+
+

के-पप वर्ल्ड फेस्टिभलका लागि काठमाडौंमा क्षेत्रीय अडिसन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १७:३८

काठमाडौं । नेपालमा के–पपको क्रेज कति छ भन्ने जान्न वर्षेनी आयोजना हुने ओकातु जात्रादेखि हलमा रिलिज हुने कोरियाली फिल्मलाई हेरे मात्र पुग्छ ।

दक्षिण कोरियाली पप-संस्कृतिप्रति नेपाली तन्नेरीको रुचिलाई ध्यानमा राख्दै काठमाडौंस्थित दक्षिण कोरियाली दूतावासले शनिबार के–पप वर्ल्ड फेस्टिभल नेपाल २०२४ को आयोजना गर्‍यो ।

सयौं नेपाली तन्नेरीले दिएको डिजिनल अडिसनबाट छनोट भएकाले डान्स ग्रुप, डान्स सोलो र भोकल क्याटगोरीमा प्रतिस्पर्धा गरेका थिए । डान्स ग्रुप विधामा औरेलिया, हार्ट्स टु बिट, टीम वू, ह्वाइट र अनमियोंगले प्रतिस्पर्धा गरे ।

डान्स सोलो क्याटेगोरीमा नवीना घलान, प्रजिता गुरुङ, सम्राट सुनुवार र श्रीनगर श्रेष्ठले प्रतिस्पर्धा गरे । भोकल विधामा अन्जली नेपाली, लाक्पा डोमा शेर्पा, रवि राई र सञ्जीवनी राजभण्डारीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिस्पर्धाको विजेताले दक्षिण कोरियामा आयोजना हुने के–पप विश्व महोत्सवमा भाग लिने र के–पप ब्याण्डसँग भेट गर्ने मौका पाउने काठमाडौंस्थित दक्षिण कोरियाली दूतावासले जनाएको छ ।

यसअघि प्रारम्भिक प्रतिस्पर्धा अनलाइनमार्फत गरिएको थियो । इच्छुकले युट्युबमा भिडियो पोस्ट गरेर प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । १६ वर्षमाथिका नेपाली नागरिकका लागि प्रतिस्पर्धा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सहभागी हुन नेपाली तन्नेरीले हप्तौंदेखि के–पपको गीत र नृत्यमा तयारी गरिरहेका थिए ।

के–पप वर्ल्ड फेस्टिभलको आयोजना पहिलोपटक सन् २०१४ मा दक्षिण कोरियाको चांगवन सहरमा भएको थियो । आगामी अक्टोबरमा सोही ठाउँमा फेस्टिभलको आयोजना हुनेछ ।

यो फेस्टिभलका लागि विश्वभरका कोरियाली दूतावासले क्षेत्रीय अडिसनको आयोजना गरिरहेका छन् । काठमाडौंस्थित कोरियाली दूतावासले यसअघि सन् २०१६, २०१८, २०१९ र २०२३ मा पनि अडिसन आयोजना गरेको थियो ।

यसपटक ३० समूहले सहभागिता जनाएको र १२ टिम छनोट भएको जनाइएको छ । उक्त फिनालेमा दक्षिण कोरियाली राजदूत पार्क ताइयोङले कार्यक्रमलाई अविस्मरणीय बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?