+
+

कान्तिपुर सहकारी ठगीमा थुनामा परेका सीबीविरुद्ध पशुपतिमा मुद्दा नचलाइने

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा फाइल बुझाइँदै

कान्तिपुर सहकारी ठगीमा पक्राउ परेका सीबी लामालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १८:४०

२० असार, काठमाडौं । पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष चन्द्रबहादुर (सीबी) लामाविरुद्ध प्रहरीले ठगी मुद्दा नचलाउने भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामाविरुद्ध परेको जाहेरी र फाइल समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई बुझाउने तयारी गरेको छ ।

सहकारी अध्यक्ष लामा भने कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको ठगीमा पुर्पक्षका लागि थुनामा छन् । प्रहरी वृत्त बानेश्वरले उक्त सहकारीका अध्यक्ष हिमालयनविक्रम मल्ल ठकुरी सहित प्रबन्धक प्रेमध्वज लामा, पूर्वअध्यक्ष सीबी लामा समेतलाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा लगिसकेको छ ।

सहकारी ऐनले समस्याग्रस्त सहकारीको बचत दायित्व तथा सम्पत्ति राफसाफ गर्ने जिम्मा सहकारी व्यवस्थापन समितिलाई दिएको छ । पशुपति सहकारी समस्याग्रस्त घोषणा भएर समितिले राफसाफ प्रक्रिया अगाडि बढाएको छ ।

समितिले सहकारी र लामाको सम्पत्ति खोज्ने, रोक्का गर्ने र अनुसन्धान गर्ने काम गरिरहेका कारण सरकारका दुइटै निकायले एउटै मुद्दामा अनुसन्धान आवश्यक नभएको भन्दै सीआईबीले समितिलाई फाइल बुझाउन लागेको सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवालीले बताए ।

पशुपति सहकारीमा मुद्दा नचले पनि कान्तिपुर सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका लामा दोषी ठहर भए उनलाई सजाय हुनेछ ।

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष लामाले उक्त सहकारीमा आफू अध्यक्ष र पशुपति सहकारीमा श्रीमतीलाई अध्यक्ष बनाएर दुवैबाट रकम अपचलन गरी आफ्नो घरजग्गा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

तर, २०७४ सालमा सहकारी ऐनमा एकै परिवारका दुई जना एउटै सहकारी सञ्चालक हुन नपाउने व्यवस्थासँगै लामाले हिमालयनविक्रम मल्ल ठकुरीलाई कान्तिपुरको अध्यक्ष बनाएर आफू पशुपति सहकारी अध्यक्ष भएका थिए ।

दुवै सहकारीबाट रकम अपचलन गरेका लामालाई सहकारी विभागले १९ जेठ २०८० मै पशुपति सहकारी ठगीमा अनुसन्धानका लागि सीआईबीमा पत्राचार गरेको थियो ।

एक वर्षसम्म पनि पक्राउ नभएका उनीविरुद्ध कान्तिपुर सहकारी ठगीमा पनि जाहेरी दर्ता भएपछि प्रहरी वृत्त बानेश्वरले २० फागुन २०८० मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि अनुसन्धान सुरु गरेको थियो ।

त्यसपछि फरार लामालाई प्रहरीले १९ जेठ २०८१ मा चितवनबाट पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका लामा कान्तिपुर सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा छन् ।

यसैबीच एक वर्षदेखि सीआईबीमा रहेको पशुपति सहकारी ठगीको फाइल भने अब समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पठाउन लागिएको सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवालीले बताए ।

सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले १ साउन २०८० मा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । २९ फागुन २०७९ मै सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस भए पनि १ साउन २०८० मा मात्रै समस्याग्रस्त घोषणा भएको थियो ।

सहकारीलाई समस्याग्रस्त घोषणा गरेर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सम्पत्ति रोक्का गर्ने र सम्पत्ति खोजी गर्ने काम सुरु गरेकाले समितिले नै जाहेरी दिने बचतकर्ताको रकम दामासाही रूपमा फिर्ता गर्ने गरी समितिमा पठाउन लागिएको एआईजी ज्ञावालीले बताए ।

सीआईबीमा बचतकर्ताको ७० करोडभन्दा बढीको जाहेरी परेको छ । उक्त जाहेरी सहित सबै फाइल समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाउन लागिएको सीआईबीले जनाएको छ ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि पनि लामा चितवन लगायत ठाउँमा जग्गा कारोबार गरिरहेका थिए । एक अनुसन्धान अधिकृतका अनुसार लामाले भरतपुरकै डिलमाया तामाङको नाममा डिम्बा होल्डिङ प्रालि नामको रियल इस्टेट कम्पनी खोलेर घरजग्गा कारोबार गर्दै आएको खुलेको छ ।

कारोबारका लागि बैंक खातासमेत डिलमायाको प्रयोग गरेको देखिएको थियो । डिलमाया भने सीबीको आफन्त नभई चिनेजानेका व्यक्ति मात्रै हुन् ।

