+
+

सुदूरपश्चिमका ५ जिल्लामा सडक अवरुद्ध, जोखिममा रहेका बस्ती सारियो

जनक विष्ट जनक विष्ट
२०८१ असार २३ गते ७:४६
फाइल तस्वीर

२३ असार, धनगढी । लगातारको वर्षापछि खसेको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् । यी जिल्लामा ग्रामीण सडकहरू पनि पूर्ण रुपमा बन्द भएका छन् ।

दार्चुलाको मालिकार्जुन नगरपालिका-२ को पनेबाज, बैतडीको सुर्नया गाउँपालिका-६ तर्फको ढोल्यामोड, बझाङको तमैल र अछामको साफे-मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका-१३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध राजमार्गलाई खुलाउने प्रयास भइरहेको सम्बन्धी जिल्ला प्रहरी कार्यालयले जनाएका छन् ।

डडेल्धुराको रडुवामा पहिरो खसेको छ तर पहिरो ठूलो नभएका कारण एकतर्फी सडक सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि बुडर-जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ ।

यस्तै, वर्षाका कारण पहिरोको जोखिममा परेका २८ भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

दार्चुलाको मार्मा गाउँपालिका-२ का १० परिवार पहिरोको जोखिममा परेका कारण उनीहरुलाई स्थानीय सामुदायिक विद्यालयमा सारिएको छ ।

अछामको चौरपाटी गाउँपालिका-६ का ९ परिवार र मंगलसेन नगरपालिका-८ का ९ परिवारलाई पनि सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, बझाङमा सेती नदीको बाढीको जोखिममा परेका ६ परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत थापाले थलारा गाउँपालिकाको झ्याँबगर भन्ने ठाउँमा गोठ बनाएर बसेका दुई र केदारस्युँ गाउँपालिकाको रायलका चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको बताए ।

निरन्तर वर्षा भइरहेका कारण पहिरोका साथै तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम भएकाले सचेत रहन स्थानीय प्रशासनले आग्रह समेत गरेको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?