+
+

जीवनको नयाँ मूल्य

तिमी जत्तिको मान्छेले शोषणमूलक समाजका मूल्यहरूमा नै सत् र असत् खोजेर हुन्न नि ! नयाँ मूल्यको खोज गर्ने हो । सत्य र असत्यका नवीन मान्यताको विकास गर्न सकिन्छ ।

डा. डिजन भट्टराई डा. डिजन भट्टराई
२०८१ असार २३ गते ७:४५
Photo Credit : pexels.com

‘गतिशीलतामा मात्रै सन्तुलन हुन्छ र सन्तुलनले गतिशील बनाउँछ । म पोखरी भएर जमिरहन सक्दिनँ, त्यसैले त नदी भएर हिमालदेखि समुद्रसम्म पुग्ने अभिलाषामा दौडिरहेको छु’, सिगरेटको लामो सर्काे तान्दै उहाँले जवाफ दिनुभयो ।

मैले ‘काका’ भनेर सम्बोधन गर्थें उहाँलाई, तर खासमा उहाँ मेरो क्लासमेट हुनुहुन्थ्यो । कालो ओभरकोट घुँडाभन्दा तल झरेको थियो । टिलिक्क टल्केको तालुका पछाडि गन्न नसकिने गरी सेता कपालहरू घुम्रिएर बसेका थिए । हातको सिगरेट मतर्फ अघि सार्दै भन्नुभयो, ‘यो लेऊ ।’

डा. डिजन भट्टराई

‘धेरै भो सिगरेट खान छोडेको’, असजिलो मान्दै जवाफ दिएँ ।

उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘किन लाज लाग्यो र !’

‘हैन हैन !’, केही लजाउँदै, अलिकति मुस्कुराउँदै भुइँतर्फ हेरेर जवाफ दिएँ ।

‘आदर्शको पनि दास नबन, केही कुराको पनि दास नबन, जीवन दोहोर्‍याएर आउन्न, स्वतन्त्र बाँच । हरेक कुराबाट स्वतन्त्र ! विचारमा पनि स्वतन्त्र ।’

‘काका, तपाइँ यो उमेरमा किन विश्वविद्यालयमा सानो बच्चा जस्तै पढ्न आउनुभएको ? यो उमेरमा एम.एम. पढेर के गर्ने हो र !’

मेरो प्रश्नमा उहाँले बडो अट्टहास हाँसो हाँस्दै, मेरा कुममा धाप मार्दै भन्नुभयो, ‘सुन्दर जीवन बाँच्नलाई ।’

फेरि त्यही कुरा दोहोर्‍याउँदै भन्नुभयो, ‘मलाई पोखरी जस्तो होइन, जीवनलाई नदी जस्तै बनाउनु थियो, गतिशील । किनकि म दिनप्रतिदिन घट्दै गएको जीवनलाई देखिरहेको छु । मलाई लागिरहेको छ, अझै धेरै लामो यात्रा गर्नुछ, त्यसैले हतार छ । यो संयोगले पाएको सुन्दर जीवनका कुनै पल खेर फालिनुहुँदैन, मलाई प्रत्येक पल खुसी हुनु छ, हाँस्नु छ, रमाउनु छ ।

मेरो चेतना दुःखी हुन, पीडा बोक्नका लागि होइन, हरपल हाँस्नका लागि हो, रमाउनका लागि हो, आफैंले आफैंलाई हेरेर दंग हुनका लागि हो । मैले कुनै पनि पललाई अँध्यारो होइन, उज्याला र सुन्दर बाटोमा डोर्‍याउनु छ । त्यसैले म दर्शन, इतिहास, साहित्य पढिरहेको छु, जसले मलाई प्रत्येक पलमा मुस्कुराहट दिइरहेका छन् । जीवनको मूल्यबोध गराइरहेका छन् । मानव हुनुको अस्तित्व दिइरहेका छन् । बाँच्ने कला सिकाइ रहेका छन् ।’