जग्गा सम्बन्धी काम गर्दा नै डिलमायासँग चिनजान भएपछि मिलेर काम गरौं भन्दै डिलमायालाई विश्वासमा पारेर उनले काम गर्न थालेको अनुसन्धानबाट खुलेको छ । लामाले भने प्रहरी समक्ष भरतपुरको घरजग्गा कारोबार आफ्नै विगत १० वर्षदेखिको व्यवसाय भएको दाबी गरेका छन् ।

‘घरजग्गा कारोबारमार्फत सहकारी पीडितहरूको रकम फिर्ता प्रयास गर्दै थिएँ,’ लामाले प्रहरी समक्ष बयानमा भनेका छन् ।

कान्तिपुर सहकारीको मुद्दामा पक्राउ अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पनि पुर्पक्षका लागि कारागारमा छन् ।

सीबी लामाले ललितपुर भैंसेपाटी र लामाटार, काभ्रेपलाञ्चोक धुलिखेल र भकुन्डेबेँसी, चितवन मेघौली तथा रुपन्देही बसौली नगरपालिकामा विभिन्न व्यक्तिको नाममा जग्गा किनेका थिए । यो कुनै पनि जग्गा सहकारीको नाममा छैन ।

ललितपुर र काभ्रेपलाञ्चोकमा रहेको जग्गा संस्थाका अध्यक्ष सीबी लामा, बहादुर लामा तथा पुष्पराज कोइरालाको नाममा देखिन्छ । चितवनको जग्गा सफल चितवन प्रालि र बछौलीमा रहेको जग्गा डाइमन्ड इँटा तथा टायल कारखानाको नाममा छ ।

यसबाहेक ललितपुर बुङ्मती र भक्तपुर नलिञ्चोक, बारा निजगढ, चितवन रत्ननगर र गौतमनगर, बुटवल लगायत स्थानमा पनि जग्गा रहेको पशुपतिका अध्यक्ष लामाले अनलाइखबरसँगको कुराकानीमा स्वीकार गरेका थिए ।

उनले पछिल्लो दुई वर्षयता काभ्रे र चितवनको जग्गा सहकारीका बचतकर्तालाई पैसा थप्न लगाएर बेच्दै आएका थिए । सहकारी समस्याग्रस्त घोषणा गर्न सिफारिस भएको र अनुसनधानका लागि प्रहरीलाई पत्राचार भएपछि लामाले बचतकर्तालाई जग्गा दिने भन्दै ५० प्रतिशत कर्जा सुविधा सहित जग्गा बिक्री गर्ने कार्ययोजना अघि सारेका थिए ।

उनले सस्तोमा किनेको जग्गाको चर्को मूल्य राखेर बचतकर्ताले जग्गा लिँदा कम्तीमा २५ प्रतिशत नगद थप गर्दै जग्गा बिक्री गरेका हुन् । गोदावरी नगरपालिका–९ बुङ्मतीको जग्गाका लागि उनले प्रतिआना ३० लाख मूल्य तोकेका थिए ।

र, बचतकर्ताले उक्त जग्गा लिँदा प्रतिआनामा १८ लाख निक्षेपबाट कटाएर बाँकी १२ लाख नगद बmुाएका हुन् । यसैगरी चितवन रत्ननगर–१४ भानुचोकमा १० धुर घडेरीका लागि ४५ लाख मूल्य तोकिएको थियो ।

यो जग्गा किन्ने बचतकर्ताले २३ लाख आफ्नो निक्षेपबाट कटाउन पाउने र २२ लाख नगद थप गर्नुपर्ने उनको सर्त थियो । यसरी राखिएको मूल्यका आधारमा सबै जग्गाबाट मात्र ९ अर्ब रुपैयाँ पु¥याउन खोजेको उनले पशुपति सहकारीले उपलब्ध गराएको विवरणबाट नै देखिन्थ्यो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार पशुपति सहकारीमा १ हजार ४२ जना बचतकर्ताको १ अर्ब ११ करोड ४८ लाखको मागदाबी परेको छ । १ र्ब ७२ करोडभन्दा धेरैको बचत दायित्व रहेको सहकारीमा सीबी लामाले यसरी नै जग्गा बिक्री गरेर १ अर्ब ११ करोडमा उक्त दायित्व झारेका हुन् ।

कान्तिपुर सहकारीमा ६ हजार १ सय ६५ बचतकर्ताको ६ अर्ब ७८ करोड ५१ लाखभन्दा धेरैको मागदाबी परेको समितिले जनाएको छ ।

उक्त सहकारी ३ फागुन २०८० मा समस्याग्रस्त घोषणा भएको थियो । उक्त सहकारी ठगीमा भने सीबीसहित, हिमालयनविक्रम मल्ल ठकुरी, प्रेमध्वज लामा, देवराज पराजुली लगायतले ठगी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?