+
+

लाफ्टर फर लाइफ : फरक प्रारुपमा हँसाउँदै सन्दीप क्षेत्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १९:०६

काठमाडौं । भुक्तभोगीहरु भन्छन्, हाँसो एक उत्तम औषधि हो । न किन्नुपर्ने, न माग्नुपर्ने । सित्तैंमा पाइने । दुःख, पीडा, निरासा, उदासी, छटपटी जस्ता मनोविकारबाट मुक्त रहने माध्यम हो, हाँसो ।

यद्यपि हाँस्नका लागि पनि कुनै न कुनै बहाना त चाहिन्छ । यस्तै बहाना खोज्नेहरुका लागि एउटा गन्तव्य हुनसक्छ, मोक्ष बार । ललितपुरको झम्सिखेलमा अवस्थित मोक्षमा महिनैपिच्छे हास्य मनोरञ्जनको कार्यक्रम हुँदैछ । र, यहाँ एकल प्रस्तुति दिंदैछन् चर्चित कमेडियन सन्दीप क्षेत्री ।

कार्यक्रमको नाम हो, ‘लाफ्टर फर लाइफ विद सन्दीप क्षेत्री’ । उनका अनुसार यो केही फरक प्रारुपको कार्यक्रम हो । ‘अहिले हामीले ६ वटा शोको तयारी गरेका छौं,’ सन्दीप भन्छन्, ‘हरेक शोमा फरक-फरक पेशा–व्यवसायका मान्छेहरुलाई आमन्त्रण गर्नेछौं ।’ जस्तो, एउटा शोमा शिक्षकहरु आमन्त्रित हुनेछन् भने अर्कोमा चिकित्सकहरु । एउटै पेशा व्यवसायमा आवद्ध व्यक्तिलाई एकै ठाउँमा राखेर उनीहरुको जीवन भोगाइसँग सम्बन्धित सामग्री पस्किंदा त्यो बढी प्रभावकारी हुने उनको विश्वास छ ।

‘निश्चित पेशा व्यवसायका दर्शक छन् भने उनीहरुलाई लक्षित गरेर आफ्नो प्रस्तुति दिन पाइन्छ,’ सन्दीप भन्छन्, ‘यसले उनीहरुलाई बढी स्पर्श गर्छ ।’

दर्शकलाई डिजिटल आमन्त्रण गरिने उनी बताउँछन् । कार्यक्रम हेर्नका लागि कुनै शुल्क लाग्ने छैन । यस्तो शैलीको कार्यक्रम गर्नुको ध्येय भनेको ‘गुणको बदला गुण तिरेजस्तै’ भएको सन्दीप बताउँछन् । ‘मलाई आज सन्दीप क्षेत्री बनाउने उनीहरु नै हुन् । त्यसको बदलामा मैले पनि केही त गर्नुपर्छ भनेर यो कार्यक्रमको डिजाइन गरिएको हो,’ उनी भन्छन् ।

झम्सिखेलस्थित मोक्ष बारमा अर्को सप्ताहन्तदेखि मासिक रुपमा यो कार्यक्रम हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?