+
+

बाढी–पहिरो : राष्ट्रिय राजमार्गका दुई दर्जन ठाउँमा यातायात प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १५:१३
कर्णाली राजमार्ग अन्तर्गत गगनेखोलामा आएको पहिरो हटाइँदै । रासस

२३ असार, काठमाडौं । अविरल वर्षा र त्यसपछि उत्पन्न बाढी–पहिरोले देशभरि दुई दर्जन स्थानमा राष्ट्रिय राजमार्ग अवरुद्ध रहेको छ ।

सडक विभागका अनुसार यस वर्ष २०४ सडक खण्डमा कुनै न कुनै प्रकारको अवरोध उत्पन्न भएको थियो । पछिल्लो अपडेट अनुसार २३ राजमार्गमा अहिले पनि अवरोध जारी छ ।

विभागका अनुसार १०३ राजमार्गको यातायात सेवा एकतर्फी सूचारु छ । पछिल्लो २४ घण्टामा देशैभरि राजमार्ग अवरुद्ध हुने क्रम अधिक रहेको समेत विभागले जनाएको छ ।

विभागका अनुसार आइतबार कर्णाली राजमार्ग (जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा) अन्तर्गत दैलेखको सियाला भन्ने स्थानमा राजमार्ग अवरुद्ध छ । यस स्थानमा पहिरो सफा गर्न लोडर परिचालन गरिएको विभागले जनाएको छ । यही राजमार्ग अन्तर्गत दैलेखको दरबारे भिरमा एकतर्फी मात्र सडक सूचारु छ ।

सुर्खेत–दैलेख–नाग्मा–गमगढी–नाक्चेलाग्रा सडक खण्ड अन्तर्गत दैलेखको तालपोखरीमा समेत सडक अवरुद्ध रहेको छ । कणाली राजमार्ग अन्तर्गत कालिकोटको स्मोड नजिक पनि राजमार्ग अवरुद्ध रहेको विभागले जनाएको छ ।  पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन–पोखरा खण्डमा धादिङतर्फ ज्वाङ खोलामा एकतर्फी यातायात सुचारु छ । पुष्पलाल राजमार्गको डोटी जिल्लाको रामपुरमा समेत राजमार्ग अवरुद्ध रहेको छ । तौलिहवा–गोरुसिंगे–सन्धिखर्क सडक खण्ड अन्तर्गत अर्घाखाँचीमा समेत एकतर्फी यातायात सुचारु गरिएको छ ।

पुष्पलाल राजमार्गको डडेलधुरास्थित रादुवामा समेत एकतर्फी मात्र यातायात चलिरहेको विभागको अपडेटमा उल्लेख छ ।

कालिकोटको टाकुल्ला भन्ने स्थानमा समेत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । सोही राजमार्ग अन्तर्गत डडेलधुराको अनार्खोलीमा सडक अवरुद्ध भएको छ । डोटीको रामपुरमा समेत सडक अवरुद्ध रहेको विभागको भनाइ छ ।

राप्ती राजमार्ग (अमेलिया–तुल्सिपुर–शितलपाटी–थारमारे–मुसिकोट) अन्तर्गत सल्यानमा अवरुद्ध भएको छ । साँफेबगर–मार्तडी–कोल्टी सडक अन्तर्गत बाजुराको बुढाबगरमा राजमार्ग एकतर्फी सूचारु भएको विभागले उल्लेख गरेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको कालिमाटीमा अहिले एकतर्फी यातायात सुचारु रहेको छ । सोही राजमार्गको स्याङ्जाको चिउरी भन्ने स्थानमा अवरुद्ध राजमार्ग एकफर्ती सुचारु भएको विभागको विवरणमा उल्लेख छ ।

तानसेन–रिडी कोरला राजमार्ग अन्तर्गत म्याग्दीमा अवरुद्ध भएको सडक एकतर्फी सुचारु भएको छ । सोही सडक खण्डको रुप्सेमा समेत सडक एकतर्फी भएको छ । सो सडक खण्डको मार्फा खोलामा अझै सडक अवरुद्ध रहेको छ । सो सडक खण्डको गुइठे भन्ने स्थानमा समेत सडक एकतर्फी अवरुद्ध बनेको विभागले जनाएको छ । यस सडक अन्तर्गत बागलुङको दब्याङ भिरमा भने सडक अवरुद्ध छ ।

शनिबार आएको बाढीका कारण धनकुटाको ओख्रे भन्ने स्थानमा भएका सडक अवरोध अझै सुचारु नभएको विभागले जनाएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत खोटाङको चिसापानीमा एकतर्फी सडक सूचारु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत पाल्पाको पिपलडाँडामा शनिबार अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । मध्यपहाडी राजमार्गको बागलुङस्थित काउछे मनेवामा सडक अवरुद्ध छ ।

मध्यपहाडीकै सिन्धुलीस्थित कुदुलेमा सडक अवरुद्ध रहेको विभागको विवरणमा उल्लेख छ । कान्तीराजमार्ग अन्तर्गत ललितपुरको कार्कीबासमा समेत सडक अवरुद्ध भएको देखिएको छ ।

नेपाल प्रहरीले आइतबार ११ बजेसम्मको विवरण समेटेर सार्वजनिक गरेको विवरणमा समेत देशभर दुई दर्जन स्थानमा सडक अवरुद्ध भएको देखिन्छ । प्रहरीका अनुसार उपत्यकामा ललितपुरको कार्कीबासमा मात्र यातायात अवरुद्ध छ । कोशी प्रदेशको संखुवासभाको मकालु गाउँपालिका, सुनसरीको भोटखोला गाउँपालिका र बहारक्षेत्र नगरपालिकामा यातायात अवरुद्ध भएको छ ।

बागमती प्रदेशमा रसुवाको आमाछोदिङ्गो गाँउपालिकामा सडक अवरुद्ध छ । गण्डकी प्रदेशमा बढी सडक अवरुद्ध भएको प्रहरीको विवरणमा देखिन्छ । नेपाल प्रहरीका अनुसार मनाङ, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी र बागलुङमा सडकहरु प्रभावित बनेका छन् । लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान, गुल्मी, अर्घाखाँचीमा बढी यातायात प्रभावित बनेको छ । कर्णालीको कालिकोटमा सडकहरु अवरुद्ध छन् । सुदूरपश्चिममा अछाम, बैतडी, डडेलधुरामा सडक अवरुद्ध भएको प्रहरीको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?