‘काका, हजुरका कुरा बढी आदर्शवादी भएनन् र !’ मैले उनी बोल्दा बोल्दै रोकेर सोधें । सकिन लागेको चुरोटको ठूटोलाई लामो सर्काे ताने अनि आकाशको सूर्यलाई देखाउँदै भने, ‘म चरम आदर्शलाई घृणा गर्छु । आँखाले हेर्दा आँखै बिग्रने गरी चम्कने सूर्य पनि त ठिक होइन ! अनि अर्काे कुरा, म आदर्श हुनकै लागि भनेर जन्मिएको पनि त होइन । कथित आदर्श शोषणमूलक समाजले निर्माण गरेको मानक हो, जसलाई मैले मान्दिनुपर्छ भन्ने केही छैन ।

म त्यो काम गर्छु, जुन मलाई राम्रो लाग्छ । मैले मेरा वरिपरिका मानिसहरूलाई हेरेको छु, सबैलाई तनाव छ, छटपटी छ, बैचैनी छ । यस्तो लाग्छ, उनीहरू यही छटपटी र बेचैनीको बोझले थिचिएर किचिइरहेका छन् । कसैलाई ठूलो मान्छे हुनु छ त कसैलाई धनी, कसैलाई ठूलो पदमा पुग्नु र प्रतिष्ठित हुनु छ । यहाँ कसैलाई माया चाहिएको छ, प्रेम चाहिएको छ । तर कसैलाई जीवन चाहिएको छैन ।’

जो केही जान्दैन, उसलाई सबैको अगाडि विद्वत्ता छाँट्नुपर्छ, जो फटाहा, ठग छ, उसलाई आदर्श र महान् मानिस हो भनेर पत्रिकामा लेखाउनुपर्छ । जो गरिब छ, उसलाई सुनका गरगहना लगाएर सबैलाई देखाउने गरी हिंड्नुपर्छ, जो आफू भित्रैदेखि कमजोर महसुुुस गर्छ, उसलाई साह्रो बोल्न मनपर्छ । किनकि अचेतन मन र चेतन मनबीचको सन्तुलन कायम नगरे मानिस मनोरोगी हुन्छ ।’

म चुपचाप सुनिरहेको देखेर उनले थपे, ‘सबैलाई हतारो छ, चटारो छ, लोभ छ, भोक र शोक छ तर कसैसँग आफ्नो जीवन छैन । उनीहरूलाई देख्दा यस्तो लाग्छ कि, भगवान्ले उनीहरूलाई महान् काम गर्न यस लोकमा पठाएका हुन्, अनि उनीहरू त्यो महान् काम गर्नका लागि छट्पटाइरहेका छन् । फेरि हेर्छु, देख्छु र सुन्छु, त्यो छट्पटी, बेचैनी, पीडामा कहीं पनि आफ्ना स्वार्थभन्दा माथि उठेर अरूको अनुहारमा खुसी दिन खोजिएको हुँदैन । उनीहरूका हरेक बेचैनीमा आफ्नो स्वार्थपूर्ति नभएको, धन-सम्पत्ति कमाउन नसकेको, प्रतिष्ठा प्राप्त नभएको वा यस्तै यस्तै आफ्नै कुराहरू हुन्छन् । कस्तो मृगमरीचिका जस्तो जीवन ! विष पिएर पीडाको छट्पटीमा खै के खोजिरहेका छन्, तर आफ्नै जीवन चाहिं आँसुको भेलमा बगिरहेको छ ।

मानिसका हरेक कर्म जीवन बाँच्ने बहाना हुन् । प्रत्येक कर्मको संघर्षमा जीवन बाँचिरहेको हुन्छ । संघर्षमा जीवन खिइँदै गइरहेको छ, खिइँदा खिइँदै एक दिन यो जीवन अन्त्य हुन्छ । तर मानिस ब्रह्मनालको चिरनिद्रामा पनि सक्ने भए शायद त्यही धन, दौलत, प्रतिष्ठाको सपना देखिरहेको हुन्थ्यो । बाँच्नका लागि आवश्यक साधनलाई साध्य मानी संयोगले एकपटक पाएको चेतनशील मन र जीवनलाई पीडा, आँसु, बेचैनी र छट्पटीमा बिताउनु आफैंमाथिको अपराध हो । मूर्खता हो र अज्ञानताको पराकाष्ठा हो ।’

