+
+

आरोहणमा थप ५७ हिमाल खुला गरिँदै

सरकारले पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका विभिन्न चुचुरो आरोहणका लागि खुला गर्न लागेको हो ।

अच्युत पुरी अच्युत पुरी
२०८१ असार २३ गते १८:००

२३ असार, काठमाडौं । सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गर्ने भएको छ ।

पर्यटन विभागले विभागीय मन्त्रालयमा ५७ नयाँ हिमाल आरोहण खोल्ने गरी सिफारिस गर्न लागेको जानकारी दिएको छ । यसरी सिफारिस गर्न लागिएका हिमालमा ५ हजार मिटरबाट माथि ६ हजार ५ सय मिटरसम्म उचाइका छन् । विभागको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने छ । त्यहाँबाट स्वीकृत भएपछि हिमालहरू आरोहणका लागि खुला हुनेछ ।

पर्यटन विभागले पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका विभिन्न चुचुरो आरोहणका लागि खुला गर्न लागिएको जनाएको छ ।

आरोहणयोग्य हिमाल क्रमशः खुला गर्दै जाने सरकारको नीति बमोजिम नयाँ हिमाल आरोहण खुला गर्न लागिएको हो । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आरोहणयोग्य हिमाल क्रमशः खुला गरिने उल्लेख छ ।

बजेटको बुँदा नम्बर ७० मा यो नीति समेटिएको छ । सरकारले आरोहणलाई सगरमाथामा मात्र प्राथमिकता दिने गरेको र अन्य हिमाल प्रवद्र्धनमा ध्यान दिन नसकेको गुनासोबीच थप ५७ हिमाल आरोहण खुला गर्न लागिएको हो ।

पर्यटन विभाग निर्देशक राकेश गुरुङका अनुसार नेपाल पर्वतारोहण संघ (एनएमए) सँगको सहकार्यमा थप हिमाल खुला गर्ने गरी सूची छनोट गरिएको हो ।

‘हिमाल प्रवर्द्धनमा निजी क्षेत्रको अनुभव छ, त्यसकारण एनएमएसँगको सहकार्यमा खुला गर्ने हिमाल छनोट गरिएको हो,’ गुरुङले अनलाइनखबरसँग भने ।

यसमा पहिलो आधार २०८०/८१ को नीति तथा कार्यक्रम र सरकारको ‘माइलस्टोन’ मा उल्लेख भएको कार्यक्रम पूरा गर्ने दायित्वलाई लिइएको उनले बताए ।

दाबी विरोध आह्वान

विभागले यी हिमाल आरोहणका लागि खुला गर्न लागिएको भन्दै धार्मिक, सांस्कृतिक र भौगोलिक प्रतिकूलताका कारण खुला गर्ने वा नगर्ने सम्बन्धमा कुनै दाबी विरोध भए उपलब्ध गराउन सरोकारवालासँग आह्वान गरेको छ ।

विभागले आफ्नो ईमेलमा एक साताभित्र आएका दाबी विरोधको सुनुवाइ गरिने र त्यस अवधिभित्र दाबी विरोध नआए कुनै कारबाही नहुने समेत बताएको छ ।

निर्देशक गुरुङका अनुसार यस्तो दाबी विरोध गर्न सम्बन्धित स्थानीय तहमा समेत पत्राचार गरिएको छ । ‘कुनै धर्म, जाति विशेषले कुनै हिमाललाई भगवानका रूपमा पनि पूजा गर्नुहुन्छ,’ उनले भने, ‘त्यसकारण हामीले स्थानीय तहमार्फत दाबी विरोध आह्वान गरेका हौं ।’

अहिलेसम्म ४१९ चुचुरो आरोहणमा खुला

सरकारले अहिलेसम्म ४ सय १९ हिमाल चुचुरो आरोहणका लागि खुला गरेको छ । जसमा सर्वोच्च शिखर सगरमाथा सहित ८ हजार मिटर उचाइका सबै हिमाल पर्छन् ।

आरोहणमा खुला गरिएका हिमालमध्ये पाँच यसै आर्थिक वर्षबाट खुला गरिएका हुन् । यसरी खुला गरिएका हिमालमा जुगल हिमाल शृङ्खलाका पाँच चुचुरो छन् । जुन सिन्धुपाल्चोक जिल्लामा छन् ।

खुला भए पनि ६८ हिमालमा अहिलेसम्म छैन आरोहण

सरकारले ४ सय १९ हिमाल आरोहणमा खुला गरे पनि आरोहण भने केही सीमित हिमालमा मात्र केन्द्रित छ । पर्यटन विभागका अनुसार अहिले पनि आरोहण खुला भएका ६८ हिमाल चुचुरोमा मानव पाइला पुगेको छैन ।

अर्कातर्फ, भौगोलिक रूपमा आरोहण असम्भव हुने तथा धार्मिक आस्था जोडिएका हिमाललाई सरकारले बेलाबेला बन्द गर्ने समेत गरेको छ । अहिलेसम्म आरोहण खुला भएकामध्ये १८ हिमाल पुनः बन्द गरिएको विभागले जनाएको छ ।

हेर्नुहोस् सूची :

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?