+
+

कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : सांसद दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १३:०९

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नआउने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको बताए ।

संवैधानिक प्रावधान अनुसार एक महिना नकुरेर त्यसअगावै हुने गरी यही असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको उल्लेख गर्दै उनले प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार नै अगाडि बढ्ने बताए ।

‘प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नुहुन्छ । कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईंहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन । २८ गते विश्वासको मत लिने प्रक्रियासम्म पर्खिन यहाँहरूलाई आग्रह गर्छु,’ सांसद दाहालले भने ।

साथै प्रधानमन्त्रीलाई नैतिकताको पाठ नसिकाउन पनि उनको आग्रह छ । सांसद दाहालले अगाडि भने, ‘कोही अनैतिक र भ्रष्टले नैतिकताको पाठ सिकाइरहन पर्दैन ।’

नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका छन् । दुई ठूला दल मिलेर सरकार बनाउने सहमति भएसँगै दुवै दलको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय लिएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन सुझाएका छन् । प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने सांसदहरूलाई माओवादी सांसद दाहालले यही असार २८ गतेसम्म पर्खिन भनेका हुन् ।

असार २८ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?