‘त्यसो भए वास्तविक दुःख के हो त’ ? मैले प्रश्न गरें ।

उहाँले आफ्ना दाह्रीहरू विस्तारै मुसार्नुभयो । आकाशतर्फ एकटकले हेर्दै भन्नुभयो, ‘जीवन धान्ने गरी खान, लाउन नपाउनु, ओत लाग्ने घर नहुनु, बिरामी हुँदा औषधि उपचार नपाउनु नै वास्तविक दुःख हो । बाँकी कुरा चाहिं दुःखका अनुभूति हुन्, दुःख हैन ।’

मलाई उहाँका कुरा चित्त बुझेन, फेरि प्रतिप्रश्न गरें, ‘के त्यसो भए कसैले अपमान गर्‍यो भने दुःख लाग्दैन त ! आत्मस्वाभिमान भन्ने कुरा पनि त होला नि ! खानु–लाउनु मात्रै जीवन हो र ?’

उहाँले मेरो अनुहारमा हेरेर हल्का मुस्कुराउनुभयो । लाग्छ कि, म उहाँको अगाडि सानो बालक हुँ । अनि भन्नुभयो, ‘बुद्धिहीन, मूर्ख, अनपढ र गँवारहरूले हो अरूलाई अपमान गर्ने, अर्काको आत्मस्वाभिमानमा प्रश्न उठाउने ! जो आफैं बुद्धिहीन गँवार छ, उसले कसरी कसैलाई अपमान गर्न सक्छ, जो स्वयंको कुनै मान छैन ।

दुईमा दुई जोड्दा पाँच हुन्छ भन्नेलाई दया गर्न सकिन्छ, घृणा होइन । त्यसैले छुद्र वचन बोल्ने, अरूलाई हेप्ने, अपमान व्यवहार गर्न खोज्नेहरू दयाका पात्र हुन्, रोगी हुन् । उनीहरूलाई उपचारको जरुरत छ । त्यसैले रोगीलाई माफ दिनुपर्छ । कसैले अपमान गर्‍यो भनेर दुःखी भयौ भने त तिमी पनि उनीहरू जस्तै बन्न पुग्छौ । मानव भएर यस पृथ्वीमा जन्मिएका सबै मानिसको मानवीय मूल्य बराबर छ, खाली सामाजिक, आर्थिक, राजनीतिक मूल्य मात्र फरक हो, जुन यो विभेदकारी समाजले बनाइदियो ।’

उहाँको जवाफले म अवाक् भइसकेको थिएँ । म उहाँको अगाडि सानो बालक जस्तो भएर पुनः प्रश्न गरें, ‘काका ! पद, मान, प्रतिष्ठा, इज्जत, सम्पत्ति, सुन्दरताको पनि त केही अस्तित्व होला नि ! किन मानिसहरू यसैको लागि लडाइँ, झगडा र संघर्षमा लागेका छन् । यसको प्राप्तिमा पनि आनन्द त हुन्छ नि !’

उहाँले मायालु भावले मलाई हेर्नुभो अनि सानो बालकलाई सम्झाएको जसरी भन्नुभयो, ‘यी सबै कुराहरू अरूमाथि हैकम जमाउने मानसिकतामा आधारित छन् । मानवीय मूल्यका विपरीत छन् ।

ज्ञान, चेतना र नैतिकता विरोधी छन् । कथित व्यवस्था, संस्कृतिले निर्माण गरेको विष घोलिएको दिमागमा उब्जिएका भाव हुन् । यसले न स्वयं आफूलाई आनन्दसँग बाँच्न दिन्छ, न अरूलाई । यस दृष्टिकोणमा शैतानी आत्माहरू छन् । ती शैतानी आत्माहरूले मनलाई दिग्भ्रमित बनाइदिएको छ, अनि मानिस दिग्भ्रमित भएर सुखको खोजीमा भड्किएर अपराध कर्ममा क्रियाशील छ । यो सबै शोषणमूलक बजार व्यवस्थाले निर्माण गरेको सामाजिक संरचनाको परिणति हो ।

