+

राष्ट्रिय टिमको ब्याकअप तयार पार्न यु-१८ युथ लिग

२०८१ असार  २३ गते १७:२६ २०८१ असार २३ गते १७:२६
राष्ट्रिय टिमको ब्याकअप तयार पार्न यु-१८ युथ लिग

२३ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३० असारदेखि यू-१८ युथ लिग सञ्चालन गर्दैछ ।

लिगमा शहीद स्मारक ए डिभिजन लिग खेल्ने १४ मध्ये १२ क्लबको युवा टोली सहभागी हुनेछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिगको खेलतालिका छिट्टै सार्वजनिक गर्ने एन्फाले जनाएको छ ।

लिगमा एपीएफ, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्यूरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । ए डिभिजनमा रहेका हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबले सहभागिता नजनाउने भएका छन् ।

‘१४ वटै क्लबलाई सहभागी गराउने हाम्रो लक्ष्य हो । तर १२ क्लबले नाम दर्ता गरिसकेका छन् । बाँकी दुई क्लबलाई खेल्न प्रस्ताव गरेका छौँ र छलफल गरिरहेका छन् । उहाँहरुले पनि नाम दर्ता गर्नुहुन्छ भन्ने आशा छ’, एन्फाका प्रवक्ता सुरेश शाहले भने ।

एन्फाले यसअघि एन्फाका पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा ललित स्मृति यू-१८ नकआउट फुटबल प्रतियोगिता गर्दै आएको थियो । तर पछिल्ला केही वर्षदेखि उक्त प्रतियोगिता सञ्चालन गरेको छैन ।

राष्ट्रिय टिमको ब्याकअप

नेपालमा उमेर समूहमा फुटबल प्रतियोगिता धेरै हुँदैन । फुटबल सिकाउन एकेडेमीहरु पनि सञ्चालन भएको छैन । एन्फाले विगतमा सञ्चालन गर्दै आएको एकेडेमी फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

अहिले राष्ट्रिय टिम निर्माण गर्नका लागि खेलाडीहरु खोजेर ल्याउनुपर्ने अवस्था छ । यस्तै उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडी छनोटका लागि देशभरबाट युवा खेलाडीहरुको खुला छनोट गर्ने गरिएको छ ।

यु-१८ फुटबल टिम ।

यू-१८ युथ लिगबाट राष्ट्रिय टिमको ब्याकअप र उमेर समूहको टिम निर्माणका लागि सहयोग पुग्ने एन्फाको विश्वास छ । ‘नेपालमा युथ टुर्नामेन्टहरु भइरहेको छ । जसले गर्दा उमेर समूहको लिगलाई पनि स्थापित गर्ने लक्ष्यसहित यू-१८ लिग सुरु गर्न लागेका छौँ’, प्रवक्ता शाहले भने, ‘यसबाट उमेर समूहको टिम निर्माण गर्न सजिलो हुन्छ र राष्ट्रिय टिमको लागि पनि ब्याकअपको रुपमा रहनेछ ।’

ए डिभिजन क्लबहरुका लागि पनि युथ टिम बनाएपछि सिनियर टिमका लागि सहयोग हुनेछ । ‘अहिले फिफाको क्लब लाइसेन्स प्रोसेसका लागि पनि यूथ लिगहरु अनिवार्य भएकाले हामीले यो कार्यक्रम अगाडि बढाएका हौँ । उमेर समूहको स्ट्रक्चर नभएकाले अहिले ए डिभिजन क्लबकै युथ टिम बनाएर खेलाउन लागेका हौँ’, एन्फाका प्रवक्ता शाहले भने

क्लबहरुले युथ टिम बनाएमा राम्रा प्रतिभावान खेलाडीहरु क्लबकै सिनियर टिममा पनि जान सक्ने र उमेर समूह तथा सिनियर राष्ट्रिय टिम बनाउन सजिलो हुने उनको भनाइ छ ।

डबल राउण्ड रोबिनमा खेलाइने

पहिलो पटक आयोजना हुन लागेको एन्फा यू-१८ लिग डबल राउण्ड रोविन प्रणालीमा हुनेछ । यसको अर्थ सहभागी १२ वटै टोलीले प्रत्येक टोलीसँग २-२ खेल खेल्नेछन् ।

एक टोलीले कूल २२ खेल खेल्नेछ । लिगमा कूल १३२ खेल हुनेछ । यू-१८ लिगलाई ६ महिनासम्म सञ्चालन गर्ने एन्फाको तयारी छ ।

कति छ बजेट?

यू-१८ युथ लिग सञ्चालनका लागि विश्व फुटबल महासंघ (फिफा) ले ५० हजार अमेरिकी डलर दिनेछ भने थप बजेट एन्फाले आफैं खर्च गर्नुपर्छ ।

एन्फाले लिगमा सहभागी क्लबहरुलाई तयारीस्वरुप ३ लाख ५० हजार रुपैयाँ दिनेछ । १२ क्लबका लागि ४२ लाख रुपैयाँ दिनेछ ।

लिगको पुरस्कार कति हुने भन्ने एन्फाले टुंगो लगाइसकेको छैन ।

फुटबल यु-१८ युथ लिग
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय