि ।’

रास्वपा मन्त्रीलाई यो थाहा नभएको होइन कि संसदमा अहिले प्रधानमन्त्री अल्पमतमा छन् । पहिलो र दोस्रो ठूलो दलले नै विश्वास नदिएपछि प्रचण्डका लागि संसद फेस गर्ने कुरा प्राविधिक प्रक्रियामात्रै हो, तै पनि रास्वपा किन अझै मन्त्रिपरिषदमा बसिराख्न चाहन्छ त ?

सत्ता गठबन्धनमा आफ्नो पार्टी साझेदार भइसकेपछि सरकार नढल्दासम्म आफ्नो जिम्मेवारी रहिराख्ने रास्वपा नेतृत्वको तर्क छ । प्रमुख सचेतक परियार भन्छन्, ‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत लिन ढिला नगर्नुस् भनेका छौं, प्रधानमन्त्रीले म विश्वासको मत लिँदैछु भनिसकेपछि सत्ता साझेदार दलका हिसाबले जिम्मेवारी हाम्रो पनि हो नि त ।’

उनले आफ्नो दललाई सत्ता स्वार्थ नभएको समेत दाबी गरे । यहाँसम्म सँगसँगै प्रधानमन्त्रीलाई साथ दिएर आइसकेपछि यसको उठान गरिसकेपछि बैठान पनि त गर्न पर्‍यो नि । संस्कारको विकास पनि गर्नुपर्छ ।’

आफ्नो दल अरु दलझैं कुनै गठबन्धनमा लागिनसकेको उनले बताए । प्रधानमन्त्रीले सरकारमा टिक्ने सूत्र वा कुनै नयाँ समीकरणको आशा देखाउनुभएको हो भनी सोधिएको प्रश्नमा परियारले त्यसबारे केही कुरै नभएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?