मानिसलाई उत्तेजित बनाउनु, भड्काउनु, आसक्त बनाउनु र आफ्नो व्यापार बढाउने कुत्सित नियतबाट राज्य व्यवस्थासँग मिलेर यो सामाजिक प्रणाली निर्माण गरिएको हो । यो प्रणाली मानवलाई दुःखको सागरमा हाल्न गरिएको व्यापारीको प्रपञ्च हो ।’

सत् कर्म गर्ने मानिसलाई पीडा, छट्पटी र बेचैनी हुँदैन । आफ्ना कर्महरूमा कहीं न कहीं खोट भएपछि हुने हो पश्चात्ताप, बेचैनी र दुःख । त्यसकारण खराब कर्म नै दुःखको मूल कारण हो

मैले केही आशा, केही उत्साह र केही जिज्ञासामा पुनः प्रश्न गरें, ‘सम्पत्ति, पद, प्रतिष्ठाले आनन्द त दिन्छ नि हैन र ?’

उहाँ शान्त तर गम्भीर भएर भन्न लाग्नुभयो, ‘तिमीले जुन सम्पत्ति, पद, प्रतिष्ठालाई आनन्दको बाटो भनिरहेका छौ, त्यो तिम्रो भ्रम हो । पद, पैसा र प्रतिष्ठा पानीको फोका हो, देखिन्छ र पट्ट फुट्छ । तिमी त्यसका लागि यस धर्तीमा आएको होइनौ । तिमी सुन्दर जीवन बाँच्नका लागि आएका हौ । तिमी मानवीय कर्म गर्न आएका हौ, र त्यो कर्म स्वतन्त्र भएर गर, आनन्द लिएर गर र खुसी भएर गर । त्यही कर्मले तिमीलाई सम्पत्ति, पद, प्रतिष्ठा सबै प्रदान गर्छ ।’

म तुरुन्तै बोलें, ‘आफूले सोचे जस्तो कहाँ हुन्छ र जीवन ! आफूले भनेको काम कहाँ गर्न पाइन्छ र ! कति बाधा–व्यवधान आउँछन् । असफलता, ठक्कर, हण्डर … !’ उहाँले मेरो कुरालाई पूरा हुन नदिई रातो अनुहार बनाएर दाह्रा नै किटुला झैं गरी बोल्न थाल्नुभयो, ‘कसैले तिमीले गर्ने कर्ममा बाधा दिन प्रयास गर्‍यो भने संयमित होऊ र पुनः प्रयास गर । बारम्बार बाधा उत्पन्न गरिरहन्छ भने त्यसको निर्ममतापूर्वक प्रतिवाद गर कि त्यसको ज्यान लिएर जेलमा बस्दा पनि आनन्द आइरहोस् ।’

उहाँको भाव देखेर म केही डराएँ र विषयलाई तत्कालै मोड्न पुनः प्रश्न गरें, ‘त्यसो भए आफ्नो कर्म चाहिं के गरेर थाहा पाउने हो’ ? उहाँले सहज ढंगले उत्तर दिनुभयो, ‘जे गर्दा तिमीलाई आनन्द आउँछ, त्यही तिम्रो कर्म हो । त्यो कर्ममा यसरी क्रियाशील होऊ कि त्यही नै तिम्रो जीवन हो । ताकि त्यो कर्ममा र आफ्नो क्रियाशीलतामा कैयौं दिन खान नपाउँदा पनि भोकको अनुभूति नहोस् ।’

मेरो प्रतिप्रश्न, ‘यो त अति आदर्शवादी कुरा भएर र ? यो वास्तविक दुनियाँमा सम्भव छ त ?’

उहाँ शान्त भइसक्नुभएको थियो । मुस्कुराउँदै जवाफ दिनुभयो, ‘यही भन्छौ र त तिमी दुःखमा छौ । आफ्नो बाटो स्वतन्त्रपूर्वक चयन गर्न नसक्ने तिमी कसैको दास छौ र त दुःखमा छौ । दास भएर बाँच्नु भन्दा विद्रोही भएर मर्नु हजारौं गुणा सुन्दर कुरा हो । तिमी तत्कालै यो संसारलाई बदल्न सक्दैनौ, त्यो तिम्रो वशमा पनि छैन, तर आफू त बदलिन सक्छौ नि पापीहरूको संसारभन्दा भिन्न भएर ।

त्यसैले आफ्नो जीवनको सुन्दरतालाई बुझ, यो संसारको मूल्यलाई बुझ, मानव भएर जन्मिएको संयोगलाई बुझ । यहाँ मानिसहरू पोखरीमा जमेका छन्, काँतर छन्, डरपोक छन्, लोभी छन् तर आदर्शका कुरा गर्छन् अनि खुसी खोज्छन् । तर मरुभूमिमा मृगले पानी नपाएर छट्पटाएर मरे जस्तै यिनीहरू यति सुन्दर जीवनलाई नबुझेर छट्पटाई छट्पटाई मर्छन् । यहाँ जो धेरै पापी छ, त्यो धेरै मन्दिर जान्छ, पूजा गर्छ, किनकि उसको अचेतन मनले पाप कर्मको सन्तुलन खोजिरहेको हुन्छ र त्यही सन्तुलनका लागि ऊ मन्दिर जान्छ, पूजापाठ गर्छ ।

तिम्रो यो जीवनबचाइमा कसैले अवरोध गर्‍यो भने निर्ममतापूर्वक प्रतिरोध गर । यही नै जीवन हो, बाँच्नुको सार हो ।’

जो केही जान्दैन, उसलाई सबैको अगाडि विद्वत्ता छाँट्नुपर्छ, जो फटाहा, ठग छ, उसलाई आदर्श र महान् मानिस हो भनेर पत्रिकामा लेखाउनुपर्छ । जो गरिब छ, उसलाई सुनका गरगहना लगाएर सबैलाई देखाउने गरी हिंड्नुपर्छ, जो आफू भित्रैदेखि कमजोर महसुुुस गर्छ, उसलाई साह्रो बोल्न मनपर्छ । किनकि अचेतन मन र चेतन मनबीचको सन्तुलन कायम नगरे मानिस मनोरोगी हुन्छ ।’

काका रोकिएनन्, ‘त्यसैले मानिसहरू सुन्दर जीवन छोडेर कुरुप जीवनको यात्रामा हिंडिरहेका छन् । आफू मान पाउन योग्य छैनन्, त्यसैले अरूलाई अपमान गर्छन्, आफैंले आफ्नो सम्मान गर्न जान्दैनन्, त्यसैले अर्काको आत्मसम्मानमा प्रश्न गर्छन् । अनि कसरी तिमी यी मानिसलाई आदर्श मानेर हिंड्न सक्छौं ! महल, गाडी, श्रीसम्पत्तिको उपयोग गर्ने हो, आनन्द लिने हो तर त्यही प्राप्त गर्नका लागि भएको आनन्द र खुसीलाई लिलाम गर्ने त होइन नि ! मनको खुसी र शान्ति भनेको धन र सम्पत्तिमा पनि होला, तर त्यो प्राप्ति गर्ने अभिलाषा र छट्पटीमा भने पक्कै पनि छैन । कर्म गर्दै गर्दा प्राप्त गरेको सम्पत्तिको अत्युत्तम ढंगले उपयोग गर्नु नै जीवनको सुन्दर पक्ष हो ।’

मलाई उहाँको अगाडि गर्ने धेरै प्रश्नहरू त थिएनन् तर सोध्न मन लाग्यो, ‘त्यसो भए मानव जीवनका लागि कति सम्पत्ति आवश्यक हुन्छ त काका’ ? उहाँले स्पष्ट शब्दमा भन्नुभयो, ‘आफूले सत्कर्म गरेर जति प्राप्त हुन्छ, त्यसको अधिकतम उपयोग गर्‍यो भने त्यो पर्याप्त हुन्छ ।

धन सम्पत्तिको मूल्य थाहा नपाउने, पैसाको फजुल खर्च गर्ने, अनावश्यक आवश्यकता सिर्जना गर्ने, प्रत्येक रुपैयाँमा रगत र पसिना बगेको छ भन्ने बोध नगर्ने, अर्काको अगाडि फूर्ति देखाएर हिंड्ने, अरू हात्ती चढ्यो भने आफू धुरी चढ्ने मनोवृत्ति भएकालाई हो जति नै भए पनि नपुग्ने । त्यसैले आवश्यकताको प्राथमिकता गर्न जान्नुपर्छ, त्यही नै सुख प्राप्तिको आधार हो । माटोमा सुख छ । जसले आफ्नो माटो, धरातल र उभिएको जमिन भुल्छ, ऊ पीडा, दुःख र छट्पटीमा बाँच्नुपर्ने कुरामा कुनै शंकै छैन ।’

मेरा प्रश्न विस्तारै निख्रँदै थिए । बाँकी रहेको प्रश्न पनि सोधिहालें, ‘राम्रो नराम्रो, असल, खराब त यही शोषणमूलक समाजले बनाएको मूल्य त हो नि, अनि केलाई असल वा खराब भन्ने र ? यो निरपेक्ष विषय हो र ? सत् र असत् कर्म भनेर समाजले निर्माण गरेको मूल्य होइन र’ ? शायद अलि कडै प्रश्न थियो, मेरो उहाँमाथि ।

उहाँले आफ्नै शैलीमा जवाफ दिनुभयो, ‘समाजले सत् भनेको कुरा राम्रो र असत् भनेको कुरा नराम्रो हो भन्ने होइन । राम्रो वा नराम्रो त आफ्नै अन्तस्करणले जवाफ दिन्छ । हृदयका भावलाई सुन्ने हो, आफूले आफैंलाई कहिल्यै ढाँट्न सक्दैन । सत् कर्म गर्ने मानिसलाई पीडा, छट्पटी र बेचैनी हुँदैन । आफ्ना कर्महरूमा कहीं न कहीं खोट भएपछि हुने हो पश्चात्ताप, बेचैनी र दुःख । त्यसकारण खराब कर्म नै दुःखको मूल कारण हो । अमृतको रूखमा अमृत नै फल्छ भने विषवृक्षमा विष नै फल्छ । खराब कर्म गरेर सुन्दर जीवनको अपेक्षा गर्नु मूर्खता हो ।’

प्रश्न कहाँ सकिने रहेछन् र ! नयाँ जन्मिए र मैले तत्कालै प्रतिप्रश्न गरें, ‘मन-मस्तिष्कमा समाजका मूल्यहरू बोकेको मानिसले समाजले गाएको भन्दा फरक गीत गाउन सक्ला र ? समाजले संस्कृतिका नाममा हामीलाई अमृत भन्दा बढी विष दिएको जस्तो लाग्छ । अनि विषले भरिपूर्ण सामाजिक संरचनाले परम्पराको मूल्यको सापेक्षतामा नै सत् र असत् छुट्याउने होला नि त ?’

उहाँले सरल उत्तर दिनुभयो, ‘त्यो सही हो । तर तिमी जत्तिको मान्छेले शोषणमूलक समाजका मूल्यहरूमा नै सत् र असत् खोजेर हुन्न नि ! नयाँ मूल्यको खोज गर्ने हो । सत्य र असत्यका नवीन मान्यताको विकास गर्न सकिन्छ । त्यसैले त उन्मुक्त हौ, दासताका बन्धनहरू चुँडाल अनि खुला आकाशमा जीवन हाँसेर बाँच भनेको । तिम्रो यो जीवनबचाइमा कसैले अवरोध गर्‍यो भने निर्ममतापूर्वक प्रतिरोध गर । यही नै जीवन हो, बाँच्नुको सार हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?